पुराखबर / क्यानबेरा – हालै सम्पन्न क्यानबेरा भ्रमणको क्रममा नेपाली समुदायका सक्रिय प्रतिनिधि तथा NRNA अष्ट्रेलिया अध्यक्ष पदका उम्मेदवार सञ्जीव ढकाल गोर्खालीले अष्ट्रेलियाका लागि नेपाली राजदूत श्रीमती चित्रालेखा यादवसँग सौहार्दपूर्ण तथा फलदायी भेटवार्ता गर्नुभएको छ।
उहाँको चुनावी एजेन्डामा समावेश राहदानी नवीकरणसँग सम्बन्धित समस्याहरूको विषयमा सञ्जीवले महामहिम राजदूतसँग विशेष छलफल गर्नुभएको थियो। विशेष गरी, अन्तरराज्यीय राहदानी नवीकरण कार्यक्रमलाई अझ प्रभावकारी, दिगो र सुलभ बनाउने विषयमा गहन संवाद भएको थियो।
भेटपछिको सकारात्मक परिणामस्वरूप डार्विन शहरमा सन् २०२६ को जनवरी वा फेब्रुअरी महिनामा राहदानी नवीकरण सत्र आयोजना हुने सुनिश्चित भएको छ। कार्यक्रमको ठ्याक्कै मिति छिट्टै सार्वजनिक गरिनेछ।
यसबाहेक, राजदूतावासबाट समय तालिका प्राप्त गरेपछि, सञ्जीव गोर्खालीले “घुम्ती शिविर” कार्यक्रमको वार्षिक क्यालेन्डर बनाउने योजना पनि अघि सारेका छन्ज। जसले अष्ट्रेलियाका विभिन्न राज्यहरूमा नेपाली नागरिकलाई सजिलै राहदानी सेवा उपलब्ध गराउनेछ।
महामहिम राजदूत चित्रालेखा यादवज्यूले पनि यस भेटलाई फलदायी रहेको बताउँदै, यो पहल नेपाली समुदायको हितमा केन्द्रित रहेको र निकट भविष्यमा अझ प्रभावकारी ढंगले कार्यान्वयन हुने विश्वास व्यक्त गर्नुभयो।
सञ्जीव गोर्खालीले राजदूतज्यूप्रति आभार प्रकट गर्दै नेपाली समुदायको सेवामा सधैं अग्रसर रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
“सधैंझैं म समुदायको पक्षमा उभिएको छु , सँगै मिलेर दीर्घकालीन सकारात्मक परिवर्तन ल्याउने हाम्रो अभियान जारी रहनेछ,” उहाँले भन्नुभयो।
यो पहल नेपाली समुदायको हितमा गरिएको महत्वपूर्ण कदम मानिएको छ, जसले अष्ट्रेलियाभर फैलिएको नेपाली समुदायलाई प्रत्यक्ष रूपमा लाभ पुर्याउनेछ।









