मंगलबार , बैसाख २९, २०८३

नेकपा एमाले महाधिवेशन आयोजक कमिटीको आकस्मिक बैठकमा अध्यक्ष केपी शर्मा ओलीले कोरोना महामारीविरुद्ध एकढिक्का भएर लड्न निर्देशन दिएका छन् । प्रधानमन्त्री समेत रहेका ओलीले कोरोना रोकथाम गर्न सरकारले गरिरहेको प्रयासबारे ब्रिफिङ गर्दै पार्टीपंक्ति परिचालित हुन निर्देशन दिए ।

उनले कोरोना महामारी रोकथाम बाहेक स्पष्टीकरण सोधिएकालाई कारबाही प्रक्रिया र अहिले विकसित राजनीतिक घटनाक्रमबारे पनि जानकारी दिएका थिए । अविश्वासको प्रस्ताव ल्याउने कोशिश भइरहेको भन्दै उनले भने, ‘प्रतिपक्षले ल्याउने कुरा त धेरै ठूलो भएन, तर कर्णालीको जस्तै विभिन्न ठाउँमा फ्लोर क्रस गराउन पनि प्रयासहरु हुँदै गरेका छन्, तिनीहरुको बारेमा हामीले आवश्यक जानकारीहरु लिइरहेका छौं, आवश्यक निर्णयहरु उपयुक्त समयमा गरिनेछ ।’

केन्द्रीय सदस्य एवम् कार्यालय सचिव शेरबहादुर तामाङ आजको बैठकपछि भने स्थायी कमिटीबाट हुने उक्त निर्णयले केन्द्रीय कमिटी बैठककै मान्यता पाउने बताए । ‘स्पष्टीकरणबारे स्थायी कमिटीबाट हुने निर्णय केन्द्रीय कमिटीकै हुने भनेर हस्ताक्षर गरिएको छ’, उनले भने ।

पार्टीमा समानान्तर गतिविधि गरेको र पार्टी निर्देशन अवज्ञा गरेको भन्दै ६ वैशाखको महाधिवेशन आयोजक कमिटी बैठकबाट माधव नेपाल सहित २७ सांसदलाई स्पष्टीकरण सोधिएको थियो । त्यसमध्ये एक जना बाहेक सबैले स्पष्टीकरण बुझाइसकेका छन् ।

रोकिए ओली, कोरोनाबारे निर्देशन

दुई दिन अगाडि मात्रै सकिएको बैठक फेरि बस्ने भन्दै शनिवार साँझ केन्द्रीय सदस्यहरुलाई सूचना दिइएको थियो । स्रोतका अनुसार, आकस्मिक बैठक बोलाउनुको कारण स्पष्टीकरण सोधिएकाहरुलाई कारबाही गर्नु नै थियो ।

दश जनालाई तत्काल कारबाही गर्ने तयारी अनुरुप अध्यक्ष ओलीले बैठक बोलाएका थिए । तर, महाधिवेशन आयोजक कमिटी बैठक बस्नुअघि शुक्रबार मात्रै बनेको स्थायी कमिटी बैठक बस्यो ।

स्थायी कमिटी बैठक ढिलोसम्म चलेपछि दश बजे भनेर बोलाइएको महाधिवेशन आयोजक कमिटीको बैठक भने मध्यान्ह पछि मात्रै बस्यो । तर, धेरैबेर चलेन । ‘कोरोनाबारे छलफल गर्न बैठक बोलाइएको थियो । सीसीएमसीले दिएको जानकारी अनुसार, पार्टीमा छलफल गर्नुपर्ने थियो’, प्रधानमन्त्री ओली निकट नेता निरु पालले भनिन् । तर, बालुवाटार बैठकमा उनले भनेजस्तो कोरोनाबारे पनि धेरै छलफल भएन ।

बरू, आइतबार दिउँसो तीन बजे बस्ने सीसीएमसीको बैठकले ठोस निर्णय गर्ने र त्यसैअनुसार, चल्न निर्देशन दिइएको छ । कारबाही प्रयोजनकै निम्ति बोलाइएको आकस्मिक बैठकमा अध्यक्ष ओलीले कोरोनातिर कुरा मोड्नुमा भने स्थायी कमिटी बैठकको निर्णयले काम गरेको एक नेताले बताए ।

ती नेताका अनुसार, कारबाही गर्ने कदमबाट ओली रोकिनुमा स्थायी कमिटीमा उनी अल्पमतमा पर्नु थियो । स्थायी कमिटीमा अध्यक्ष ओलीलाई उपप्रधानमन्त्री ईश्वर पोखरेलबाहेक कसैले पनि साथ दिएनन् । तत्काल कारबाहीको निर्णय हतारो हुने भएकाले यसतर्फ जान उचित नहुनेमा विष्णुप्रसाद पौडेल, सुवास नेम्वाङलगायत बाँकी नेताको एकमत थियो । स्रोत भन्छ, ‘आजै कारबाही गरेर अगाडि बढ्नुपर्छ भन्नेमा अध्यक्षलाई ईश्वर पोखरेलबाहेक कसैले साथ दिएनन् । त्यसपछि अध्यक्ष ओली पछि हट्नुभयो ।’

उनीहरुले अध्यक्ष ओलीलाई कर्णाली प्रदेशको घटना सम्झाएका थिए । ‘फ्लोर क्रस गर्छन् भने पनि त्यसपछि कारबाही गरौं । हतारमा निर्णय गर्दा उनीहरुले बोल्ने ठाउँ पाउँछन् । हामी फ्लोर क्रस गर्ने थिएनौं, कारबाही गरियो भन्छन्’ भन्नेमा नेताहरु एकमत भए । स्थायी कमिटीको पहिलो पटक बसेको बैठकमा नेताहरुले ‘फ्लोर क्रस हुन्छ र सरकार जसरी पनि ढल्छ’ भन्ने निष्कर्ष हो भने पनि कारबाहीको हतारो गर्न नहुनेमा जोड दिएका थिए ।

‘अहिलेको संसद समीकरणमा फ्लोर क्रस भए पनि र कारबाही गर्दा पनि सरकार ढल्छ भने कारबाहीको हतारो नगरौं भन्ने हो’, एक नेता भन्छन् । यसपछि भने अध्यक्ष ओली आजै कारबाहीको निर्णयबाट पछि हटेर कोरोना रोकथाम गर्न भइरहेको प्रयासबारे ब्रिफिङ गर्नतिर लागे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP