मंगलबार , बैसाख २९, २०८३

बुधबार बिहान गायिका एलिना चौहानले फेसबुकमा एक भिडिओ अपलोड गरिन्। जसमा उनले आफ्नै गीत ‘बालै फरर’ को सानो क्लिपमा अभिनय गरेकी थिइन्। भिडिओमा उनीसँगै गायिका समीक्षा अधिकारीलाई पनि देख्न सकिन्छ। रातो सारी लगाएका दुवै भिडिओमा विन्दास देखिन्छन्।

त्यो भिडिओ सार्वजनिक भएसँगै एलिना र समीक्षालाई अभद्र कमेन्ट आउन थाल्यो। जुन कमेन्टहरू निकै तुच्छ र असभ्य छन्। व्यक्तिगत जीवनका कुरालाई लिएर लगातार कमेन्ट आएपछि एलिना चुप लागेर बसिनन्। बरु तुच्छ कमेन्ट गर्ने प्रयोगकर्तालाई नै सार्वजनिक गर्न थालिन्।

सुरुमा एक प्रयोगकर्ताको फेसबुक प्रोफाइलसहित कमेन्ट सार्वजनिक गर्दै एलिनाले लेखिन्,‘कमेन्टको अत्याचार धेरै भयो अब पालैपालो पोस्ट गर्छु। भाइरल हुन मन लाग्नेहरू आइज है।’

उनले अर्को भिडिओ पोस्ट गर्दै सामाजिक सञ्जालमा आएका नकारात्मक कमेन्ट सहेर नबस्ने बताइन्। साथै यस्ता कमेन्ट गर्नेविरुद्ध कानुनी कारबाहीमा जाने उनको भनाइ छ।

‘जति नबोल्यो, जति चुप लाग्यो, जति सह्यो, त्यति हेपाइ खाइँदोरहेछ। अस्ति प्रिज्मा, ऋचा दिदी र समीक्षाले कमेन्ट बाहिर निकालेको देखेर ए ल ठिक छ। अब शान्त हुन्छ होला भनेर छोडिरहेको थिएँ। सुरुमा कमेन्ट आउँदा तात्तातो छ, आफ्नो धारणा राखेको होला सोच्थेँ,’ उनले भनेकी छिन्, ‘तर, तिमीहरू जहिले त्यही कुराले घोचेको घोच्यै गर्ने? त्यही कुरा गर्ने? तिमीहरूको के खाइदिएको छु। अब चाहिँ म सबैजनालाई केस गर्नेवाला छु। निरन्तर कमेन्ट गर्नेहरू टिपिसकेको छु। सहन नसकेर यस्तो गरेको होइन। किन सहनु भनेर यस्तो गरेको हुँ।’

साथै एलिनाले कलाकार राष्ट्रको गहना भएकाले सबै सहनुपर्छ भन्नेलाई समेत झटारो हानेकी छिन्। यसबारेमा उनी भन्छिन्, ‘सेलिब्रेटी राष्ट्रको गहना भएर सहनुपर्छ। कसले भन्यो सहनुपर्छ भनेर, सहनुपर्दैन। कसैले पनि सहने होइन। जिन्दगीमा मैले यति कुरा बुझेको छु कि अरुलाई पनि नराम्रो गर्दिनँ। आफूलाई पनि नराम्रो गर्न दिन्नँ।’

त्यसपछि एलिनाले पालैपालो तुच्छ कमेन्ट गर्ने प्रयोगकर्ताको तस्बिरसहित कमेन्ट सार्वजनिक गरिरहेकी छिन्। उनले प्रयोगकर्ताले म्यासेन्जरमा भ्वाइस रेकर्ड गरेर माफी मागेको भिडिओ समेत सार्वजनिक गरेकी छिन्।

हुन त यो किसिमको आक्रमण नयाँ होइन। यस्ता तुच्छ आक्रमणको सिकार धेरैजसो महिला कलाकार बनिसकेका छन्। विशेषगरी, व्यक्तिगत जीवन र चरित्रलाई लिएर उनीहरू निसानामा परिरहेका छन्।

गायिका समीक्षा अधिकारीलाई पनि व्यक्तिगत घटनाका कारण धेरैजसो गालीगलौज आइरहेको हुन्छ। केही दिनअघि समीक्षाले पनि आफूलाई फोहोर कमेन्ट गर्ने व्यक्तिको फेसबुक आईडी सार्वजनिक गरेकी थिइन्। पछि ती प्रयोगकर्ताले समीक्षालाई म्यासेज गर्दै माफी नै मागे। ती प्रयोगकर्तालाई माफ दिएको समीक्षाले सामाजिक सञ्जालमा उल्लेख गरेकी छिन्। बुधबार फेरि समीक्षाले आफूलाई अभद्र कमेन्ट गर्ने अन्य केही प्रयोगकर्ताको फेसबुक आईडी सार्वजनिक गरेकी छिन्।

गत वैशाखमा अभिनेत्री सुरक्षा पन्तले पनि सामाजिक सञ्जालमा निकै गाली खानुपर्‍यो। पूर्वयुवराज पारस शाहका छोरा हृदयेन्द्रबारेको अभिव्यक्तिपछि उनको सामाजिक सञ्जालभरि असभ्य गालीगलौज भयो। साथै कतिपयले उनको फिल्म ‘खेल’ बहिष्कारको अभियान समेत चलाए।

त्यसैबीच, सुरक्षाको पक्षमा अभिनेत्री ऋचा शर्मा बोलिन्। त्यसपछि त ऋचालाई पनि अभद्र गाली आउन थाल्यो। ऋचाले पनि आफूलाई आएको अभद्र गालीसहितको स्क्रिनसट आफ्नो फेसबुक पेजमा सार्वजनिक गरेकी थिइन्।

पछिल्लो नेपाली महिला कलाकारहरूमा प्रतिकार गर्ने नयाँ शैली देखिएको छ। व्यक्तिगत जीवनसँग जोडिएर आउने ती कमेन्ट र म्यासेजले व्यावसायिक जीवन र मानसिक स्वास्थ्यमा असर पार्न थालेपछि उनीहरूले सामाजिक सञ्जालबाटै बोल्न थालेका छन्।

अभिनेत्री ऋचा शर्मा प्रतिकार गर्ने यो शैलीलाई एकदम सकारात्मक रूपमा हेर्छिन्। कलाकार भन्दैमा सबै कुरा सहन नहुने बताउँदै उनले यो ट्रेन्डिङको रूपमा चल्नुपर्ने बताइन्।

‘उहाँहरूले गर्नुभएको एकदम राम्रो हो। यो त भाइरल ट्रेन्ड नै हुनुपर्छ। हामीजस्तो पपुलर र आवाज भएकोलाई त यस्तो छ भने अहिलेका टिनएजर भाइबहिनीहरूलाई कस्तो होला,’ उनले भनिन्, ‘हामीले डराउनुहुँदैन। फेक आईडी भए पनि अहिले साइबरले खोजिहाल्छ। यसलाई हामीले मुभमेन्टकै रूपमा लिनुपर्छ। यो सबक सिकाउने समय हो।’

त्यो बेला आफूले यो कदम उठाएको सम्झिँदै उनले स्क्रिनसट राख्दा ती व्यक्तिहरूले माफी मागेको सुनाइन्।

‘मैले स्क्रिनसट सार्वजनिक गरेको थिएँ। त्यसो गर्दा उहाँहरूले माफी नै माग्नुभएको थियो। उहाँको बुवाआमाले नै मेरो सन्तानबाट आवेगमा भयो भन्नुभएको थियो। त्यसपछि खासै त्यस्तो कमेन्ट र म्यासेज आएन। त्यसैले हामीले बोल्न डराउनुहुन्न,’ उनी भन्छिन्।

अधिवक्ता शशि बस्नेत यस प्रतिकार गर्ने नयाँ शैलीलाई उदाहरणीय भन्छिन्। तर, फेसबुक आईडी सार्वजनिक गरेर यो समस्या समाधान नहुने बताउँदै यस्तोमा कानुनी कारवाही गर्नैपर्ने उनको तर्क छ।

‘उहाँहरूले आफ्नो किसिमले प्रतिकार त गर्नुभएको छ, त्यो सराहनीय छ। यो समाजमा जुन किसिको आँट गर्नुभएको छ, त्यो एकदम राम्रो हो। तर, अझ उहाँहरू जत्तिको मान्छेले कानुनी कारबाहीमा जाँदा थप राम्रो हुन्थ्यो भन्ने लाग्छ। जे कुराको पनि कानुनी उपचार खोज्दा राम्रो हुन्छ,’ उनले नेपालखबरसँग भनिन्, ‘हाम्रो देशमा सामान्य मान्छेहरूले सिधै न्याय माग्न सक्ने अवस्था छैन। तर, उहाँहरूजस्तो उदाहरणीय व्यक्तिहरूले यस्ता विषयमा सार्वजनिक गर्नेभन्दा पनि कानुनी एक्सन दिनुभयो भने अझ राम्रो हुन्थ्यो। जसले गर्दा समाजमा उदाहरण पनि हुन्छ।’

बस्नेतका अनुसार यस्ता घटनामा दुइटा कानुनमा टेकेर उजुरी हाल्न सकिन्छ।

पहिलो, गाली बेइज्जती सम्बन्धी कसुर। यसभित्र कसैले कसैलाई गाली र बेइज्जती गर्न नहुने कुरा उल्लेख छ। जसअनुसार विद्युतीय वा अन्य आमसञ्चारका माध्यमबाट बेइज्जती गरे वा गराएमा एक वर्षसम्म कैद र दस हजार जरिवाना हुनसक्छ।

त्यस्तै, अर्को विद्युतीय कारोबार ऐन। यस्तो कुराहरू विद्युतीय कारोबार ऐनको दफा ४७ अनुसार महिलामाथिको दुर्व्यवहार कानुनअन्तर्गत जान सकिने अधिवक्ता बस्नेत बताउँछिन्। यसमा पीडितले मुद्दा हालेको खण्डमा पाँच वर्षसम्मको कैद सजाय, एक लाखसम्मको जरिवाना र क्षतिपूर्ति हुनसक्छ। जसको लागि पीडितले प्रहरीमा जाहेरी दिनुपर्छ।

यसरी फेसबुक आईडी सार्वजनिक गर्दा व्यक्तिसँग सम्बन्धित परिवारको पनि गोपनीयता भंग हुने सुनाउँछिन् बस्नेत।

‘उहाँहरूमाथि पनि अर्को व्यक्तिले मेरो गोपनीयता भंग भयो भनेर दाबीहरू गर्ने अवस्था आउनसक्छ,’ उनले भनिन्, ‘व्यक्तिगत रूपमा सार्वजनिक गर्दा उहाँहरूको परिवारको पनि विषय होला। उहाँहरूको अन्य सदस्यको गोपनीयताको कुरा होला। त्यसले अर्को कानुनी झमेला ल्याउनसक्छ। कसैमाथि अन्याय र अत्याचार हुन्छ भने त्यसको विरुद्धमा आवाज उठाउनैपर्छ। तर, सही ठाउँमा उठाउँदा समाजका लागि उदाहरण बन्छ।’

उनका अनुसार संविधानले वाक् तथा अभिव्यक्ति स्वतन्त्रताको ग्यारेन्टी गरेको छ। जसले गर्दा जनतालाई जे पनि बोल्न पाइन्छ भन्ने लाग्छ। तर, त्यसभित्र पनि सीमितता छन्। जुन बुझाउनलाई पनि समाजले आइडल मानेका व्यक्तिहरूले कानुनी कारबाही खोज्न आवश्यक रहेको उनको तर्क छ।

‘उहाँहरूले लिगल एक्सन खोज्दा अपराधी मानसिकता भएका व्यक्तिहरू पनि सचेत हुन्छन्। ओहो! मैले यत्रो पैसा तिर्नुपर्‍यो। दुई दिन भए पनि कैद बस्नुपर्‍यो भनेदेखि एउटा राम्रो नजिर बस्छ। समाजमा अर्को किसिमको मुभमेन्ट सुरु हुन्छ। सर्वसाधारणहरूमा पनि बोल्नुपर्छ र लिगल एक्सन लिनुपर्छ भनेर। न्यायप्रति पनि विश्वास बढ्छ,’ उनले भनिन्, ‘सानोसानो कुराले समाज परिवर्तनको लागि ठूलो भूमिका खेल्छ। गालीबेइज्जती मुद्दामा उहाँहरूले माफी माग्नु पाउनुहुन्छ। मिलापत्र हुन्छ। त्यो गर्दा व्यक्तिलाई पनि एउटा कुरामा झन्झटिलो प्रक्रिया देखेर ऊ पनि सचेत हुन्छ। उसलाई देखेर अरु पनि सचेत हुन्छन्। कोर्टमै जानुपर्छ।’

फेक अकाउन्टको मामिलामा गाह्रो भए पनि सबैलाई एकैचोटि प्रतिवादी बनाएर मुद्दा लड्न सकिने प्रावधान रहेको उनी सुनाउँछिन्।
@nepalkhabar

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP