शनिबार , भाद्र १३, २०८३

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले केपी शर्मा ओली नेतृत्वको सरकार विस्थापनका लागि आन्तरिक तयारी तीव्र बनाएको छ । बुधबारको पदाधिकारी तथा पूर्वपदाधिकारी सम्मिलित बैठकबाट नयाँ सरकार गठनका लागि परिस्थिति अनुकुल बन्दै गएको निष्कर्ष निकालेको काँग्रेसले आफ्ना सांसदलाई ‘स्ट्यान्डबाई’ बस्न भनेको छ । विशेष गरी काठमाडौं उपत्यका बाहिर भएका सांसदलाई ‘स्ट्यान्डबाई’ बस्न भनिएको हो ।

बर्दियामा रहेका सांसद किशोर सिंह राठोरले काठमाडौंमा रहेका सांसदले सोही अनुसारको सूचना पठाएको बताए । पार्टीको १४ औं महाधिवेशनको तयारी र संसद अधिवेशन अन्त्यपछि काँग्रेसका केही सांसद गृहजिल्ला पुगेका छन् । माओवादीले विश्वासको मत फिर्ता र अविश्वासको प्रस्ताव दर्ताको जिम्मा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएपछि काँग्रेसले आफ्ना सांसद तयारी अवस्थामा रहन निर्देशन दिएको हो । अब काँग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच निर्णायक छलफल गरेर अविश्वास प्रस्ताव अघि बढाउने तयारी भइरहेको बुझिएको छ ।

ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउने तयारीमा जुटेको काँग्रेसले प्रतिनिधिसभाको अंकगणितको लेखाजोखा गरिरहेको छ । काँग्रेस संसदीय दलका सचेतक पुष्पा भुसालका अनुसार काँग्रेस सांसदले संसद बैठकमा सहभागी हुनुअघि नियमित हस्ताक्षर गरेका हुन्छन् । बैशाख २ गतेको प्रतिनिधिसभा बैठकमा उपस्थिति सबैको हस्ताक्षर कायम छ ।

अर्कोतिर काँग्रेसका दोस्रा तहका नेताहरु माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) नेपालको उपेन्द्र यादव– बाबुराम भट्टराई पक्षसँग निरन्तर संवादमा छन् । बिहीबार जसपाका महन्थ ठाकुर–राजेन्द्र महतो पक्षका सांसदहरुको छलफलमा पनि काँग्रेस नेता र यादव–भट्टराईबीचको उठ–बसबारे चर्चा भएको थियो । काँग्रेस अविश्वासको प्रस्ताव दर्ता गर्न अग्रसर देखिएपछि ठाकुर–महतो पक्षले यसलाई गम्भीरताका साथ हेरेको छ ।

माओवादी केन्द्रसहित एमालेको खनाल–नेपाल पक्ष र जसपाको यादव–भट्टराईको सहयोग रहनेमा काँग्रेस विश्वस्त देखिएको छ । सोही अनुसार हस्ताक्षर जुटाउन काँग्रेस लागिपरेको स्रोतको दाबी छ ।

ओली इतर गठबन्धनको सरकार बनाउन काँग्रेसका ६३ (दुई जना निलम्बित), माओवादीका ४९ (चार पद मुक्त) र जसपाका ३४ (दुई निलम्बित) सांसदको मत चाहिन्छ । जसपाको ठाकुर–महतो पक्ष ओलीको विकल्पमा उत्रिन तयार देखिएको छैन ।

ठाकुर–महतो पक्षको रिक्तता खनाल–नेपाल पक्षबाट पुरा गर्ने काँग्रेसको रणनीति छ । सोही अनुसार काँग्रेसले खनाल–नेपाल पक्षसँग छलफल अगाडि बढाएको छ ।

चैत २९ गते काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले नेता माधवकुमार नेपालबीच गोप्य भेटवार्ता भएको थियो । त्यसयता माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेता नेपालबीच निरन्तर छलफल जारी छ ।

उनीहरुको छलफलमा पनि नयाँ सरकार निर्माणको विषयले स्थान पाउने गरेको छ । नेपालले नयाँ सरकार निर्माणमा सहयोग गर्ने बचन दिएको काँग्रेस नेताहरुको दाबी छ । विहीबार जनकपुरमा पनि नेता नेपालसँग काँग्रेसका केही नेताले छलफल गरेको पाइएको छ ।

उनीहरुसँगको संवादमा नेता नेपालले केपी ओलीसँगको सहकार्यको विषय टाढिँदै गएको बताएका थिए । नेता नेपालको भनाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘उहाँ (केपी ओली) सँग सहकार्यको सम्भावना टाढिदै गएको छ । म नयाँ ढङ्गले सोच्ने ठाउँमा पुगेको छ ।’ नेता नेपालले नयाँ बाटोबारे धेरै नखुलाएको स्रोतले बतायो ।

बुधबार र बिहीबार ओलीसँगको छलफलबारे काँग्रेस नेताहरुको जिज्ञासामा नेपालले सहकार्यको ढोका बन्द हुँदै गएको बताएका थिए । उनले आफू निकट मानिएका २० भन्दा बढी सांसदले आफूलाई साथ दिने संकेत गरेको स्रोतको दाबी छ । नेपालको उक्त अभिव्यक्तिले काँग्रेसजनमा उत्साह सञ्चार भएको बुझ्न गाह्रो छैन । किनभने ओलीले नेपाल पक्षका सांसदमाथि कारबाही गरे आफै थप असुरक्षित हुने खतरा छ ।

काँग्रेसका एक सांसदले भने, ‘यतिबेला केपी ओलीजी न खाउँ त दिनभरिको शिकार, खाउँ त कान्छा बाउको अनुहारको अवस्थामा पुग्नुभएको छ ।’ यसले काँग्रेसलाई भने सरकार बनाउन सहजता प्रदान गरेको उनको भनाइ छ । त्यसैले पनि नेताहरु सक्रिय देखिएको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP