काठमाडौं। नेकपा एमाले अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसहित ३२ जना सांसदलाई स्पष्टीकरण सोधेका छन्। प्रतिनिधि सभाका २७ र ५ जना कर्णाली प्रदेशका सांसदलाई स्पष्टीकरण सोधेको हो। पत्रमा एमालेको नाम र चिन्ह दुरुपयोग गरेको भन्दै कारबाही किन नगर्ने भनेर प्रश्न गरिएको छ।
एमाले पार्टीकाे नाम र सुर्य निर्वाचन चिन्ह दुरुपयोग गरी राजनैतिक विचारधारा, दर्शन र कार्यक्रमभन्दा भिन्न गतिविधि संचालन गरेको दाबी पत्रमा छ। ‘एमालेको केन्द्रीय कमिटीको दशौं, एघारौं र बाह्रौ बैठकहरूको निर्देशनको अवज्ञा गरी, बैठकका निर्णयबारेमा विभिन्न भ्रम सृजना गरी पार्टीको विधान र निर्देशनविपरीत नयाँ राजनैतिक दलको स्वरुपमा भेलाहरू आयोजना गर्न अग्रसरता लिई पार्टी र पार्टीको एकता विरोधी प्रस्तावमा संलग्न हुनुको कारण के हो ?,’ पत्रमा सोधिएको छ।
पार्टीविपरीत हुने गरी र लोकप्रिय सरकारविरूद्ध गतिविधि गरेकोले जुनसुकै बेला थप कारवाही गर्न सकिने चेतावनी पनि दिइएको छ। स्पष्टीकरण पत्रमा भनिएको छ, ‘तपाईंलाई सच्चिनका लागि यो अन्तिम मौका हो। आफ्ना विचार र क्रियाक्लापहरु सच्याइ नयाँ राजनीतिक दलका रुपमा तपाईं संलग्न भएको गतिविधिमा नलागी एमाले दलको पक्षमा आउने प्रतिबद्धता सहितको समप्रमाण जवाफ प्राप्त भएमा पार्टीले विचार गर्ने नै छ।’
पार्टीको हितविपरीत वैधानिक व्यवस्था र कार्यक्रमको विपक्षमा सार्वजनिक क्रियाकलाप गरेको, पार्टीको विधान निर्णयविपरीत गुटबन्दी तथा षडयन्त्र गरेकोआरोप लगाइएको छ। पत्र पार्टी नेतृत्वको सरकारविरुद्धमा विभिन्न अवाञ्छित क्रियाकलाप निरन्तर गरिरहेको घोषित रूपमा नया राजनैतिक दलको स्वरुपमा गतिविधि गरी पार्टीको निर्णय, यस्तै गतिविधिहरू कायम रहेमा तपाईंलाई जुनसुकै बेला पनि थप कडा कारबाही गर्नु पर्ने अवस्था आउन सक्नेतर्फ समेत सचेत गराइएको छ।
यस्तो छ सांसदलाई पठाइएको पत्र
तपाई…..ले नेपाल कम्युनिष्ट पार्टी एमाले, संघीय संसदीय दलको विद्यान २०७७ विपरित पार्टी नेतृत्वको सरकारविरुद्ध देहाय बमोजिमका क्रियाकलापहरूमा नेतृत्व, अगुवाइ, समर्थन, सहयोग तथा परिचालन समेत के कति कारणले गर्नु भएको हो ?
१. नेपालको संविधानको धारा ८९(ङ) जुनदलको उमेदवार भई सदस्य निर्वाचित भएको हो त्यो दलले संघीय कानुन वमोजिम निजले दल त्याग गरेको सुचित गरेमा संघीय संसदको सदस्य पद रिक्त हुने भन्ने व्यवस्था भएको, संघीय कानुनको रुपमा रहेको राजनैतिक दल सम्वन्धी ऐनको दफा ३१ले त्यसरी दल त्याग गरेमा स्वत दल त्यागेको मानिने व्यवस्था गरेको र दफा ३२ (१)(ग) ले निज आफैंले वा निज समेत संलग्न भई नया दल गठन गरेमा दल त्यागेको मानिनेछ भन्ने व्यवस्था गरेको कुरा तपाईलाई अवगत नै छ । यस संविधान र कानूनी व्यवस्था विपरित तपाईले नेपालको संविधानको धारा २६९ र राजनैतिक दल सम्वन्धि ऐन २०७३ को दफा ३ वमोजिम तपाई समेत संलग्न भई नेकपा (एमाले) नाम र सुर्य निर्वाचन चिन्ह दुरुपयोग यस गौरवशाली पार्टिले अवलम्वन गरी आएको राजनैतिक विचारधारा, दर्शन र कार्यक्रम भन्दा भिन्न गतिविधि संचालन गरी नया राजनैतिक दल गठन गरेको, सो राजनैतिक दलको छुट्टै भेला मिती २०७७ चैत्र ४ र ५ गते गर्नु भएको, केन्द्रीय कमिटीदेखि माताहत प्रदेश/जिल्ला/अन्य कमिटि तथा जनसंगठनहरु निर्माण गर्नु भएको र आफ्नो पार्टि अध्यक्षको नेतृत्वमा रहेको लोकप्रिय सरकार तथा राजनैतिक दलको अध्यक्ष र महासचिवद्धारा मिति २०७७ चैत्र ३ गते निर्देशनको अबज्ञा के कति कारणबाट गर्नुभएको हो ?
२. सम्मानीत सर्वोच्च अदालतको मिति २०७७ फागुन २३ गतेको फैसला पछि नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय कमिटीको दशौ, एघारौ र बाह्रौ बैठकहरुको निर्देशनको अवज्ञा गरि, उपरोक्त बैठकका निर्णयहरुको बारेमा विभिन्न भ्रम सृजना गरि पार्टीको विधान र निर्देशन विपरित नया राजनैतिक दलको स्वरुपमा भेलाहरु आयोजना गर्न अग्रसरता लिई पार्टी र पार्टीको एकता विरोधी प्रस्तावमा संलग्न हुनु भएको कारण के हो ?
३. तपाईले पार्टीको हित विपरित पार्टीको बैधानिक व्यवस्था र कार्यक्रमको विपक्षमा सार्वजनिक क्रियाकलाप गरेको, पार्टीको विधान निर्णय विपरित गुटबन्दी तथा षडयन्त्र गरेको, पार्टीको निर्णय बारम्बार उल्लघन गरेको, पार्टी प्रतिको निष्ठा र् विश्वास नरहने गरी भ्रम फैलाई स्वयं पार्टी प्रतिको निष्ठा र विश्वासबाट च्युत भएको, पार्टीको प्रतिष्ठा र मर्यादामा आँच आउने गरि निरन्तर बिभिन्न क्रियाकलापहरु संचालन गरे / गराएको, गोपनियता भंग गरे / गराएको, नया राजनैतिक दलको स्वरुपमा पार्टी विरोधीहरुसंग साँठगाँठ गरे/ गराएको, पार्टीले पठाएको जिम्मेवारीमा रहँदा निर्णय र निर्देशन विपरित विभिन्न कार्यहरु निरन्तर गरिरहेको/गराईरहेको र यस्ता अवाञ्छित क्रियाकलापहरूमा पार्टीका जिम्मेवार व्यक्तिहरुलाई सम्मिलित गराएको / उक्साएको, अवाञ्छित तत्वसँग साँठगाँठ गरी राष्ट्रहीत विपरित काम गरे / गराएको, पार्टीको विधानमा सदस्य पालना गर्नुपर्ने भनि उल्लेखित कर्तव्यको उल्लघन गरे / गराएको समेत प्रष्ट देखिएकोले यस्तो क्रियाकलाप निरन्तर गरी/ गराई पार्टीको हित विपरित, पार्टी एकता, अक्ुण्णता र अग्रगामी कार्यको विरुद्ध पार्टीको लोकप्रिय सरकारले राष्ट्रहीत तथा जनहीतका लागि गरिरहेका र गर्नुपर्ने कार्यलाई विभाजनको दिशामा लान यस्ता विभिन्न अनुचित क्रियाकलापहरु गरे/ गराएको देखिएकोले त्यस्ता विभिन्न क्रियाकलापहरु के-कति कारणले निरन्तर गर्नु / गराउनु भएको हो ?
४. यसरी पार्टी तथा आफ्नो सरकारका विरुद्धमा बिभिन्न अवाञ्छित क्रियाकलाप निरन्तर गरिरहेको घोषित रूपमा नया राजनैतिक दलको स्वरुपमा गतिविधि गरी पार्टीको निर्णय, नीति, नेतृत्वविरुद्ध शत्रुवत दुस्प्रचार र भ्रम फिजाउने कार्य किन गर्नु भएको हो ?
अतः नेपाल कम्युनिष्ट पार्टी (एमाले)को दशौ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको पहिलो बैठकले गरेको निर्णय अनुसार तपाईलाई उपरोक्त आधार कारणहरु
समेतबाट तपाईले नेपाल कम्युनिष्ट पार्टी (एमाले) को विधान २०४९ (संशोधन २०७१ समेत) को धारा ४९ (क) (१) (२) (३) (४) (५) (६) (७) (१२) (१४) मा
उल्लिखित व्यवस्थाहरु विपरित अनुशासन उलंघन गर्नुभएको प्रष्ट देखिएकोले तपाईलाई ऐ विधानको धारा ४९ (ख) (ग) धारा ५० बमोजिम किन कार्वाही नगर्ने ? साथै राजनैतिक दल सम्वन्धी ऐन २०७३ को दफा १(ग) बमोजिम तपाईले छुट्टै राजनैतिक दल गठन गरेको मा किन कारवाही नगर्ने ? र तपाईलाई संघीय संसदको सदस्य पदबाट किन नहटाउने ? आधार कारण सहित तीन दिन भित्र स्पष्टिकरण पेश गर्नुहुन निर्देशन गर्दछु।
यस्तै गतिविधिहरु कायम रहेमा तपाईलाई जुनसुकै बेला पनि थप कडा कारबाही गर्नु पर्ने अवस्था आउन सक्ने तर्फ सचेत गराउदै, यस्ता पार्टी बिरोधी गतिविधि बन्द गर्न र सहि बाटोमा फर्किने मौका दिन यो स्पष्टीकरण पत्र लेखिएको छ। तपाईलाई सच्चिनको लागि यो अन्तिम मौका हो। आफ्ना विचार र क्रियाकलापहरु
सच्याई नया राजनैतिक दलको रुपमा तपाई संलग्न भएको गतिविधिमा नलागी नेकपा (एमाले) दलको पक्षमा आउने प्रतिवद्धता सहितको सप्रमाण जवाफ प्राप्त भएमा पार्टीले बिचार गर्ने नै छ। यस सच्चिन दिईएको मौकालाई पार्टीको कमजोरी ठानी पार्टी विरोधी गतिविधिहरु कायमै राखेमा कुनै बखत कारवाही गर्न सकिने “समेत जानकारी गराईन्छ।
केपीशर्मा ओली
अध्यक्ष
नेकपा एमाले तथा संसदीय दलको नेता