मंगलबार , बैसाख २९, २०८३

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को प्रथम राष्ट्रिय महाधिवेशनमा संयोजक डा. बाबुराम भट्टराईले राजनीतिक तथा संगठनात्मक प्रतिवेदन प्रस्तुत गरेका छन् ।

पूर्वप्रधानमन्त्री भट्टराईले नेपालमा वैकल्पिक राजनीतिक शक्तिको औचित्य पुष्टि गर्नेगरी ३२ पृष्ठको प्रतिवेदन तयार पारेका हुन् ।

विश्व अर्थ–राजनीति र मानव विकास चरणबारे लामो व्याख्या गरेका भट्टराईले ‘नयाँ युगको नयाँ कार्यभार’ पूरा गर्न वैकल्पिक राजनीतिक शक्ति निर्माणलाई आवश्यकता र निष्कर्ष मानेका छन् ।

प्रतिवेदनमा भट्टराईले विद्यमान राजनीतिक शक्तिहरूले देशलाई दीगो र अग्रगामी विकल्प दिन नसक्ने निष्कर्ष प्रस्तुत गरेका छन् । त्यसका निम्ति एजेन्डा र चरित्रका आधारमा दलहरूलाई पाँच वटा भागमा बाँडेर डा. भट्टराईले व्याख्या गरेका छन् ।

कांग्रेस : पुरानो भयो

पूर्वप्रधानमन्त्री भट्टराईले नेपाली कांग्रेसबारे उदारवादी लोकतान्त्रिक धार भन्ने शीर्षकमा व्याख्या गरेका छन् । ‘प्रजातान्त्रिक समाजवादको कुरा गरेर २००७ सालदेखि लोकतान्त्रिक आन्दोलनसँग जोडिएको र विभिन्न राजनीतिक प्रवृत्तिका व्यक्ति र समुदायहरू पनि जोडिंदै आएकाले यसको देशभर उल्लेख्य आधार छ’ प्रतिवेदनमा लेखिएको छ, ‘परन्तु यसले बीपी कोइरालाको समययता वैचारिक, राजनीतिक, कार्यक्रमिक ढंगले खासै प्रगति र नयाँपन प्रदर्शन गर्न सकेको छैन ।’

पटक-पटक सत्ताको नेतृत्व गर्दा पनि कांग्रेसले देश र समाजलाई गुणात्मक रूपान्तरण गर्न नसकेको निष्कर्ष भट्टराईले निकालेका छन् । तसर्थ कांग्रेसबाट नयाँ कार्यभार पूरा हुन नसक्ने उनको निष्कर्ष छ ।

‘बरु यसका नेताहरू सधैं कुनै न कुनै भ्रष्टाचार र अनियमिततासँग जोडिने गरेका छन् । देशका गम्भीर प्रकृतिका अर्थ–राजनीतिक समस्या र नयाँ युगको नयाँ नयाँ कार्यभार यो ऐतिहासिक रूपले पुरानो भइसकेको राजनीतिक धार र शक्तिबाट पूरा हुन असंभव छ,’ उनले भने ।

एमाले–माओवादी : यथास्थितिमा टिक्दैन

माओवादी पृष्ठभूमिका भट्टराईले आफ्नो राजनीतिक प्रतिवेदनमा नेपालका सबै कम्युनष्टि पार्टीहरूलाई एकैठाउँ राखेर विश्लेषण गरेका छन् । अझ एमाले र माओवादीलाई कुनै तात्विक अन्तर नभएको पार्टी भनेका छन् ।

‘बलिदानीपूर्ण जनयुद्धको जगमा बनेको माकेको मूल नेतृत्व झन तीव्र गतिमा भ्रष्टाचार, अनियमितता, शक्ति केन्द्रहरूको दलाली र वर्ग उत्थानीकरणको दलदलमा फसेकोले एमाले र माकेबीच कुनै तात्विक अन्तर छैन’, भट्टराईले लेखेका छन् ।

यद्यपि विगतको योगदान र संघर्षका कारण ‘नेपाल कम्युनिस्ट पार्टी’ का विभिन्न समूहको देशभर राम्रै प्रभाव रहेको बताएका छन् ।

पुरानो विचार, दल, नेतृत्व, कार्यक्रम, शैलीको विकल्पमा उदाएका सबै शक्ति र व्यक्तित्वको सबै पाटो पक्ष अझै स्पष्ट हुन बाँकी छ । तैपनि पुराना दल र नेतृत्वप्रति आम जनसमुदाय र विशेषतः युवाहरूको चरम निराशा र आक्रोश बढ्दै गइरहेको स्थितिमा नयाँ/वैकल्पिक शक्तिहरूको उदयलाई सकारात्मक रूपमा लिनुपर्छ ।

-बाबुराम भट्टराई

‘पहिले निरंकुश पञ्चायती राजतन्त्रविरोधी आन्दोलन र पछि मूख्यतः दश वर्षे सशस्त्र जनयुद्ध र संयुक्त जनआन्दोलन मार्फत नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गरेकाले यो धारको प्रभाव रहनु स्वभाविक छ’ प्रतिवेदनमा लेखिएको छ, ‘परन्तु पटकपटक सत्ताको नेतृत्व गरे पनि यो धारको नेतृत्वले देशका गम्भीर संरचनात्मक समस्या समाधान गर्न नसक्नु, भनाइ र गराइमा कुनै तादात्य नरहनु, यिनका नेता र उच्च तहका कार्यकर्ताहरू विभिन्न भ्रष्टाचार, अनियमिततामा मुछिनु आदि कारणले आम जनताले कांग्रेस र कम्युनिस्टमा कुनै फरक महसुस गर्न सकिरहेका छैनन् ।’

साथै, हिजोको एकदलीय कम्युनिस्ट सत्ता संसारभर ढल्दै गएकाले पनि नेपालमा अहिलेकै अवस्थामा कम्युनिस्ट धेरै नटिक्ने उनको विश्लेषण छ । त्यसैले नयाँ पुस्ताको आकांक्षा कम्युनिस्ट शक्तिहरूबाट संभव नहुने निष्कर्ष भट्टराईले पेस गरेका छन् ।

राप्रपा : स्वभाविक शक्ति

संयोजक भट्टराईले जुनसुकै समाजमा पनि अग्रगामी, यथास्थितिवादी र पश्चगामी सोच राख्ने मानिस हुने भएकाले राप्रपाको उपस्थिति स्वभाविक रहेको निष्कर्ष प्रस्तुत गरेका छन् ।

‘२१ औं शताब्दीको चेतना बोकेका अत्यधिक नेपालीहरू जतिसुकै समस्या आइपरे पनि अँध्यारो युगतिर होइन, उज्यालो युगतिर नै उन्मुख हुनेछन् भनेर हामीले विश्वास गर्नुपर्छ’, भट्टराईले यसबारे धेरै चासो राखेको देखिंदैन ।

जातीय/क्षेत्रीय शक्ति : आउँछन्, जान्छन्

पूर्वप्रधानमन्त्री भट्टराईले आफ्नो प्रतिवेदन मार्फत जातीय र क्षेत्रीय शक्तिहरूलाई स्थिर शक्ति मानेका छैनन् । यद्यपि नेपाल जस्तो विशेषता रहेको मुलुकमा यस्ता शक्तिहरूको निर्माण स्वभाविक मानेका छन् ।

‘बहुजातीय बहुभाषिक र क्षेत्रीय विविधतायुक्त नेपालमा भर्खरै राज्यको संघीय ढाँचामा पुनर्संरचना भएकाले विभिन्न नाममा जातीय/क्षेत्रीय पहिचानवादी पार्टीहरू जन्मने र बिलाउने भइरहेका छन्’ प्रतिवेदनमा भनिएको छ, ‘अतः कालान्तरमा जातीय/क्षेत्रीय दलहरू एकाकार हुने वा बिलाउँदै जाने अनुमान गर्न सकिन्छ ।’

नयाँ/वैकल्पिक शक्ति : बाँकी छ शंका

२०७२ सालमा संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान बनेपछि एकपछि अर्को नयाँ र वैकल्पिक शक्तिहरू आउनुलाई भट्टराईले सकारात्मक मानेका छन् ।

‘सर्वप्रथम २०७२ सालमा संविधान जारी भए पश्चात ‘नयाँ शक्ति अभियान’ सुरु भएको थियो, जुन अहिले नेसपा (नयाँ शक्ति) को रूपमा रहेको छ’ उनले लेखेका छन्, ‘… त्यसपछिका चरणहरूमा विवेकशील साझा पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी लगायत उदाएका छन् । साथै स्थानीय तहहरूमा विभिन्न स्वतन्त्र व्यक्तिहरू अघि आएका छन् ।’

तर नयाँ भनेर आएकाहरूमा अझै थुप्रै पाटामा स्पष्ट हुन बाँकी रहेको भट्टराईको निष्कर्ष छ ।

‘पुरानो विचार, दल, नेतृत्व, कार्यक्रम, शैलीको विकल्पमा उदाएका सबै शक्ति र व्यक्तित्वको सबै पाटो पक्ष अझै स्पष्ट हुन बाँकी छ’ भट्टराईले लेखेका छन्, ‘तैपनि पुराना दल र नेतृत्वप्रति आम जनसमुदाय र विशेषतः युवाहरूको चरम निराशा र आक्रोश बढ्दै गइरहेको स्थितिमा नयाँ/वैकल्पिक शक्तिहरूको उदयलाई सकारात्मक रूपमा लिनुपर्छ ।’

प्रतिवेदन मार्फत नयाँ शक्तिहरूबीच एकता र सहकार्यको प्रस्ताव पनि गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP