मंगलबार , बैसाख २९, २०८३

एनआरएनए अस्ट्रेलियाले दूतावासको सहकार्यमा गरेको पासपोर्ट घुम्ती शिविरबाट २ हजार ४ सय बढी नेपालीलाई सेवा दिएको जनाएको छ । उक्त सेवाबाट सेवाग्राहीको २५ लाख बढी अस्ट्रेलियन डलर बचत भएको बताइएको छ ।

एनआरएनए अस्ट्रेलियाले आफ्ना सम्पूर्ण सदस्यलाई इमेल मार्फत पठाएको प्रेस विज्ञप्तिमा घुम्ती शिविर मार्फत उठाइएको प्रशासनिक रकम दूतावासका कर्मचारीको हवाई खर्च, वासस्थान, प्राविधिक सहयोग लगायतमा खर्च भएको समेत उल्लेख गरेको छ । पासपोर्ट सेवा दिनुपर्ने स्थान र त्यसमा लाग्न सक्ने खर्चलाई आकलन गरेर सीमित रूपमा मात्र अनुमति सहित रकम सङ्कलन गरिएको जनाएको छ ।

अध्यक्ष अनिल पोखरेले पठाएको उक्त इमेलमा विगत १२ महिनाको अवधिमा २ हजार ४ सय २७ नेपालीलाई पासपोर्टसम्बन्धी सेवा दिइएको र त्यसबाट यहाँका नेपालीले २५ लाखभन्दा बढी रकम बचत गरेको उल्लेख छ ।

पोखरेलले ‘एडमिनिष्ट्रेटिभ फी’ का रूपमा २५ देखि ७० अस्ट्रेलियन डलर अतिरिक्त शुल्क उठाएको र उक्त रकम आवेदकलाई जानकारी दिएर घुम्ती शिविर सञ्चालनका लागि प्रयोग गरिएको जनाएका छन् । उनले यसबारेमा आयोजना गरिएको सूचना सत्र तथा आवेदन प्रक्रिया अन्तर्गत सबैलाई यसबारेमा जानकारी दिइएको उल्लेख गरेका छन् ।

‘हामीले केही स्थानमा घाटा बेहोर्‍यौं, केही स्थानमा बराबरी भयो भने केही स्थानमा थोरै नाफा भयो र नाफा भएको पैसा हामीले एनआरएनए राज्य सङ्गठनमा सामाजिक कामका लागि लगाउनेछौँ,’ इमेलमा भनिएको छ ।

एनआरएनएले राजधानी क्यानबेराबाट टाढाको दुरीमा रहेका पर्थ डाबिर्न जस्ता सहरबाट आउँदा हवाई भाडा लगायतमा हजारौँ डलर खर्च हुने उल्लेख गर्दै पासपोर्ट शिविर मार्फत यस्ता स्थानमा रहेका सर्वसाधारणले सहज सेवा पाएको बताएको छ । यसैगरी क्यानबेरास्थित दूतावासमा कर्मचारी पर्याप्त नहुने, सेवाग्राहीले घन्टौँ लाइनमा बस्नुपर्ने बाध्यता रहेकोतर्फ समेत ध्यानाकर्षण गराएको छ ।

घुम्ती शिविरको आयोजनाले स्थानीय आवेदकको मात्र नभई स्थानीय राजनीतिज्ञ, बहुसांस्कृतिक समुदायका व्यक्ति लगायतको समेत साथ रहेको दाबी एनआरएनए अस्ट्रेलियाले गरेको छ । सम्पूर्ण रूपमा स्वयंसेवक मार्फत सञ्चालन गरिएका यस्ता घुम्ती शिविर अस्ट्रेलियाका विभिन्न ५ सहरमा आयोजना भइसकेको छ । अहिलेसम्म एडिलेडमा ६ सय ३ जना, पर्थमा ५ सय ४१, ब्रिसबनमा ४ सय ५०, डार्बिनमा ३ सय ३३, लन्चेस्टन र होबार्टमा ५ सय जनाले घुम्ती सेवा मार्फत सेवा लिएका थिए ।

‘अस्ट्रेलियामा २० जना नेपाली नागरिक हुँदा जति जनशक्ति थियो अहिले करिब दुई लाख हुँदा समेत त्यही जनशक्ति छ, यसबाट सर्वसाधारण जनतालाई पासपोर्ट बनाउन परेको कठिनाइलाई सहज गर्न एनआरएनएले हातेमालो गरेको हो,’ अध्यक्ष पोखरेलले बताए ।

उनले प्रतिव्यक्ति हजारौँ खर्च हुने अवस्थालाई हटाउन र सर्वसाधारणलाई आफ्नै राज्यबाट सुविधा उपलब्ध गराउनका लागि प्रशासनिक खर्चका लागि अत्यन्तै सीमित रकम आवेदकको अनुमति र जानकारी सहित सङ्कलन गरिएको सुनाए । सर्वसाधारणको सहजताका लागि सञ्चालित घुम्ती शिविरमा स्वयंसेवकले निःशुल्क रूपमा अहोरात्र खटेर हजारौँ नेपालीलाई दिएको सेवा दिएका कारण सबै घुम्ती शिविर सफल भएको समेत बताए ।

@EKANTIPUR

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP