शनिबार , भाद्र १३, २०८३

केन्द्रमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाएर आफ्नै नेतृत्वमा सरकार बनाउने योजना तत्काल सफल हुन नसकेका बेला नेपाली कांग्रेसले कम्तीमा दुइटा प्रदेशमा सरकार फेर्ने अन्तिम तयारी गरिरहेको छ।

अरू दलहरूको साथ लिएर कांग्रेसले गण्डकी र लुम्बिनी प्रदेशमा सरकार फेर्न लागेको हो। यसमध्ये पनि गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङको सरकार ढल्ने लगभग निश्चित भइसकेको छ। सम्भवत: आजै गुरूङविरूद्ध अविश्वासको प्रस्ताव प्रदेश सभा सचिवालयमा दर्ता हुनेछ।

‘आजै मुख्यमन्त्रीविरूद्ध अविश्वास प्रस्ताव दर्ता गर्छौं,’ कांग्रेसका एक प्रदेश सभा सांसदले सेतोपाटीसँग भने, ‘पोखराबाहिर रहनुभएका सबै सांसदलाई आज पोखरा बोलाइएको छ।’

५९ सदस्यीय प्रदेश सभामा कांग्रेसका १५ सांसद छन्। प्रदेश संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई कांग्रेसले मुख्यमन्त्रीका रूपमा अगाडि सारेको छ।

‘कांग्रेसले ल्याउने अविश्वास प्रस्तावमा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र जसपाका सांसदले भोट दिने सहमति भइसकेको छ,’ ती सांसदले भने, ‘मुख्यमन्त्री गुरूङले विश्वासको मत लिन सक्दैनन् किनभने उनका पक्षका सांसद संख्या पुग्ने देखिँदैन।’

मुख्यमन्त्री गुरूङसँग नेकपा एमालेका २७ सांसद छन्। ५९ सदस्यीय प्रदेश सभामा बहुमत पुर्‍याउन ३० जना चाहिन्छ।

कांग्रेसका १५, माओवादी केन्द्रका १२, राष्ट्रिय जनमोर्चाका २ र जसपाका दुई सांसद मुख्यमन्त्रीगुरूङ विरूद्ध उभिएका छन्। स्वतन्त्र सांसद राजिव गुरूङ आफैं मुख्यमन्त्री उठ्छु भनिरहेका छन्।

कांग्रेसले आज बिहान ११ बजे संसदीय दलको बैठक पनि राखेको छ। नयाँ बन्ने सरकारको मुख्यमन्त्रीमा नेपाली सर्वसम्मत भए पनि छ मन्त्रालय क-कसलाई दिने भन्नेबारे सहमति हुन बाँकी रहेको कांग्रेसका ती सांसद बताउँछन्।

‘मुख्यमन्त्री हाम्रो दलका नेतालाई सबैले समर्थन गर्नुभएको छ। मन्त्रालय कुन कसले लिने टुंग्याउन बाँकी नै छ। जनमोर्चाले समर्थन गर्ने तर सरकारमा नजाने भनेको छ,’ उनले भने, ‘माओवादी केन्द्र र जसपालाई दिने मन्त्रालय टुंग्याउनु पर्नेछ।’

मन्त्रालय कुन कसलाई दिने भन्नेबारे पछि टुंग्याउने गरी आजै अविश्वास प्रस्ताव प्रदेश सभा सचिवालयमा दर्ता गरिने पनि उनले बताए।

जसपाका एक जना सांसदले सेतोपाटीसँगको कुराकानीमा मुख्यमन्त्री कांग्रेसबाट हुने र त्यसलाई माओवादी केन्द्रले समर्थन गरिसकेको बताए।

‘मुख्यमन्त्री कांग्रेसको हुने भनेर माओवादी केन्द्रले समर्थन गरिसकेको छ। मुख्यमन्त्रीको विषय सकियो, अरू कुरा प्याकेजमै सहमति गरौं भन्ने हाम्रो भनाइ छ। कांग्रेसले हामीसँग छलफल गर्दैछ,’ ती सांसदले भने।

गण्डकीमा रहेका जसपाका दुवै सांसद बाबुराम भट्टराईनिकट हुन्।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सेतोपाटीसँग कुराकानी गर्दै मुख्यमन्त्री गुरूङविरूद्ध आउने अविश्वास प्रस्तावलाई भोट दिने बताए। जनमोर्चाले साथ छाडेपछि मुख्यमन्त्री गुरूङ अल्पमतमा परेका थिए।

केसीले नयाँ बन्ने सरकारमा पनि पार्टी सहभागी नहुने बताए।

‘राष्ट्रिय जनमोर्चा सत्ता र शक्तिका लागि होइन,’ उनले भने, ‘प्रधानमन्त्री केपी शर्मा ओलीलाई तलदेखि नै समर्थन भइरहेको र त्यही बलमा प्रतिगमन र संविधानविरूद्ध काम गरिरहेकोले प्रदेश सरकारविरूद्ध आउने अविश्वास प्रस्तावका पक्षमा मत दिन लागेका हौं।’

यस्तै कांग्रेसले लुम्बिनी प्रदेशमा पनि सरकार परिवर्तन गर्ने गृहकार्य अगाडि बढाएको छ। मुख्यमन्त्री शंकर पोखरेललाई हटाएर नयाँ सरकार बनाउन माओवादी केन्द्र र जसपासँग कुराकानी भइरहेको नेताहरू बताउँछन्।

लुम्बिनी प्रदेश सभा ८७ सदस्यीय हो। यहाँ नेकपा एमालेका ४१ सांसद छन्। एमालेमा पनि ओली र माधव नेपाल पक्षबीच विवाद रहेकोले सबै सांसदलाई एक बनाउने चुनौती मुख्यमन्त्री पोखरेललाई छ।

लुम्बिनीमा नेकपा माओवादी केन्द्रका २०, नेपाली कांग्रेसका १९, जसपाका ६ र जनमोर्चाका एक जना सांसद छन्। माओवादी केन्द्रका सांसद कुलप्रसाद केसीलाई मुख्यमन्त्रीमा समर्थन गरेर नयाँ सरकार बनाउने गृहकार्यमा कांग्रेसलगायत दल छ।

यी दल मिलेर गठबन्धन बनाए भने नयाँ सरकार बनाउन बहुमत पुग्छ।

‘गण्डकीमा हाम्रा साथीहरूलाई माओवादीले सघाउने र लुम्बिनीमा नयाँ सरकार बनाउन कांग्रेसले अरूलाई सघाउन सक्ने विकल्प छ। तर कुन प्रदेशमा के गर्ने भनेर केन्द्रबाट कुनै सहमति वा सर्कुलर गरिएको छैन,’ कांग्रेस सभापति देउवानिकट एक पदाधिकारीले भने, ‘प्रदेश संसदीय दलले नै यसबारे निर्णय गर्न सक्छ।’

उनकाअनुसार केन्द्रमा जसपाले निर्णय दिन समय लगाएकोले यसबीचमा प्रदेश सरकारहरू परिवर्तन गर्न लागिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP