मंगलबार , बैसाख २९, २०८३

काठमाडौँ — नयाँ सत्ता समीकरणबारे छलफल गर्न कांग्रेसले शुक्रबार बोलाएको तीन दलको बैठक निष्कर्षविहीन रुपमा टुंगिएको छ । शुक्रबार आफ्नै निवासमा भएको कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) का नेताहरूको बैठकमा सभापति शेरबहादुर देउवाले केपी शर्मा ओली सरकारलाई हटाएर आफ्नो नेतृत्वमा सरकार बनाउने प्रस्ताव राखे ।

यो प्रस्तावमा विगतमा जस्तै जसपाले ठोस जवाफ दिएन । ओली नेतृत्वको सरकारसँग पनि समदूरीको सम्बन्ध बनाइरहेका जसपाका नेताहरूले देउवाको प्रस्तावलाई ‘पर्ख र हेर’ रणनीतिअन्तर्गत तत्काललाई तामेलीमा राखेका छन् । पार्टीभित्र छलफल गरेर मात्र निर्णय गर्ने जवाफ उनीहरूले कांग्रेसलाई दिएका छन् । यसै सन्दर्भमा दुर्गा खनालले जसपाका वरिष्ठ नेता राजेन्द्र महतोसँग गरेको कुराकानी :

कांग्रेसले तीन दलको बैठक के प्रयोजनका लागि बोलाएको रहेछ ?

कांग्रेसले आफ्नो नेतृत्वमा सरकार बनाउने निर्णय गरेको रहेछ । त्यो निर्णयबारे शेरबहादुर देउवाले हामीलाई सुनाउनुभयो । यसमा तपाईंहरूको प्रतिक्रिया के छ भनेर सोध्नुभयो । पहिलोपटक आधिकारिक रूपमा जानकारी दिनुभयो, तर यसबारे हाम्रो पार्टीमा कुनै छलफल भएको छैन । त्यसैले छलफल गरेर प्रतिक्रिया दिन्छौं भनेका छौं ।

नयाँ सरकार निर्माणको प्रस्ताव आइरहँदा तपाईंहरूले वर्तमान सरकारसँग भइरहेको वार्ता र छलफलबारे पनि केही कुरा गर्नुभयो ?

वर्तमान सरकारसँग हाम्रो माग मुद्दाको सम्बन्धमा गृहकार्य र छलफल भइरहेको र सकारात्मक रूपमा प्रक्रिया अघि बढिसकेको छ । हिजो (बिहीबार) मात्र २ सय ८ जना कार्यकर्तामाथि लगाइएका झूटा मुद्दालाई कसरी फिर्ता लिने भन्ने सम्बन्धमा प्रक्रिया अघि बढिसकेको छ । प्रधानमन्त्रीले जसपाका माग मुद्दा सम्बन्धमा सकारात्मक रूपमा पहल गर्नुभएको छ र गर्ने विश्वास पनि दिलाउनुभएको छ । प्रक्रियासमेत अघि बढिसकेकाले हामीले आफ्ना मुद्दालाई बढ्ता प्राथमिकता दिएका छौं । त्यो कुरा पनि उहाँहरूलाई जानकारी दिएका छौं र सरकारले गरिरहेका काममा तपाईंहरूको पनि सहयोग चाहिन्छ भनेका छौं ।

सरकार प्रतिगमनकारी भयो भनेर तपाईंहरूले कांग्रेस–माओवादीसँग मिलेर आन्दोलन गर्नुभयो तर अहिले त्यही सरकारसँग मिलेर जान खोज्दै हुनुहुन्छ ?

असंवैधानिक काम भएको थियो, त्यसविरुद्ध हामी सबै मिलेर लडेको हो । र, सर्वोच्च अदालतको निर्णयबाट असंवैधानिक कदम सच्चियो । अब कांग्रेस, एमाले र माओवादी तीनवटै पार्टी सत्ताको खेलमा लागेका छन् । तर, हाम्रो प्राथमिकता माग र मुद्दालाई सम्बोधन गराउनेमा केन्द्रित छ । त्यहीअनुसार सरकारसँग कुरा भएको हो र सकारात्मक रूपमा अघि बढेको छ ।

माग/मुद्दा सम्बोधन भए भने वर्तमान सरकारलाई नै समर्थन दिने हो ?

हामी त जसरी पनि माग मुद्दा सम्बोधन गराउने पक्षमा छौं । हाम्रा मुद्दा सम्बोधन गरे यही सरकारलाई धन्यवाद दिने हो । अर्को सरकार कहिले बन्ने/नबन्ने थाहा छैन । देउवा र प्रचण्डको सरकार विगतमा पनि हेरिसकेकै हो नि । सही मागलाई उहाँहरूले विगतमा सम्बोधन गरिदिनुभएन । केपी ओलीले पनि गर्नुभएको थिएन तर अहिले उहाँहरूले आफ्नो आवश्यकताले सम्बोधन गर्ने वचन दिएर प्रक्रिया अघि बढाउनुभएको छ । त्यसैले सरकारले गर्छु भनेपछि हेरिहालौं, गरिदियो भने राम्रै हुन्छ नि ।

जसपाभित्र बाबुराम भट्टराई र उपेन्द्र यादवले तत्कालै ओलीको विकल्प खोज्नुपर्छ भन्दै आउनुभएको छ नि ?

उहाँहरूको व्यक्तिगत विचार हो । लोकतन्त्रमा व्यक्तिगत विचार राख्न पाइन्छ । सत्ता समीकरणबारे पार्टीले निर्णय गर्छ ।

नयाँ सरकार बनाउने प्रस्ताव आइसक्यो, अब कहिलेसम्म निष्कर्षमा पुग्नुहुन्छ ?

प्रस्ताव त आयो तर अर्को प्रक्रिया पनि सकारात्मक रूपमा अघि बढिसक्यो । सरकारको प्रक्रिया कसरी अघि जान्छ, हेर्छौं ।

मुद्दा फिर्ताका प्रक्रियामा निलम्बित सांसद रेशम चौधरीका विषयमा पनि कुरा भएको छ ?

चौधरीको त अदालती प्रक्रियाअनुसार अघि बढ्छ । चौधरी निर्दोष छन्, अदालतले न्याय दिन्छ भन्ने विश्वास छ । त्यसबाहेक विभिन्न प्रकारमा मुद्दा सन्दर्भमा प्रथम चरणमा २ सय ८ जनाको फाइल गृह मन्त्रालयमा पठाएका हौं । अर्को दोस्रो चरणको सूची पनि चाँडै पठाउँछौं । वर्षौंसम्म थाती रहेका विषय सरकारले सकारात्मक रूपमा अघि बढाएकाले पार्टीले त्यसलाई पर्खेर हेर्छ र निर्णयमा पुग्छ ।

@Durga Khanal,Kantipur

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP