सोमबार , अषोज २६, २०८३

प्रायजसो बुढ्यौली उमेरमा हड्डीको घन्तव कम हुँदै जान्छ । जसकारण हाडजोर्नी कमजोर हुँदै गई ढाड तथा कम्मर दुख्ने सम्भावना हुन्छ । तर आजभोलि उमेर नपुग्दै कम्मर दुख्ने समस्या लिएर अस्पतालमा आउने संख्या बढ्दो छ ।

धेरै काम वा कसरत गरेपछि कहिलेकाहीं कम्मर दुख्नु सामान्य हो । तर कतिपय अवस्थामा रातभरको सुताइपछि बिहान उठ्दा कम्मर दुखिरहेको हुनसक्छ । दिनहुँजसो बिहान उठ्दा कम्मर बढी दुखेको अनुभव हुन्छ भने पक्कै कुनै समस्याका कारण हुनसक्छ ।

के कारणले बिहान उठ्दा कम्मर दुख्छ ?

बिहान ढाड तथा कम्मर दुख्नुमा सामान्यदेखि जटिल कारण हुनसक्छ ।

सामान्य कारण

सुताइ नमिल्नु : एकै आसनमा र घोप्टो परेर सुत्नेहरुमा बिहान उठ्दा कम्मर दुख्ने सम्भावना बढी हुन्छ । किनकि यसरी सुत्दा कम्मर तथा मेरुदण्डमा बढी भार पर्छ । जसकारण बिहान उठ्दा दुख्नसक्छ ।

डस्नाको समस्या : कम्मर दुखाइको समस्याको अर्को कारण कस्तो डस्नाको प्रयोग भइरहेको छ । त्यसमा भर पर्छ । धेरै कडा, धेरै लचकदार तथा अत्यधिक पुरानो भएर बिग्रेको डस्नामा सुत्दा बिहान कम्मर दुख्न सक्छ । त्यस्ता डस्नामा सधैं सुत्दा ढाड तथा कम्मरको पोइस्चरको सन्तुलन बिग्रिन्छ । जसकारण बिहान उठ्दा कम्मर दुखिरहेको अनुभव हुनसक्छ ।

गर्भवती महिला : गर्भवती महिलाको शरीरमा त्यसै पनि हर्मोनको परिवर्तनले गर्दा शरीर अन्य बेलाभन्दा नरम भएको हुन्छ । त्यसमाथि पेटको आकार बढ्नु, पेटको गोलाइको तालमेल नमिल्दा यसको असर ढाड तथा मेरुदण्डमा असर पर्छ र कम्मर दुख्न सक्छ । यो समयमा शारीरिक सक्रियता पनि घटेको हुन्छ । जसकारण पनि बिहान उठ्दा कम्मर दुख्न सक्छ ।

निद्रामा समस्या : शरीरलाई आराम चाहिन्छ । त्यसका लागि निद्रा आवश्यक छ । यदि राम्रोसँग निद्रा नपुग्ने, बेलाबेलामा ब्युँझिने र निद्रा नै नलाग्ने समस्या छ भने शरीरले पूर्ण रुपमा आराम पाउँदैन । नतिजा, बिहान उठ्दा कम्मर मात्र होइन सम्पूर्ण शरीर दुखिरहेको हुनसक्छ ।

स्वास्थ्य समस्याका कारण

मांसपेसीको समस्या : हामीमध्ये धेरैलाई लाग्न सक्छ- हड्डीको समस्याले मात्र ढाड र कम्मर दुख्छ । तर त्यस्तो पक्कै होइन । मांसपेशीमा समस्या हुँदा पनि ढाड दुखाइ हुनसक्छ । यस्तो दुखाइलाई ‘फाइब्रोमाल्जिया मायोफेसिएफ पेन सिन्ड्रोम’ भनिन्छ ।

मांसपेशी लचिलो हुनुपर्छ । यदि मांसपेशी कडा हुँदै जानु वा कमजोर भयो भने सुतेको बेलामा र बिहान उठ्दा कम्मर दुख्न सक्छ ।

त्यस्तै, लामो समयसम्म एकै स्थानमा बस्नु, बसेर घण्टौंसम्म कार्यालयमा काम गर्नु, बाइक स्कुटर चलाउनु, शारीरिक व्यायाम पटक्कै नगर्नेहरुमा गर्नेमा मांसपेशी कडा हुनसक्छ । जसकारण पनि बिहान उठ्दा कम्मर दुखाई अनुभव हुनसक्छ ।

अघिल्लो दिन कम्मरको प्रयोग बढी गरियो वा कसरत बढी गरेमा पनि कम्मरमा भार परेर दुख्न सक्छ । जस्तो कि, दिनभर उभियो वा लामो यात्रा गर्दा, अत्यधिक धेरै लुगा धुँदा वा खेतबारीमा निहुँरिएर काम गर्नेमा पनि बिहान उठ्दा कम्मर दुख्न सक्छ । तर एक दिनको मात्र कामले प्रभाव पारेको हो भने दुखाइ केही दिनपछि आफैं हराउँछ ।

मेरुदण्डको बाथ : विशेषगरी मेरुदण्डको बाथ (स्पाइनल अर्थरिटीस), स्याक्रोइलिटिस) को कारण पनि बिहानपख कम्मर दुख्न सक्छ । यस्तोमा मेरुदण्डको भाग सुन्निन्छ । जसको प्रभाव कम्मरमा पनि पर्ने हुँदा रातभरको एकै प्रकृतिले सुत्दा शरीरको तल्लो भाग दुख्न सक्छ ।

भिटामिन डीको कमी : हाडजोर्नी विकासमा भिटामिन डीको भूमिका हुन्छ । भिटामिन डीले नै हड्डीलाई बलियो पारेर राख्छ । यसको शरीरमा कमी हुँदा अस्टियोमालसिया हुनसक्छ । अस्टियोमालसिया हुनु भनेको हड्डीको कडापन हराउँदै गई कमजोर हुँदै जानु हो । यो समस्या भएमा बिहान उठ्दा कम्मर दुखिरहेको अनुभव हुनसक्छ ।

त्यस्तै, शरीरमा क्याल्सियमको कमीका कारण बिहान उठेपछि ढाड तथा कम्मर दुख्ने समस्या हुनसक्छ ।

महिला र पुरुषमा कसलाई बढी दुख्छ ?

यो समस्या पुरुषमा भन्दा बढी महिलामा देखिन्छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार पुरुषमा ३८.५ र महिलामा ५५.५ प्रतिशतमा कम्मर दुख्ने समस्या हुने गर्छ ।

के गर्न सकिन्छ ?

– बेडमा नै सामान्य कसरत गर्न सकिन्छ ।

– सुताइको पोजिसन नमिलेर पनि कम्मर दुख्न सक्ने हुँदा पोजिसन बदलेर सुत्ने, घोप्टो परेर नसुत्ने, कोल्टे सुत्दा दुईवटा घुँडाको बीचमा तकिया राख्ने, उत्तानो सुत्दा घुँडा खुम्च्याएर घुँडाको तल तकिया राखेर सुत्न सकिन्छ ।

– डस्ना धेरै कडा वा धेरै लचकदार र धेरै पुरानो डस्ना प्रयोग गर्नुहुँदैन ।

– कम्मर दुखाइ हुँदा हट-ब्यागले सेक्न सकिन्छ ।

– नियमित रुपमा कसरत गर्नुहुन्छ ।

– भिटामिन डीको जाँच गराउनुपर्छ ।

माथि उल्लेखित उपायले पनि ठीक नभए वा एक महिनाभन्दा बढी लगातार दुखाइ भएमा हाडजोर्नी तथा नसारोग विशेषज्ञको सल्लाह लिनुपर्छ । किनकि लामो समयसम्म कम्मरको दुखाइ हुनुमा त्यहाँको हड्डी खिइँदै गएको पनि हुनसक्छ । त्यसैले छिटो उपचार गराउनुपर्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP