सोमबार , अषोज २६, २०८३

घरजग्गाको कारोबारमा झिनै भए पनि सुधार आउन थालेपछि बैंक तथा वित्तीय संस्थाहरूलाई केही राहत पुगेको छ।

आर्थिक वर्ष अन्त्य नजिकिँदै गर्दा वर्षभरीको नाफा घाटाको हिसाब निकाल्न लागेका बैंकहरूलाई बढ्न थालेको घरजग्गाको कारोबारले केही राहत दिने देखिएको हो।

‘साना–साना जग्गाको किनबेच बढ्न थालेकोले केही सजिलो हुन थालेको सबैजसो बैंकरहरूले भनिरहनु भएको छ,’ नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष तथा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले भने।

लगातार चार महिनासम्म स्थिर रहेको घरजग्गा कारोबार जेठमा बढेको भूमि व्यवस्था तथा अभिलेख विभागको तथ्यांकले देखाएको थियो।

चालु आर्थिक वर्ष २०८०/८१ को माघ अघि घरजग्गाको कारोबार घटबढ भइरहेको थियो। तर माघदेखि वैशाखसम्मै घरजग्गा कारोबार स्थिर रह्यो। जेठमा भने कारोबारमा केही सुधार देखियो।

विभागको तथ्यांकअनुसार जेठमा देशभर ६१ हजार एक सय ६१ संख्यामा घरजग्गा किनबेच भएको छ। यो वैशाखको तुलनामा २२.८५ प्रतिशतले बढी हो। वैशाखमा देशभर ४९ हजार सात सय ८२ संख्यामा घरजग्गा किनबेच भएका थिए।

यो कारोबार गत वर्ष जेठको मासिक कारोबारको तुलनामा पनि ११ प्रतिशतले धेरै हो। गत जेठमा देशभर ५५ हजार संख्यामा घरजग्गा किनबेच भएको थियो।

घरजग्गाको मूल्यमा सामान्य गिरावट आइरहेको भए पनि कारोबारमा केही सुधार भइरहेको र यो क्रम असारमा पनि देखिएको बैंकरहरूले बताएका छन्।

यही कारण बैंकहरूको कर्जा असुलीमा पनि केही सहज भएको छ।

‘नेपाली ऋणीहरूको प्रवृत्ति कम्तीमा वर्षअन्त्यमा कर्जाका किस्ता बाँकी नराख्ने छ,’ केसीले थपे, ‘यही कारण बैंकहरूको कर्जा असुलीमा केही न केही टेवा पुगेको छ।’

त्यस्तै, केही समयदेखि सेयर बजारमा समेत झिनो सुधार देखिदै गएको छ। यसले पनि लगानीकर्ताहरूको ऋण भुक्तानी क्षमतामा केही न केही वृद्धि गर्ने मानिएको छ।

बैंकर केसी अब बैंकहरूको खराब कर्जा धेरै वृद्धि नहुने अनुमान गर्छन्।

चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमास (साउनदेखि चैतसम्म) मा बैंक तथा वित्तीय संस्थाहरूको कुल खराब कर्जा औसत ३.९८ प्रतिशत छ।

खुद खराब कर्जा करिब १.१४ प्रतिशत छ। यो अनुपातमा बजारमा हल्ला आएजसो ५/७ प्रतिशत पुग्ने गरेर धेरै वृद्धि नहुने बैंकरहरूको भनाइ छ।

तर, खराबबाट असलमा वर्गीकरण भएका कर्जाको प्रावधान रकम ६ महिनासम्म घटाउन नमिल्ने व्यवस्थाले अहिले नै खराब कर्जामा सुधार आएको भने नदेखिने बैंकरहरू बताउँछन्।

निष्क्रिय कर्जामा वर्गीकरण भएको कर्जाको भाका नाघेको बक्यौता रकम भुक्तानी गरेर लगातार ६ महिनासम्म कर्जाको किस्ता वा ब्याज नियमित भएको अवस्थामा मात्र असल वर्गमा स्तरोन्नति गर्न पाइने व्यवस्था छ।

निष्क्रिय वर्गमा वर्गीकरण भएका कर्जा सोही वर्गभित्र स्तरोन्नति हुनका लागि पनि आवश्यक प्रावधान पूरा गरेको मितिले ६ महिनापछि मात्र स्तरोन्नति गर्न पाउने छन्। र, सोही आधारमा कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्ने व्यवस्था गरिएको छ।

अहिले बैंकहरूले असल कर्जामा १.२० प्रतिशत र निष्क्रिय कर्जामा ५ देखि शत प्रतिशतसम्म नोक्सानी व्यवस्था मानेर रकम राख्नु पर्छ। त्यस्तै, चालु पुँजी कर्जामा व्यवसायीहरूले अझै समस्या भोगिरहेकाले यसले पनि खराब कर्जा घट्ने अवस्था नै भने नआउने उनीहरूको भनाइ छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP