सोमबार , अषोज २६, २०८३

गएको शुक्रबार नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी केन्द्रीय कार्यालय सानेपामा उपसभापति विमलेन्द्र निधिलाई भने- विमलजी, देउवाजीलाई प्रधानमन्त्री बन्न भन्नुपर्‍यो।

निधि कांग्रेस सभापति शेरबहादुर देउवाका विश्वासपात्र हुन्।

पछिल्लो समय देउवाले केपी शर्मा ओली नेतृत्वको सरकारलाई हटाउन कुनै पहलकदमी नलिएको बेला केन्द्रीय कमिटी बैठक बस्नुअघि पौडेलले निधिलाई यस्तो प्रस्ताव गरेका थिए।

निधिले जवाफ फर्काए- सभापतिजी मात्रै तयार भएर भयो त, जनता समाजवादी पार्टी (जसपा) का शीर्ष नेताहरू सरकार बनाउन खुलिसकेका छैनन्।

पौडेलले जसपाका नेता राजेन्द्र महतोलगायतलाई आफूले कुरा गर्ने र विश्वासमा ल्याउने प्रतिवद्धता जनाए।

यो कुराकानीलगत्तै बसेको कांग्रेस केन्द्रीय समिति बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गर्दै सरकारको नेतृत्वका लागि अग्रसरता लिने निर्णय गर्‍यो।

‘म राजेन्द्र महतोलगायत नेताहरूसँग कुराकानी गर्छु। तपाईं शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्न तयार बनाउनुस् न,’ पार्टी कार्यालयको एक कोठामा पौडेलले निधिसँग भनेका कुरा उद्धृत गर्दै स्रोत भन्छ, ‘सभापतिजी प्रधानमन्त्री बन्न तयार नभएर पनि समस्या भइरहेको छ, विमलजी। तपाईंले शेरबहादुरजीलाई प्रधानमन्त्री बन्न तयार बनाउनुस्।’

निधिले सभापति देउवा प्रधानमन्त्री हुन तयार भए पनि जसपाले साथ दिने हो कि नदिने प्रष्ट भइनसकेको अवस्था रहेको उल्लेख गरेका थिए।

‘सभापतिजीलाई प्रधानमन्त्री हुन समर्थन गर्नुपर्ने जसपाले हो। माओवादी केन्द्रले त सहयोग गर्ने नै भनेको छ,’ निधिले पौडेललाई भनेका थिए, ‘सभापतिजी त प्रधानमन्त्री हुन तयार हुनुहोला नै, तर राजेन्द्र महतोजीहरू पो पहिले तयार हुनुपर्‍यो।’

यसपछि पौडेलले सभापति देउवालाई प्रधानमन्त्री हुन तयार पारेपछि अरू दलले सहयोग गर्ने बताएका थिए।

‘तपाईं देउवाजीलाई पहिले प्रधानमन्त्री हुन तयार गर्नुस्, राजेन्द्र महतोजीहरूलाई तयार गराउने जिम्मा मेरो,’ पौडेलले भनेको कुरा उद्धृत गर्दै स्रोतले भन्यो।

कांग्रेसले प्रधानमन्त्री ओलीको राजीनामा मागेको दुई दिन भइसकेको छ। यसबीचमा शनिबार आयोजित एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले अविश्वास प्रस्ताव आए राजीनामा दिने बताइसकेका छन्। तर ओलीलाई दिएको समर्थनबाट माओवादी केन्द्र पछि हटेको छैन। आज बोलाइएको स्थायी कमिटी बैठकसमेत नेताहरू बाहिर रहेको भन्दै स्थगित गरेको छ।

यस्तो अवस्थामा कसरी कांग्रेसले नयाँ सरकार बनाउने अग्रसरता लिन्छ?

प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार अब कसरी अगाडि बढ्ने भन्नेबारे माओवादी केन्द्र र जसपाका नेताहरूसँग अनौपचारिक कुराकानी भइरहेका छन्।

‘सरकार बनाउन राजनीतिक आधारबाहेक अहिलेसम्म अंकगणितीय आधार बनिसकेको छैन,’ शर्माले सेतोपाटीसँग भने।

कांग्रेसका ६१, माओवादी केन्द्रका ४८ र जसपाका ३२ सांसद मिले सरकार बनाउन बहुमत पुग्छ। तर जसपाले कसलाई समर्थन गर्ने भन्ने आधिकारिक निर्णय गरिसकेको छैन। जसपा संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले भने नयाँ सरकार बनाउन अग्रसरता लिने निर्णय गरेकोमा कांग्रेसलाई धन्यवाद दिएका छन्।

‘कांग्रेसले गर्ने निर्णय गरिसक्यो। प्रधानमन्त्रीको राजीनामा मागेर नयाँ सरकार बनाउन अग्रसरता लिने भनिसक्यौं,’ गत शुक्रबार बसेको केन्द्रीय समितिले उक्त निर्णय गरेको जानकारी दिँदै शर्माले भने, ‘अब माओवादी केन्द्र र जसपाले गर्ने निर्णयमा सत्ता समीकरणबारे थप मार्गप्रशस्त गर्छ।’

ती दलले संस्थागत र एकतावद्ध निर्णय गरेर केपी ओलीलाई प्रधानमन्त्री पदबाट बिदाइ गर्ने एजेन्डामा उभिए भने छिटै सरकार बन्ने प्रष्ट खाका तय हुने शर्मा बताउँछन्।

‘माओवादी केन्द्रले समर्थन फिर्ता गरे प्रधानमन्त्री ओलीले विश्वासको मत लिनुपर्छ,’ शर्माले भने, ‘कांग्रेस ठिक समयमा मैदानमा पुगेको छ। खेलाडी मैदानमा उभियो भन्दैमा खेल सुरू भइहाल्दैन, अन्य खेलाडीको सहभागिता र प्रक्रियाका कुरा हुन्छन्। त्यसका लागि जसपा र माओवादी केन्द्रले संगठित रूपमा निर्णय गरिदियोस्।’

नयाँ सरकार बनाउने गरी परिस्थिति विकास कसरी गर्ने भन्नेबारे माओवादी केन्द्र र जसपाका नेताहरूसँग अनौपचारिक कुराकानीहरू भइरहेको शर्मा बताउँछन्।

माओवादी केन्द्र र जसपाले गर्ने निर्णयमा आगामी सत्तायात्रा तय हुने भएकोले ती दलका संगठित रूपमा आउने औपचारिक निर्णयको पर्खाइमा आफूहरू रहेको शर्माले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP