मंगलबार , बैसाख २९, २०८३

बागलुङ ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीले सहकारीमा बचतकर्ताले जम्मा गरेको पैसाले निजी सम्पत्ति जोडेको स्वीकारेका छन्।

काठमाडौं, पोखरा, बागलुङ बजार, बुर्तिबाङ लगायतका स्थानमा जोडेको घरजग्गामा उनले सहकारीको पैसा, बैंकको ऋण र आफूसँग भएको पैसा लगानी गरेको बताएका हुन्।

सहकारीका बचतकर्तालाई माघ १९ गते अपिल जारी गर्दै उनले सहकारीको बचतसमेत प्रयोग गरेर विभिन्न ठाउँमा घरजग्गा किनेको बताएका हुन्।

‘यतिबेला हामीसँग बचत फिर्ता गर्न नगद रकम छैन। विगतमा हामीले सहकारी सञ्चालन गर्दा हाम्रो केही जिनी रकम र सहकारीमा सेयर सदस्य बचतकर्ताले जम्मा गरेको बचत तथा बैंकहरूबाट समेत ऋण लिएर स्थिर सम्पत्ति जोडेका छौं,’ उनले भनेका छन्।

यसअघि मंसिर ५ गते फेसबुकमा लाइभ आएर सहकारीमा बचतकर्ताको रकमबाट निजी सम्पत्तिमा लगानी नगरेको उल्लेख गरेका थिए। आफ्नो निजी सम्पत्ति जोड्न सहकारीको एक पैसा पनि लगानी नगरेको उनले दाबी गरेका थिए।

उनले जारी गरेको अपिलमा भने सहकारीका शेयर सदस्यले बचत गरेको रकम पनि निजी सम्पत्ति जोड्न लगानी गरेको बताएका छन्। अपिलमा उनले काठमाडौं, पोखरा, बागलुङ बजार र बुर्तिबाङमा गरी ४५ कित्ता जग्गा र १८ वटा घर भएको देखाएका छन्।

घर जग्गा विवरणमा उनले बुर्तिबाङमा २९ वटा कित्ता जग्गा रहेको र ३ वटा होटल रहेको बताएका छन्। बुर्तिबाङमा ८ तला अग्लो होटल दरबार, ४ तलाको मिनी होटल दरबार र ४ तलाकै होटल दरबार रेष्टुरेण्ट रहेको उल्लेख गरेका छन्।

यस्तै, बागलुङ बजारमा ४ वटा कित्ता जग्गा र २ वटा भवन रहेको बताएका छन्। बागलुङ बजारमा रहेको कर्म कम्प्लेक्स ६ तला र मिनी कर्म कम्प्लेक्स ५ तलाको भवन रहेको उल्लेख गरेका छन्।

विज्ञप्ति अनुसार पोखरामा ६ कित्ता जमिन रहेको र ३ वटा भवन रहेको बताएका छन्।

पोखराको सिर्जना चोकमा कर्म कम्प्लेक्स ९ तला, शिवालय चोकमा ५ तला र पृथ्वीचोकमा घर भएको पनि उनले उल्लेख गरेका छन्।

काठमाडौंमा ५ कित्ता जमिन र ६ वटा भवन रहेको उनले बताएका छन्। काठमाडौंको सुकेधारामा सानिमा बैंक भएको घरसहित ४ वटा घर, सुकेधारामै बजाज शोरूम भएको घर र सुकेधारामा कर्म कम्प्लेक्स रहेको उनले बताएका छन्।

उल्लेखित घरजग्गा बिक्री गरी सहकारीका पीडित बचतकर्ताको बचत फिर्ता गर्न र बैंकको ऋण भुक्तानी गर्न आफूले चाहेको नेपालीले बताएका छन्।

ढोरपाटन नगरपालिकाका मेयर नेपालीले बागलुङ र पोखरामा गरी दुई ठाउँमा दुइटा इमेज बचत तथा ऋण सहकारी संस्था खोलेका थिए। यी दुई सहकारीबाट २ अर्ब अपचलन भएको सहकारी डिभिजन कार्यालयले जनाएको छ।

सहकारीको रकम अपचलन आरोप लागेपछि नेपाली गत जेठदेखि फरार छन्। फरार भए पनि उनी मंसिर ५ गते फेसबुक लाइभ आएका थिए भने केही पीडित बचतकर्ताको सम्पर्कमा आएको बताइएको छ। उनले माघ १९ गतेको मिति राखेर जारी गरेको अपिल बागलुङका संचारकर्मीहरूलाई इमेलमार्फत् प्राप्त भएको उल्लेख छ।

आफ्नो नाममा रहेको घरजग्गा बिक्री वितरण गरेर सहकारी पीडितको बचत फिर्ता गर्न र बैंकको ऋण भुक्तानीको वातावरण मिलाइदिन उनले अदालत, प्रशासन, प्रहरी, सहकारी विभाग, रजानीतिक दल लगायतलाई अपिल पनि गरेका छन्।

सहकारीको रकम हिनामिना गर्ने मनसाय आफ्नो नभएको दाबी गर्दै उनले देशमा आएको आर्थिक संकटले पीडितको रकम फिर्ता दिन नसकेको पनि उल्लेख गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP