शुक्रबार , भाद्र १२, २०८३

काठमाडौं । एसिड आक्रमण घटनाका पीडितको कथावस्तुमा निर्माण हुन लागेको फिल्म ‘नमेटिने घाउ’को औपचारिक घोषणा भएको छ । आइतबार आयोजित पत्रकार सम्मेलनमा निर्देशक तथा निर्माता रमित ढुंगानाले फिल्मबारे जानकारी दिए ।

उक्त प्रेसमिटमा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथिको रुपमा उपस्थित थिए । यो फिल्ममा ओलीले प्रधानमन्त्रीको भूमिकामा केमियो रोलमा अभिनय गर्न लागेको जानकारी समेत दिइयो ।

२०७७ असोजमा ओली नेतृत्वको मन्त्रिपरिषद्ले तेजाब आक्रमण गर्नेलाई कडा सजाय हुनेगरी फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधनको प्रस्ताव पास गरेको थियो । फिल्मको कथाअनुसार सोही सन्दर्भ चित्रण गर्नुपर्ने भएकाले ओली प्रधानमन्त्रीकै रोलमा देखिन लागेको जानकारी पत्रकार सम्मेलनमा गराइएको थियो ।

कार्यक्रममा ओलीले एसिड आक्रमण गर्नेमाथि कानुनअनुसार कारवाही हुनुपर्ने बताए । फिल्मको मुहूर्तको उक्त अवसरमा ओलीले एक्सन भन्दा राप्रपा सांसद ज्ञानेन्द्र शाहीले क्ल्याप, रमेश उप्रेतीले कट र अभिनेता धीरेन शाक्यले अभिनय गरेका थिए । अभिनेता विक्रान्त बस्नेतले नरिवल फुटाए ।

यो फिल्ममा निर्देशक समेत रहेका ढुंगाना पनि केमियो रोलमा देखिने भएका छन् । पत्रकार सम्मेलनको तेजाब आक्रमणको घटनाका केही पीडित पनि उपस्थित थिए । उनीहरुले आक्रमणका दोषीलाई हदैसम्मको सजाय हुनुपर्ने प्रावधान कानुनमा राख्नुपर्ने माग गरे ।

एमाले अध्यक्ष ओलीले यो फिल्मले एसिड आक्रमण रोक्न सकारात्मक सन्देश दिने आशा व्यक्त गरे । फिल्ममा सुरवीर पण्डित, रामचन्द्र अधिकारी, रचना गौतम, सिम्रन खड्का, सुप्रज्ञा शर्माले समेत अभिनय गर्दैछन् । माघ २५ गतेदेखि फिल्म छायांकन गर्ने तयारी छ । एसिड आक्रमणका घटना भएका ठाउँहरु पोखरा, वीरगञ्ज, रौतहटको चन्द्रपुर, भक्तपुर, बनेपा, नवलपुर र पनौतीमा छायांकन हुने भएको छ ।

‘यो सबै भिक्टिमहरुको बायोपिक हो,’ रमितले भने, ‘आक्रमणका घटना भएका ठाउँमा फिल्म छायांकन गर्ने योजना छ ।’ गएको १० वर्षमा ३३ जनामाथि एसिड आक्रमण भएको तथ्य पेश गर्दै रमितले यो कार्य जघन्य अपराध हो भन्ने सन्देश आफूले फैलाउन चाहेको बताए ।

पटकथा लेखक शिवम् अधिकारीले साढे दुई वर्ष लगाएर फिल्म लेखेका हुन् । यो फिल्म रमितको डेब्यु निर्देशकीय फिल्म समेत हुनेछ भने निर्माणको रुपमा तेस्रो ।

यसअघि उनले ‘माया नमार’ र ‘बुद्ध इज बर्न इन नेपाल’ फिल्मको निर्माण गरेका थिए । यो फिल्मबाट पृथ्वीनारायण शाहको बायोपिक फिल्म बनाउने र यसमा रमित आफैंले पृथ्वीनारायणको भूमिका निर्वाह गर्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP