मंगलबार , बैसाख २९, २०८३

साबिक नेकपाभित्र अन्तरविरोध बढेसँगै सरकार ढल्ने खतरा देखिएपछि गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेका प्रधानमन्त्री ओलीले संसदीय अंकगणित आफ्नो पक्षमा नभए फेरि संसद विघटन गरेर मध्यावधि चुनावमा जाने संकेत गरेका छन् ।

नेकपा माओवादी केन्द्रले सरकारलाई दिइरहेको समर्थन फिर्ता लियो भने राजीनामा दिने बताएका ओलीले फेरि पुस ५ को स्थिति आउन सक्ने स्पष्ट पारेका छन् । प्रधानमन्त्रीनिवास बालुवाटारमा शनिबार सडक उदघाटन कार्यक्रमलाई सम्वोधन गरेका प्रधानमन्त्री ओलीले फेरि ताजा जनादेशका लागि जानुपर्ने परिस्थिति आउन सक्ने स्पष्ट भाषामा बताए ।

‘संसद यस्तै हो । संसद कहिले देशको आवश्यकता र संसदको गणित फरक पर्छ । कहिले कृत्रिम ढंगले केही मान्छेहरुले संसदीय अंकगणितलाई यताबाट उता, उताबाट यता सार्दिन्छन्, मिलाइदिन्छन्’ प्रधानमन्त्री ओलीले भने, ‘मेरो विचारमा फेरि पनि ढिलोचाँडो जनादेशबाट अहिलेको अंकगणितमा हेरफेर नगरी र अनुकुल अंकगणितविना देश अगाडि ‘स्मुथ्ली’ जानै सक्दैन । त्यसकारण फेरि पनि हामीले ताजा जनादेशमा जानुपर्ने हुन्छ ।’​

संसदको अंकगणितलाई ‘म्यानेज गर्न’ वा आफ्नो पक्षमा पार्न सकिएन भने त्यो अवस्थामा चुनावमा जानुपर्ने ओलीको तर्क छ । प्रधानमन्त्री ओलीले अगाडि भने, ‘त्यसलाई (संसदलाई) भरसक म्यानेज गर्न खोज्नुपर्छ । यदि त्यो व्यवस्थापन भएन र विभिन्न व्यक्तिहरुका स्वार्थहरुको खेलबाट अंकगणित आवश्यकता विपरीत गयो भने ताजा जनादेश भनेको त्यही हो । त्यसमा जानुपर्छ अब । त्यस्तोबेलामा ताजा जनादेशमा जानुपर्छ ।’

दुईवटा अवस्थामा चुनावमा जानुपर्ने प्रधानमन्त्री ओलीको विश्लेषण छ । प्रधानमन्त्री ओली भन्छन्, ‘कतिबेर चुनाव हुनुपर्छ भन्दा एउटा त आवधिक निर्वाचन । लोकतन्त्रमा आवधिक निर्वाचन हुन्छ । अर्को, यदि गणितले आवश्यकतालाई प्रतिनिधित्व गर्दैन भने देशको आवश्यकता, जनताको आवश्यकता, विकासको आवश्यकता मौजुदा अंकगणित भन्दा माथिको कुरा हो ।’

विगतमा अंकगणितले साथ नदिएको हुनाले संसद विघटन गर्नुपरेको तर्क गर्दै प्रधानमन्त्री ओलीले भने, ‘देशको आवश्यकता, विकासको आवश्यकता, विकासको आकांक्षा अंकगणितका लागि छोड्ने कि देश र जनताको आवश्यकताका लागि अंकगणित परिवर्तन गर्ने ? यो त जनताले फैसला गर्ने कुरा हो, त्यसकारण जनतामा त्यस्तो अवस्थामा जानुपर्छ । हामीले गरेको (संसद) विघटन त्यही अर्थमा हो ।’

संसदीय अंकगणितले कहिलेकाहिँ राष्ट्रिय आवश्यकताको प्रतिनिधित्व गर्न नसक्ने ओलीको तर्क छ । ‘संसदीय अंकगणितले राष्ट्रिय आवश्यकताको सधैं प्रतिनिधित्व गर्छ भन्न सकिँदैन’ ओलीले भने, ‘संसदीय अंकगणित यदि अनुपयुक्त ढंगले त्यहाँ खेल भइरहेको छ र अनुपयुक्त आकार लिइरहेको छ, त्यसले उपयुक्त आकार लिने सम्भावना कम छ भने त्यस्ता अवस्थामा संसदीय अंकगणितको अनुकूलताका लागि ताजा जनादेशमा जानुपर्छ । पोलिटिक्स त्यो हो ।’

संसदको अंकगणितलाई व्यवस्थापन गर्नुपर्ने धराणा राखेका प्रधानमन्त्री ओलीले भने, ‘देश, जनता र विकासको आवश्यकता अनुसारको अंकगणित हामीले जनप्रतिनिधि संस्थाहरुमा निर्माण गर्नुपर्छ । खास गरी संसद, जो सरकार बनाउने थलो हो, संविधान संशोधन गर्न सक्ने थलो हो, कानून निर्माण गर्न, परिवर्तन गर्न सक्ने थलो हो । त्यो थलोलाई देशको आवश्यकता अनुसारको अंकगणितीय वनावटमा लानुपर्छ ।’

संसद विघटनको औचित्य पुष्टि गर्ने प्रयास गर्दै प्रधानमन्त्री ओलीले भने, ‘जब राष्ट्रिय आकांक्षासँग अंकगणितले तादात्म्यता राखेन, हामीले तादात्म्यता राख्न कोसिस ग¥यौं, भएन । तब जनादेशमा जानुपथ्र्यो ।’​

माओवादीले समर्थन फिर्ता लिनासाथ राजीनामा !

संसदको अंकणितले साथ दिएन भने फेरि ताजा जनादेशमा जानुपर्ने बताएका प्रधानमन्त्री ओलीले माओवादीले समर्थन फिर्ता गरेपछि आफ्नो राजीनामा आइहाल्ने बताए । प्रधानमन्त्रीले माओवादीको नाम नलिइकन भने, ‘ए बाबा हटाउ न त । समर्थन फिर्ता लिइलेऊ भन्छु, त्यो पनि लिँदैन अनि राजीनामा माग्छ । राजीनामा त आइहाल्छ नि समर्थन फिर्ता गर न ।’

आफ्नो राजीनामा दिनहुँ माग्नेृ काम भइरहेको बताउँदै ओलीले ठट्यौली पारामा भने, ‘मागैपिच्छे म कसरी दिन सक्छु भनेको ! एउटाले माग्दैन, दुईटाले माग्दैन । एकदिन माग्दैन, दुईदिन माग्दैन । माग्या छ माग्या छ । दिनैपिच्छे एक–एकवटाले राजीनामा माग्छ !’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP