मंगलबार , बैसाख २९, २०८३

मनाङ । हिमाली जिल्ला मनाङको तापक्रम दैनिकरूपमा घट्दै गएको छ । माघ लागेसँगै यहाँको तापक्रम घटेर माइनस २२ डिग्री पुगेको छ । दिउँसोको समयमा नै यहाँको तापक्रम माइनस १२ पुग्दछ । हिमपात कम भए पनि चिसो अत्यधिक बढेको छ ।

प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेका अनुसार मनाङमा माघ लागेसँगै तापक्रम घट्दै गएको हो । हिमपात कम भए पनि यहाँको तापक्रम मापन गर्दा अत्यन्त कम हुँदै गएको उनले बताए । जसका कारण यहाँको जनजीवन कष्टकर बन्दै गएको उनले बताए ।
प्रमुख जिल्ला अधिकारी लामिछानेले भने, “चिसोले धारामा पानी जमेको छ । खोलानालामा पूर्णरूपमा पानी जमेको छ । हिउँ कम भए पनि यहाँको चिसोले ग्यास बलेको छैन । सवारीसाधनको आवतजावत न्यून छ । पिउने पानी जोहो गर्नै मुस्किल छ ।” चिसो पनि उसैगरी बढ्दै गएको उनले बताए । चिसो बढ्दै जाँदा यहाँका पूर्वाधार निर्माण मङ्सिरदेखि नै ठप्प भएको प्रजिअ लामिछानेले जानकारी दिए ।

मनाङको माथिल्लो क्षेत्रका बासिन्दा अहिले चिसो छल्न बाहिर गएको उनले बताए । अहिले सुरक्षा निकाय र स्वास्थ्य क्षेत्रबाहेक अन्य सेवा प्रवाहमा समेत सकस भएको उनले जानकारी दिए । उनले भने, “अहिले सुरक्षा निकाय र सामान्य सेवाबाहेकका अन्य बन्दजस्तै नै छन् ।”

पहिलो हिमपात हुनासाथ यहाँका शैक्षिक संस्था बन्द भएका छन् । शैक्षिक संस्था बन्द भएपछि यहाँका अधिकांश स्थानीय जाडो छल्न जिल्ला बाहिर गएका छन् । यहाँका स्थानीय लमजुङ, काठमाडौँ, पोखरालगायतका स्थानतर्फ झर्ने क्रम जारी रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

पूर्वाधार कार्यालय मनाङका प्रमुख जय विष्टले भने, “चिसो अत्यधिक छ । त्यसैले सिमेन्टजडित कार्य ठप्प भएको छ । योजनाको नापजाँच, परीक्षणको काम गरिरहेका छौँ । अन्य कार्यालयसम्बन्धी कामलाई प्राथमिकता दिएर नै काम गरिरहेका छौँ ।”

विकास निर्माणमा प्रयोग हुने सिमेन्टजन्य काम पूर्णरूपमा रोकिएको छ । चिसोका कारण सिमेन्टसँग सम्बन्धित निर्माणको सेटिङ र हार्डिङ प्रक्रियामा समस्या हुने भएकाले यससम्बन्धी काम बन्द गरिएको विष्टले बताए ।

त्यस्तै चिसोका कारण मङ्सिरदेखि नै स्थानीय तल झरेपछि नार्पाभूमि गाउँपालिकामा रहेका दुई प्रहरी चौकी सदरमुकाम सारिएको प्रजिअ लामिछानेले जानकारी दिए । उनका अनुसार नार्पाभूमिका अत्यावश्यक कामकाजका लागि सदरमुकामस्थित चामे गाउँपालिका–३ कोतोमा अस्थायी कार्यालय स्थापना गरी सेवाप्रवाह भइरहेको छ ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)  एकाइ कार्यालय मनाङका प्रमुख ढकबहादुर भुजेलले चिसोमा पनि न्यून मात्रामा पर्यटकको आगमन भइरहेको बताए । सिजनमा भन्दा पर्यटकको आगमन कम भए पनि आउने क्रम जारी रहेको उनले जानकारी दिए।

उनले भने, “बाटोमा केही मात्रामा हिउँ छ । हिउँ खेल्दै रमाउँदै पर्यटक थोराङ्ला भञ्ज्याङ, तिलिचो तालतर्फ जाने आउने भइरहेको छ ।” पर्यटकलाई मौसमसम्बन्धी जानकारीका साथै बाटोमा हुनसक्ने जोखिमलाई मध्यनजर गरी यात्रा गर्न सुझाव दिँदै आएको उनले बताए ।

मनाङ ङिस्याङ गाउँपालिका–५ भ्राकाका किसान सोनाम लामाले धेरैजसो गाउँले तल झरेका छन् । तर हामी घर कुर्ने र चौँरी हेर्न यहीँ बसेका बताए । उनले भने, “चिसोमा माउ चौँरी र युवावस्थाका चौँरीलाई खुवाउन बचाउन सजिलै हुन्छ । तर चिसोमा बच्चालाई जोगाउनै मुस्किल हुन्छ । ठूला पशुचौपायले पानी, घाँस आफैँ खोज्न सक्छन् । बच्चाले सक्दैनन् । जाडोमा यिनीहरूलाई ध्यान दिनुपर्छ ।”

“लामो समयसम्म हिमपात भयो भने अलिअलि जम्मा गरेर राखेको घाँस सकिन्छ । खान नपाई दुब्लाएर मर्ने गर्छ । जाडो भइरहेका बेला बच्चालाई भने गोठ बनाएर राखिन्छ । हिउँ बढी परे पनि ठूला भएका चौपायलाई हिउँमै छाड्नुपर्छ । जाडोमा घाँस कम हुँदा दुध पनि कम हुने हुँदा बच्चालाई मात्र ठिक्क हुन्छ । हामीले यो समयमा दूध दुहुदैनौँ”, उनले भने, “लेकका खर्कबाट गाउँघर नजिक चौँरी ल्याइन्छ । नावर पनि चौँरीसँगै अलि तल नै झर्छन् । जसले गर्दा हिउँ चितुवा पनि चौपाय नजिकै आहाराका लागि आउने गर्दछन् । यसबाट जोगाउनकै लागि हामी यहाँ बस्नुपर्ने भएको हो ।”

यहाँ फागुनको पहिलो सातादेखि खेतीपातीको समय सुरु हुन्छ । जसले गर्दा बेँसीमा झारिएका गोठ लेकका खर्कतर्फ लैजाने गरिन्छ । हाल जिल्लाभर चार हजार तीन सय ९७ चौँरी रहेको भेटेरेनरी अस्पताल तथा विज्ञ केन्द्रका प्रमुख नरेन्द्र राईले जानकारी दिए । जाडो कम हुँदै गएपछि यहाँका स्थानीय पनि जिल्ला फर्कन थाल्दछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP