मंगलबार , बैसाख २९, २०८३

कैलाली । जनता समाजवादी पार्टी (जसपा) नेपालले पछिल्लो समय रेशम चौधरीको रिहाइलाई मुख्य राजनीतिक मुद्दा बनाएको छ । संविधान संशोधन लगायतका मुद्दामा जोड दिँदै आएको सो पार्टीले संसदीय अंकगणितका आधारमा आफू सत्ता गठबन्धनका लागि निर्णायक भूमिका निर्वाह गर्ने तहमा पुगेसँगै रेशम चौधरीको रिहाइलाई मुख्य मुद्दा बनाएको हो ।

कैलाली–१ बाट निर्वाचित सांसद चौधरी हाल जेलमा छन् । टीकापुर घटनाको मुख्य योजनाकारका रुपमा अदालतले उनलाई आजीवन कारावासको सजाय तोकेको छ । जसपा नेपालकै मागअनुसार रेशम चौधरीलाई रिहा गर्न सरकारसमेत तयार रहेको संकेत देखिएकै बेला रेशम चौधरीका पिता लालवीर चौधरी भने आफ्नो छोरालाई ‘मोहरा’ बनाउन थालिएको गुनासो गर्दछन् ।

लालवीरले टीकापुर घटना, रेशम चौधरीको रिहाइसम्बन्धी माग र जसपा नेपालको राजनीतिक मुद्दाबारे रातोपाटीसँग संक्षिप्त कुरा गरेका छन् ।

प्रस्तुत छ, रेशम चौधरीका पिता लालवीरले व्यक्त गरेका धारणाको सम्पादित अंश –

मेरो छोरा रेशमलाई मोहरा बनाएर राजनीति भइरहेको छ । सत्ता साझेदारीका लागि जसपा नेपालले रेशमको रिहाइलाई सर्त बनाएको छ । रेशमको रिहाइबारे सर्त ठीक हो, तर लाल आयोगको प्रतिवेदनमा टेकेर अघि बढनुपर्ने खाँचो म देख्छु ।

अहिले सरकारसँगमात्र सम्झौता गरेर रिहा गराउने हो भने भोलिका दिनमा फेरि रेशमलाई पक्राउ गरिने सम्भावना कायमै रहन्छ । त्यसैले लाल आयोगको प्रतिवेदनमाथि टेकेर मन्त्रिपरिषदले निर्णय गर्ने र त्यसैअनुसार रेशमलाई रिहा गराउन पहल गर्ने हो भने टीकापुर घटना राजनीतिक मुद्दा हो भन्ने स्थापित हुन्छ र रेशममात्र होइन, सो घटनाका अन्य आरोपीमाथि न्याय हुन्छ ।

अहिले त जसपा नेपालले हावाका भरमा रेशम चौधरीको रिहाइको माग गरिरहेको छ, यो सत्ता स्वार्थमात्र हो । रेशममात्र होइन, सबै थारु जातिमाथि अन्याय भएको छ । यसको छिनोफानो लाल आयोगले मात्र गर्न सक्छ भनेर धेरै पहिलादेखि हाम्रा नेताहरुले भन्दै आएका हुन् । तर, अहिले लाल आयोगको प्रतिवेदन किन खोजिँदैन ?

हामी पीडित छौं, दशौं करोडको क्षति भएको छ, छोरा जेलमा छ । हामी थारु जाति नभइदिएको भए १० करोड क्षतिको बदला १५ करोड पाइन्थ्यो होला । थारु भएकै कारण हामीले अहिलेसम्म अन्याय भोग्दै आएका छौं ।

केपी शर्मा ओलीले आफ्नो सत्ता टिकाउनका लागि रेशमलाई ‘मोहरा’ नबनाउन् । रेशमलाई साँच्चै नै रिहा गर्ने हो भने सबैभन्दा पहिला टीकापुर घटनालाई राजनीतिक मुद्दाका रुपमा लिनुपर्छ ।

ओली सरकारले टीकापुर घटनाका दोषी ठहरिएका सबैलाई रिहा गर्न सक्थ्यो । तर, यतिका वर्षसम्म गरेन । अहिले आएर रेशमको रिहाइबारे प्रधानमन्त्री ओलीले जसपा नेपालका नेताहरुसँग कुरा गर्नु भनेको टीकापुर घटनाका पीडित, थारु समुदायले उठाएका राजनीतिक मागप्रति सद्भाव देखाएर होइन कि आफ्नै नेतृत्वको सरकार टिकाइराख्न मात्र केन्द्रित छ भन्ने कुरा सबैले बुझेका छन् ।
जसपाले रेशमको रिहाइको माग पार्टीका लागि गरेको हो या व्यक्तिका लागि गरेको हो भन्नेमा हामी पनि अन्योलमा छौं । जसपाले रेशमको मुद्दालाई पहिलादेखि नै यसरी प्राथमिकता दिएर उठाउनुपर्ने हो । अहिले जसपा नेपाल आफै पनि सत्तामा जान र प्रधानमन्त्री ओलीलाई पनि सत्ता टिकाउनका लागि रेशमको कुरा उठेको हो भन्ने हाम्रो ठम्याइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP