
काठमाडौं । यू–१९ एसिया कप क्रिकेटमा नेपाल भारत, पाकिस्तान र अफगानिस्तानको समूहमा परेको छ ।एसियाली क्रिकेट काउन्सिल एसीसीले खेल तालिका सार्वजनिक गरेको हो । खेल तालिका अनुसार नेपालले पहिलो खेल डिसेम्बर ८ मा पाकिस्तानसँग खेल्ने छ ।
यस्तै नेपालको दोस्रो खेल डिसेम्बर १० मा अफगानिस्तानसँग र तेस्रो खेल १२ डिसेम्बरमा भारतसँग हुने छ ।समूह बीमा भने आयोजक यूएईसहित बंगलादेश, श्रीलंका र जापान छन् । समूहका २ शीर्ष टोली सेमिफाइनलमा पुग्ने छन् । फाइनल खेल १७ डिसेम्बरमा हुने छ ।
नेपालले तीन साताअघि मलेसियामा सम्पन्न एसिसी यू१९ प्रिमियर कपको उपाधि जित्दै एसिया कपमा स्थान बनाएको थियो । नेपाल विजेता, युएई उपविजेता र जापान तेस्रो स्थानमा रहँदै प्रिमियर कपमा शीर्ष तीनमा रहँदै एसिया कपमा स्थान बनाएका हुन् ।
गत सेप्टेम्बरमा नेपालको सिनियर टोलीले पनि एसिया कपमा भारत र पाकिस्तानसँग खेलेको थियो । नेपालले अघिल्लो महिना १९ औं एसियाली खेलकुदको क्वाटरफाइनलमा भारतसँग हारेको थियो ।एसिया कप सकिएको एक महिनापछि नेपालले श्रीलंकामा हुने यू–१९ विश्वकप क्रिकेट खेल्ने छ ।