मंगलबार , बैसाख २९, २०८३

काठमाडौं। सर्वोच्च अदालतको गत फागुन २३ गतेको फैसलाले नेकपाको एकतालाई खारेज गर्दै एमाले र माओवादी ब्यूँताइदिएपछि माओवादी शक्तिबिच ध्रुवीकरण हुनुपर्ने बहस सुरु भएको छ। नेकपामा संस्थापन समूहमध्ये झलनाथ खनाल र माधव नेपाल समूह एमालेमै फर्किने निर्णय गरेसँगै माओवादी शक्तिबिच एकता हुनुपर्ने मत पनि बलियो बन्दै गएको छ।

गत वैशाख ८ गते प्रधानमन्त्री केपी शर्मा ओलीले दल बिभाजनसम्बन्धि अध्यादेश ल्याएर नेकपा र संघीय समाजवादी पार्टी फुटाउन खोजेपछि प्रचण्ड, डा. बाबुराम भट्टराई, मोहन वैद्य लगायतका नेताहरुबिच पटकपटक छलफल हुँदै आएको छ। वैशाख ८ यता प्रचण्ड र डा. बाबुराम भट्टराईबिच संयुक्त मोर्चाको बाटो हुँदै पार्टी एकतासम्म पुग्ने विषयमा पटकपटक कुराकानी भएको बताइन्छ।

प्रचण्डसँग नेकपा (क्रान्तिकारी–माओवादी) का महासचिव मोहन वैद्य, नेकपा (माओवादी केन्द्र) का संयोजक गोपाल किराँती लगायतका नेताहरुले औपचारिक अनौपचारिक रुपमा कुराकानी गरिसकेका छन्। तर, एकताबारे कुनै औपचारिक सहमति जुटिसकेको छैन।

निर्वाचन आयोगमा नेकपा (माओवादी केन्द्र) दर्ता गरेको पूर्वमन्त्री गोपाल किरातीले सबै माओवादी समूहका नेताहरुलाई एकीकरणका लागि पत्राचार गरिसकेका छन्। किरातीको पत्र पाएपछि प्रचण्ड समूहका नेताहरुले किरातीसँग छलफल अघि बढाइसकेका छन् । यता नेकपा माओवादी केन्द्र र एमालेको नेपाल समूह प्राविधिक जटिलता फुकाएर फेरि एकता गर्न एकमत देखिएका छन्।

माओवादी नेता किरातीले पार्टी एकता वा मोर्चाबन्दीका लागि माओवादीका अध्यक्ष प्रचण्ड, जसपाका नेता डा. बाबुराम भट्टराई, क्रान्तिकारी माओवादीका नेता मोहन वैद्य र नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवलाई बेग्लाबेग्लै पत्र पठाएर एकताका लागि आह्वान गरेका हुन्।

किरातीको पत्राचारपछि प्रचण्ड, जनार्दन शर्मा र मात्रिका यादवले केही चरणमा छलफलसमेत चलाइसकेका छन्। किरातीको प्रस्तावमा प्रचण्ड सकारात्मक रहेको भन्दै माओवादी केन्द्रबीच एकीकरण गर्ने प्रस्ताव खुमलटारले राखेको बुझिएको छ। तर, किरातीले भने समाजवादको दिशा स्पष्ट हुनुपर्ने अडान राखेका छन्।

जनता समाजवादी पार्टीमा अध्यक्ष उपेन्द्र यादव, डा. बाबुराम भट्टराई, अशोक राई, राजेन्द्र श्रेष्ठ लगायतका नेताहरु समाजवादी कार्यदिशाका आधारमा संयुक्त मोर्चा हुँदै पार्टी एकतासम्म जान सकिने मनस्थितिमा छन्। उनीहरुले आफूहरु कम्युनिस्ट पार्टी नभई वाम लोकतान्त्रिक दलको अन्तरवस्तु दिने नाममा सहमति गरेर एकतासम्म पुग्न सकिने मनस्थितिमा छन्।

माओवादी धाराका नेताहरु अहिले विभिन्न ध्रुवमा छन्। त्यसमध्ये माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, संघीय समाजवादीका राष्ट्रिय परिषद अध्यक्ष डा. भट्टराई, विद्रोही नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव नेपालमा जनवादी क्रान्तिको मूल कार्यभार पूरा भइसकेकाले समाजवादी क्रान्तिको तयारी गर्नुपर्ने पक्षमा छन्। तर, मोहन वैद्य लगायतका नेताहरु नेपालमा जनवादी क्रान्ति पूरा भइनसकेको निष्कर्षमा छन्।

राजनीतिक कार्यदिशाका दृष्टिले प्रचण्ड र डा. भट्टराईबिच समानता देखिए पनि कम्युनिस्ट पार्टी कि गैरकम्युनिस्ट पार्टी भन्नेमा एकमत भइसकेका छैनन्। भट्टराई समाजवादी क्रान्तिको भाव दिने गरी लोकतान्त्रिक समाजवादी पार्टीको पक्षमा देखिन्छन्। तर, प्रचण्ड नेतृत्वको नेकपा (माओवादी केन्द्र) कम्युनिस्ट पार्टीबाट दायाँबायाँ गर्नसक्ने अवस्थामा छैन।

प्रचण्ड र विप्लवबिच समाजवादी क्रान्तिको कार्यदिशामा समानता भए पनि क्रान्तिको चरित्रबारे मतभेद रहँदै आएको छ। विप्लव एकीकृत जनक्रान्तिमार्फत् सशस्त्र क्रान्तिकै पक्षमा छन्। तर, माओवादी केन्द्र प्राप्त उपलब्धीलाई संस्थागत गर्दै शान्तिपूर्ण रुपमै समाजवादको तयारीमा लाग्नुपर्ने निष्कर्षमा छ।

विप्लव नेकपा पनि शान्तिपूर्ण राजनीतिमा आएको छ। विद्रोही नेकपाले यसलाई शक्ति सञ्चयका लागि बाध्यता निर्णय भने पनि वस्तुगत परिस्थितिले उनीहरु पनि शान्तिपूर्ण बाटोबाट तत्काल भाग्नसक्ने स्थिति छैन।

मोहन वैद्य, किराँती लगायतका नेताहरु पनि एक्लै रहेर फेरि क्रान्ति गर्नसक्ने स्थिति छैन। क्रान्तिका लागि क्रान्तिकारी शक्तिहरुको एकता अनिवार्य शर्त भएकाले ढिलोचाँडो सबै माओवादीहरु एकै ठाउँमा उभिने परिस्थिति बन्दै गएको छ।

प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा मुलूकलाई हरहालतमा मध्यावधि निर्वाचनमा धकेल्ने मनस्थितिमा छन्। कथमकदाचित निर्वाचन भइहालेमा अहिलेकै अवस्थमा विभाजित माओवादी शक्तिको पक्षमा बलियो जनमत सिर्जना हुन कठिन छ। यो कुरा माओवादी धाराका सबै शक्तिहरुले क्रमशः बोध गर्दै गएको देखिन्छ।

प्रचण्ड, उपेन्द्र यादव, डा. बाबुराम भट्टराई, मोहन वैद्य, अशोक राई, नेत्रविक्रम चन्द ‘विप्लव, गोपाल किराँती, आहुति लगायतका नेताहरु एकै ठाउँमा उभिएर संयुक्त मोर्चा बन्दा निर्वाचनमा क्रान्तिकारी शक्तिको बहुमत आउन सक्छ। अझ नेकपा (एमाले) को झलनाथ खनाल र माधव नेपाल पक्ष पनि एकतामा आउँदा अहिले कम्युृनिस्ट आन्दोलनमा देखिएको क्षतिलाई पूर्ति गर्न सकिन्छ।

तत्काल विप्लव नेतृत्वको नेकपाले निर्वाचनमा भाग नलिए पनि मूल माओवादी शक्ति र एमाले क्रान्तिकारी शक्तिबिच एकता हुँदा २०७४ को निर्वाचनभन्दा राम्रो नतिजा आउन सम्भव छ। त्यही जनमतका आधारमा समाजवादी क्रान्तिकाे तयारीसमेत सम्भव देखिन्छ। यही विश्लेषणका साथ माओवादी धाराको दोस्रो पुस्ताका नेताहरु संयुक्त मोर्चा हुँदै पार्टी एकतासम्मको पहलमा जुटेका छन्।
@lokpati

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP