शनिबार , भाद्र १३, २०८३

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड संक्रमण रोकथामका लागि लकडाउन नहुने स्पष्ट पारेका छन् । कोभिड–१९ को दोस्रो लहरबाट जोगिनुपर्ने अबस्था सँगसँगै आर्थिक सामाजिक क्रियाकलापलाई नियमित गर्नुपर्ने भएकाले स्वास्थ्य मापदण्डलाई कडाईका साथ पालना गराउने तर लकडाउन र सीमानाका बन्द नगरिने बताएका हुन् । बिहीबार कुरा गर्दै अर्थमन्त्री पौडेलले कोभिड रोकथामका लागि सीमानाका बन्द गर्ने अथवा लकडाउन गर्ने सरकारको सोच नभएको बताएका हुन् ।

उनले भने, ‘हामी आशंकाबाट होइन यथार्थबाट निर्देशित भएर अगाडि बढ्नुपर्छ । सरकारको सोच के हो भने कोभिडको दोस्रो लहरको चर्चा चलिरहेको छ, त्यसबाट हामी जोगिनु पर्नेछ । अर्कोतर्फ आर्थिक सामाजिक क्रियाकलापलाई नियमित र सूचारु पनि गर्नुपर्ने आवश्यकता छ । त्यसकारणले हामी आर्थिक, सामाजिक क्रियाकलापलाई सूचारु पनि गर्छौं, नियमित पनि गर्छौं र स्वास्थ्य मापदण्डलाई ख्याल गरेर अगाडि बढ्छौँ । अहिले सरकारले सीमानाका बन्द गर्ने, लकडाउन गर्नेतर्फ सोचेको छैन । त्यो अहिले उपयुक्त पनि हुँदैन ।’

अर्थमन्त्री पौडेलले सरकार बजेटको तयारीमा जुटिसकेको पनि बताए । सिद्धान्त र प्राथमिकताको तयारी अन्तिम चरणमा पुगेको र बजेटको तयारी पनि शुरु भइसकेको बताए । कोभिड पछिको आर्थिक पुनरउत्थान, रोजगारी सिर्जना लगायतका विषयमा केन्द्रीत भएर बजेट निर्माण गरिने पनि अर्थमन्त्री पौडेलले बताए । उनले भने, ‘हामी बजेटको तयारीमा जुटेका छौं । सिद्धान्त र प्राथमिकताको तयारी करिब अन्तिम चरणमा आइपुगेको छ । सँगसँगै हामी बजेटको तयारीमा पनि जुटि नै रहेका छौं । समग्रतामा पछि बताउँला, उपयुक्त समयमा चर्चा गरौंला । मुख्य गरिकन हामी कोभिड पछिको आर्थिक पुनरउत्थान, रोजगारी सिर्जना जस्ता विषयहरुमा बढ्ता केन्द्रीत हुन्छौं । नेपाली अर्थतन्त्रलाई पुरानो लयमा फर्काउन र गतिशील बनाउनका लागि गर्नुपर्ने निर्णयहरु लिने गरी बजेट लिएर आउँछौं ।’

राष्ट्रिय प्राथमिकताका विषयहरुलाई निश्चित गर्ने र बजेट कार्यान्वयनलाई सुनिश्चितता गर्ने कुरालाई ध्यान दिएर बजेट निर्माण गरिने पनि अर्थमन्त्री पौडेलले स्पष्ट पारेका छन् । उनले भने, ‘अहिले हामी दुईवटा कुरामा केन्द्रीत हुन चाहिरहेका छौं । बजेटले राष्ट्रिय प्राथमिकतालाई ठिक ढङ्गले चिनेर आउँछ ।

राष्ट्रिय सन्दर्भमा प्राथमिकताहरु ठिक ढंगले निश्चित गरेर आउँछ । दोस्रो, बजेट कार्यान्वयनको सुनिश्चितता गरिन्छ । दुईवटा कुरामा हामी बढी ध्यान दिन्छौं । आजको हाम्रो प्राथमिकता के हो, त्यो कुरामा हामी बढी होसियार हुन्छौं । बजेट सार्वजनिक गरेर मात्रै हुँदैन त्यसको प्रभावकारी कार्यान्वयन धेरै महत्वपूर्ण विषय हो । त्यसकारणले कार्यान्वयनको सुनिश्चितता कसरी हुन्छ । यी दुईवटा चिजमा हामी केन्द्रीत हुन्छौं ।’ कोरोना भ्याक्सिन खरिदका लागि बजेटको अभाव हुन नदिने पनि अर्थमन्त्री पौडेलले स्पष्ट पारेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP