मंगलबार , बैसाख २९, २०८३

प्रतिगमनका विरुद्ध हिजो सडकमा रहेका शक्तिहरूको दायित्व हो कि संसद् पुनःस्थापना भएपछि नेतृत्व दिने र राज्यलाई सञ्चालन गर्ने । यिनले त्यो दायित्व लिनुपर्छ । लिँदैनौं भन्ने हो भने प्रतिपक्ष होइनौं, सरकारकै एउटा शाखा हौं भन्नुपर्ने हुन्छ ।
चैत्र ११, २०७७जयसिंह महरा

काठमाडौँ — प्रतिनिधिसभा पुनःस्थापनापछि प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार कायमै रहन्छ कि ढल्छ भन्ने अन्योल थियो । तर, पुनःस्थापित प्रतिनिधिसभाको पहिलो दिनको बैठकअघि सर्वोच्च अदालतले गरेको फैसलाबाट नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ब्युँतिएपछि प्रधानमन्त्री ओली झन् शक्तिशाली भए ।

यस्तो अवस्थामा ओलीको विपक्षमा रहेका कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) र माओवादी केन्द्रले विकल्प दिन सकेका छैनन् । यसमा जसपाको भूमिका कस्तो हुने भन्ने आशंका दिनदिनै बढिरहेको छ । जसपाको एक धार प्रधानमन्त्री ओलीसँग सत्ता सहकार्य गर्न सकारात्मक देखिएको र अर्को पक्ष कुनै पनि हालतमा त्यसो गर्न नहुने भन्ने धारणा राख्दै आएको छ ।

यस्तो अवस्थामा जसपा कसरी अगाडि बढ्छ भन्ने विषयमा अध्यक्ष उपेन्द्र यादवसँग कान्तिपुरका लागि जयसिंह महराले गरेको कुराकानी :

प्रतिनिधिसभा पुनःस्थापनापछि नेपाली राजनीतिले ‘कोर्स’ फेर्ने र असंवैधानिक संसद् विघटन गर्ने पक्ष कमजोर हुने भन्ने तपाईंहरूको दाबी थियो तर परिणाम ठीक विपरीत छ, यसलाई कसरी हेरिरहनुभएको छ ?

पहिलो कुरा त संसद् विघटन असंवैधानिक कार्य थियो । संघीय गणतन्त्र, लोकतन्त्र र ठूलो बलिदान दिएर प्राप्त भएका उपलब्धि धरापमा पर्न थालेका थिए । संसद् पुनःस्थापनाबाट लोकतन्त्र, संघीयता जोगिएको छ र प्रतिगमनबाट मुलुक अगाडि बढिसकेको छ । यद्यपी प्रतिगमनका खतराहरू अझै छँदै छन् । मुलुक भने ट्र्याकमा आएको छ ।

संसद्लाई सञ्चालन गर्ने र बिजनेस दिने कार्य सरकारको हो । सरकारले कुनै पनि बिजनेस संसदलाई दिइराखेको छैन । अहिले पनि प्रधानमन्त्री केपी शर्मा ओली संसद् विघटन गरेको मुडमै हुनुहुन्छ । यो विघटन गरेको संसद् कहाँबाट आइपुग्यो ? यसलाई फेरि फेल गरेर देखाउँछु भन्ने अवस्थामा प्रधानमन्त्री अगाडि बढेर त्यो खालका क्रियाकलाप देखा परे भने संसद् कसरी परिचालन हुन्छ ?

दोस्रो कुरा संसद् सार्वभौमसत्ता सम्पन्न जनताको प्रतिनिधिमूलक संस्था हो । संसद्को अहिले अपमान भएको छ । सरकारले बिजनेस नदिने र संसदको विरुद्ध अभिव्यक्ति दिने काम भइरहेको छ । राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकमा पनि प्रधानमन्त्रीले संसद् विघटन ठीकै थियो अब फेरि संसद् भंग गर्ने र मध्यावधी निर्वाचनमा जाने भन्ने अभिव्यक्तिले संसदीय लोकतन्त्रलाई आत्मसाथ नगरेको जस्तो देखिन्छ । त्यसकारण राज्य, सरकार र प्रधानमन्त्री नै संसद्को विरुद्ध उभिएपछि संसद्ले जटिलता फेस गर्नुपर्ने देखिन्छ । अर्कोतर्फ दलहरू विभाजित मानसिकतामा हुनु र स्वयम् सत्तारुढ दल तीन टुक्रा हुनु, विभाजित कतिपयको कानुनी र वैधानिक प्रक्रिया नपुगेको संक्रमणको अवस्थामा अलिकति सिथिलता, अलिकति उपलब्धिपूर्ण हुन नसक्नु स्वाभाविक हो । तर यो क्षणिक हो सधैंका लागि रहँदैन ।

प्रधानमन्त्रीका अभिव्यक्तिले सर्वोच्च अदालतको फैसलाको अवहेलना भएको भन्न खोज्नुभएको हो ?

सर्वोच्चको फैसलालाई मानिदिएको हो । उलंघन गरेनौं मानिदिएँ भन्नुभएको छ । तर, संसद्लाई सफल बनाउने बिजनेस दिने र संसदीय प्रक्रिया अगाडि बढाउने कार्यमा त उहाँको सहयोग देखिँदैन ।

संसद् पुनःस्थापना हुनुपर्ने माग राख्नेहरूले नै प्रतिनिधिसभामा बाधा पुर्‍याएका हुन् भनेर प्रधानमन्त्री भन्दै आउनुभएको छ नि ?

राज्यका तीनवटा अंग कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका छन् । यी तीनवटा अंगमा कुनै एउटा अंगले चाह्यो भने अर्कोमा डिस्टर्ब गरिदिन सक्छ । एकछिनको लागि सरकारले चाह्यो भने न्यायपालिका र व्यवस्थापिका डिस्टर्ब हुन्छ । संसद्ले चाह्यो भने कार्यालिका र न्यायपालिका डिस्टर्ब हुन्छ । न्यायपालिकाले चाह्यो भने अरु डिस्टर्ब हुन्छ । यी ‘कोर्डिनेटेड’ र ‘इन्डिपेन्डेन्ट’ अंग हुन्, राज्यका । अब कार्यपालिकाले संसद्लाई चल्न नदिने मानसिकता बनायो भने संसद् कसरी चल्छ ? संसद् त सरकारसँग जोडिएको हुन्छ । सरकारले निर्वाह गर्नुपर्ने भूमिका पूरा नगरेको र संसद्लाई वास्ता नगरी फेरि विघटन गरेर जसरी पनि आफ्नो इच्छा पूर्ति गर्न प्रधानमन्त्री नै लागिसकेपछि संसद् कसरी चल्ने ?

त्यसो हो भने सरकारको समर्थन तर विरोध गरिरहेको प्रतिपक्षी माओवादी केन्द्रसहित कांग्रेस र जसपा एकजुट हुन किन नसकेको हो ?

त्यसका प्रयास भइरहेका छन् । आउने दिनमा यी तीन दल एकजुट हुन्छन् र ओलीको सरकार ढल्छ ।

यति समय किन लागिरहेको छ ?

आशंकाहरू छन् । माओवादीप्रति कांग्रेसको आशंका, हाम्रो कांग्रेसप्रतिको आशंका र कांग्रेसको हामीप्रतिको आशंका । भोलि के हुने हो र नहुने हो भन्ने आशंका । त्यो आशंका हट्ने बितिक्कै अविश्वासको प्रस्ताव दर्ता हुन्छ र पारित हुन्छ ।

यसका लागि के तयारी भइरहेको छ र कति समय लाग्छ ?

समय लाग्न सक्छ । के हुने रहेछ भने २०१७ सालमा राजा महेन्द्रले संसद् भंग गरे । मन्त्रिपरिषद् विघटन गरे र राजनीतिक दलमाथि प्रतिबन्ध लगाए । त्यो त ठूलो ‘कू’ थियो । त्यो ‘कू’लाई समाप्त पार्न कांग्रेस र कम्युनिस्ट मिलेर संयुक्त जनआन्दोलन गर्नुपर्छ भनेर त्यतिखेरै कमरेड पुष्पलालले भन्नुभयो । कांग्रेससँग मिलेर आन्दोलन गर्न प्रयास गर्नुभयो । तर आन्दोलन गर्नका लागि कांग्रेस र कम्युनिस्टलाई ३० वर्ष लाग्यो । ३० वर्षपछि कांग्रेस कम्युनिस्ट मिले, निरंकुशतन्त्र अन्त्य भयो । पुष्पलालको प्रयासको ३० वर्षपछि रिजल्ट आयो । अहिले ३० वर्ष नभनौं केही समय त लाग्न सक्छ ।

कांग्रेसले तपाईंहरूलाई किन विश्वास नगरिरहेको हो ?

यसको जवाफ त कांग्रेसले नै दिने हो । तर कांग्रेस अगाडि किन नसरेको हो ? विपक्षीको भूमिका विगत तीन वर्षदेखि किन ननिभएको हो ? तीन वर्षदेखि मुलुक प्रतिपक्षविहीन जस्तो देखिन्छ । बरु सत्तारुढ दलकै सांसदहरूले प्रतिपक्षको भूमिका निभाइदिएका थिए । लोकतन्त्र, संसदीय व्यवस्था रक्षाका लागि कांग्रेसले जुन भूमिका निर्वाह गर्नुपर्थ्यो त्यो आफै सिथिल के कारणले भएको हो ? यसको रहस्य के हो ? भन्ने कुरा आम जनताले सोचिराखेको छ ।

प्रतिपक्षलाई ‘पिएम इन वेइटिङ्’ पनि भनिन्छ…

‘पिएम इन वेइटिङ’ भनेको उसको भूमिकामा निर्भर हुन्छ । नत्र त ‘वेइटिङ’मा मात्रै रहिरहन्छ । ‘वेइटिङ’ भनेको ‘वेइटिङ फर एक्सन’ हो, ‘अलवेज वेइटिङ्’ मात्रै त होइन । त्यहाँनेर एउटा गडबड छ ।

विगतमा माओवादी र कांग्रेसका बीच जेजस्ता सम्बन्ध थिए त्यसले पनि एकअर्कालाई शंकाले हेर्ने स्थिति कहिँ न कहिँ देखा परेको छ । यति हुँदाहुँदै पनि बिस्तारै यो स्पष्टतातिर जान्छ । समयले स्पष्टतातिर लैजान्छ र सहकार्य, सहयोगबाट सरकार परिवर्तन हुन्छ ।

प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले अविश्वासको प्रस्ताव नल्याउने र सरकारमा पनि नजाने भन्नुभएको, उहाँको मुड गठबन्धन निर्माणमा देखिन्न नि ?

प्रतिपक्षको भूमिका निर्वाह नगरेको भनेको यहिँ हो । उहाँको भूमिका केपी ओलीको पार्टीको ‘स्याटेलाइट’को जस्तो भयो । उहाँले छायाँ सरकार पनि बनाउनुभएको हो । छायाँ सरकार भनेको रहेको सरकार असफल भएदेखि छायाँ सरकारले साच्चैको सरकारको भूमिका लिने हो । त्यो कुरा अरुले भनिराख्नुपर्छ र ? त्यो भूमिका र भनाइ त मिल्दैन । यसमा तारतम्य हुनुपर्छ ।

तर उहाले प्रधानमन्त्री बन्नै नचाहेको जस्तो देखिन्छ नि ?

त्यो के हो मैले बुझ्नै सकेको छैन । तर, उहाँको पार्टीका नेताहरूले मुलुक संकटमा परेको बेला कांग्रेसले भूमिका खेल्नुपर्छ भनिरहेका छन् ।

जसपाले कांग्रेससँग पनि वार्ता गर्‍यो, कांग्रेसको भनाइ के पाउनुभयो ?

कांग्रेसमा कहिँ न कहिँ कन्फ्युजन छ । त्यो हटेपछि उहाँहरू अगाडि कस्सिएरै आउनुहुन्छ ।

माओवादी केन्द्रको पनि कुरा उठाउनुभयो, जसपा र माओवादीबीच नयाँ सरकार बनाउनेबारे समझदारी भइसकेको हो ?

समझदारी भइसकेको त होइन तर एउटा मिल्दोजुल्दो कुरा के छ भने अहिलेको सरकारको विकल्पमा जानुपर्छ । यदि नेपाली कांग्रेस अगाडि आउँछ भने ‘ओके’ अगाडि बढौं भन्ने हो । आउँदैन भने अरुलाई अगाडि बढाउँ । तर यो त गणितको कुरा हुन्छ । गणितमा कांग्रेसबिनाको विकल्प बन्दैन । माओवादीबिना पनि विकल्प बन्दैन र हामीबिना पनि विकल्प बन्दैन । तीनवटै मिल्यो भने बलियो विकल्प हुन्छ ।

एउटा अर्को विकल्प पनि होला नि, अहिलेका प्रधानमन्त्री ओलीलाई नै तपाईं तीन दलमध्ये एकले समर्थन दिने ?

त्यो विकल्प हामीकहाँ छैन । केपी ओली प्रतिगमनकारी हुन्, उनले संघीयताका विरुद्धमा कदमहरू चालिसकेका छन् । जस्तो भनौं न प्रदेशलाई केन्द्रको इकाइ भन्दिने, कहिले क्याबिनेटबाट निर्णय गरेर संघीय लोकतान्त्रिक गणतन्त्र लेख्न नपाइने भन्ने, कहिले प्रेस ऐन ल्याएर प्रेस स्वतन्त्रता हनन् गरिदिने । विगतमा मधेस आन्दोलन हुँदा भटाभट मान्छे मार्ने र दुईचारवटा आँप झरेर गयो भन्ने, मधेस विरोधी नारा लगाएर पहाडमा जनतालाई गुमराहमा पारी नक्कली राष्ट्रवादी बनेर चुनाव जित्ने, विगतका यी सम्पूर्ण क्रियाकलाप हेर्दा उहाँलाई विश्वास गर्ने आधार केही पनि छैन । एकपटक प्रचण्डजी र हामीहरू मिलेर दुई तिहाइ पुर्‍याएर संविधान संशोधन गर्नुपर्‍यो भन्दाखेरि पनि कागज गरेरै गएको हो । उहाँले त्यो हस्ताक्षर ७ महिनापछि उल्ट्याइदिनुभयो । उहाँको वचन प्रतिबद्धता उहाँले गरेका हस्ताक्षर सहमतिहरू सबै उल्ट्याउनुहुन्छ एकैछिनमा । अब उहाँमाथि विश्वास गर्ने आधार के हो ? कुनै आधार त हुनुपर्‍यो नि टेक्ने ? कहाँनेर टेक्ने ?

जसपा र सरकारबीच मंगलबार भएको छलफलमा झन्डैझन्डै सहमति भइसक्यो भन्ने कुरा आएको थियो नि ?

त्यो बाहिर हल्ला फिजाइएको मात्रै हो ।

तपाईंहरूकै पक्षबाट किन हल्ला फैलाइएको हो ?

हाम्रोबाट छैन । अध्यक्ष महन्थ ठाकुरले प्रष्टसँग भन्नुभएको छ कि केबल राजबन्दी रिहाइ र मुद्दासम्बन्धि कुरा हो । त्यहाँभन्दा बाहिर राजनीतिक कुरा हुँदैन । प्रष्टसँग भनिसकेपछि त कुरा सकियो । अन्यथोक हल्ला गरेर के हुन्छ ?

ओलीको सरकारमा जाने वा नजाने भन्नेमा जसपा अन्तरविरोधमा परेको हो ?

कुनै अन्तरविरोध छैन । जसपाको निर्णय छ कि ओलीको कदम प्रतिगमनकारी हो । अलोकतान्त्रिक र असंवैधानिक हो । प्रतिगमनकारी सरकारलाई हठाउनुपर्छ भन्ने एकमत निर्णय भएर विज्ञप्ति जारी गरेर यहाँहरूले पाएकै हो ।

जसपाका नेताहरूले भनिरहेको कि हाम्रा पाँच माग पूरा गरे सरकारमा जान्छौं, त्यो सम्भव छ ?

राजबन्दी रिहाइको कुरा हो । २०३६ सालमा राजा वीरेन्द्रले आम माफी दिए । आममाफीमा छुटेपछि हामी कोही पनि राजावादी भएनौं नि । हामीले त राजालाई भनेका थिएनौं कि हामीलाई माफी देउ र हामी राजावादी बन्छौं । त्यसपछि पटकपटक आन्दोलन भए । म नै कतिपटक जेल परे । कतिपटक मुद्दा झेलियो । कतिपय जितियो र कतिपय हारियो । तर, हामी फेरि निर्दलीयतालाई स्वीकार्ने राजतन्त्रलाई स्वीकारेनौं । र आन्दोलन अगाडि बढ्यो ।

मुद्दा खारेजी भनेको राज्यको दायित्व हो । राजनीतिक समस्याहरूको समाधान राजनीतिक तवरले खोजिनुपर्छ । फौजदारी अभियोग लगाएर नेताहरूलाई जेलमा थुनेर संसारमा कुनै पनि समस्या हल भएको छैन । यहाँ पनि हुन्न । अहिले राज्यलाई भनेको हो प्रधानमन्त्रीलाई भनेको हो कि तुरुन्त जेलबाट रिहा गर र मुद्दा खारेज गर । यसको बदलामा सरकारले गरेका सबै कुकर्महरू हामी बोकेर सती जान भन्या होइन । यो लेनदेनको विषय होइन । यो राजनीतिक विचार परिवर्तनको विषय होइन । सहकार्य त मुद्दा विचार लक्ष्य प्राप्तिमा गरिन्छ नि । तर त्यसपछि उहाँसँग सहकार्य गरेर के लक्ष्य प्राप्त गर्ने ? उहाँ संघीयताविरुद्ध हुनुहुन्छ हामी संघीयता संरक्षण गर्न चाहन्छौं । उहाँ धर्मनिरपेक्षताको विरोध गर्नुहुन्छ हामी संस्थागत गर्न चाहन्छौं । हामी समावेशी लोकतन्त्र चाहन्छौं उहाँ समावेशिताको पक्षमा हुनुहुन्न । के का लागि सहकार्य गर्ने ? मुद्दा के हुने ? अनि कहाँ पुग्ने ? पुग्ने कहाँ हो त्यो ठाउँ हुनुपर्‍यो नि ? गन्तव्य के हो ?

कसै-कसैलाई भ्रमवश यो लाग्ला कि ठूल्ठूलो मन्त्रालय दिने भयो, के के दिने भयो भनेर । त्यो राजनीतिक गन्तव्य होइन । कसै-कसैलाई लाग्ला कि जसपा फुटेर पनि जान्छ । म स्पष्ट भन्न चाहन्छु कि विगतमा मधेसी जनअधिकार फोरम नेपाल चार पटक फुटाइयो । फुटाउनेहरूले ठूलो लगानी गरे तर के पाए ? केही पाएनन् । अहिले के पाएका छन् भनेर सोध्नुस् त उहाँहरूलाई । अर्को कुरा जो फुटेर गए ती कहाँ छन् अहिले ? ती अस्तित्वविहीन भएर गए । यस्तो हेर्दाहेर्दै कुन चाहिँ ओलीजस्तो असफल, अदूरदर्शी नेताको पछि आत्महत्या गर्लान्, सती जालान् ? कोही सती जानेवाला छैन । त्यो भ्रममा नपरे हुन्छ ।

तपाईंका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो कार्यदलका सदस्य लिएर प्रधानमन्त्रीसँग वार्तामा जानुभएको थियो । तपाईंले भनेजस्तो हुन्थ्यो भने त कांग्रेस र माओवादीसँग छिटो सहकार्य गरौं भन्नुपर्ने होइन र ?

हाम्रो स्पष्ट भनाइ छ कि यो प्रतिगमनका विरुद्ध हिजो सडकमा रहेका शक्तिहरूको दायित्व हो कि संसद् पुनःस्थापना भएपछि नेतृत्व दिने र राज्यलाई सञ्चालन गर्ने । यिनले त्यो दायित्व लिनुपर्छ । लिँदैनौं भन्ने हो भने प्रतिपक्ष होइनौं, सरकारकै एउटा शाखा हौं भन्नुपर्ने हुन्छ । प्रतिपक्षको धर्म, भूमिका निर्वाह गर्नबाट पछाडि हटेको ठहर्छ । त्यो कुरा जनताले बुझ्छन् । प्रतिपक्षमा हुँदा पनि खुट्टा टेक्ने प्रतिपक्ष त होस् । लम्पसार पर्ने प्रतिपक्ष जनताले रुचाउँदैनन् । पार्टी नै सबैथोक होइन, सर्वशक्तिमान त जनता हुन् । नेपाली जनता त्यो हुन् जसले राणा, निरंकुश निर्दलीय व्यवस्था र राजतन्त्र फाल्यो र गणतन्त्रमा पुर्‍यायो । यी जनताले भोलि प्रतिगमनकारी शक्तिलाई पनि परास्त गर्छन् र अगाडि बढ्छन् । अहिले एकाध दलले छुट दिँदैमा टिक्ने त होइन नि ।

प्रधानमन्त्रीले भन्दै आउनुभएको छ कि मबाहेक अर्को प्रधानमन्त्री निर्वाचित हुन सक्दैन, यो संसद्ले न त विकास न सरकार दिन सक्दैन । यो कुरा नै पुष्टि हुँदै गएको छ नि ?

यो कुरा संसद्‍बाट निर्वाचित प्रधानमन्त्रीले भन्नु भनेको संसद्को अपमान गर्नु हो । संसदीय लोकतन्त्रको अपमान गर्नु हो । यो दम्भ, अहंकार र स्वेच्छाचारी प्रवृति स्पष्ट देखा परेको हो ।

संसदले न सरकार दिन सकेको न सरकारले संसदलाई बिजनेस दिइरहेको छ । यस्तो अवस्थामा संसद् कसरी अगाडि बढ्छ ?

संसद्ले केपी शर्मा ओली नेतृत्वको सरकारलाई फालेपछि मात्रै संसद् गतिशील भएर अगाडि बढ्छ । नत्र संसद् अगाडि बढ्दैन भन्ने देखियो । प्रधानमन्त्री संसद्लाई फेल पार्न सफल हुनु भनेको आफैं असफल हुनु हो । संसद्को माध्यमबाट लोकतन्त्र संस्थागत गर्ने राष्ट्र निर्माण अगाडि बढाउने विधि र कानुनको निर्माण गर्ने संविधान संशोधन गर्ने सार्वभौम सत्तासम्पन्न जनताको प्रतिनिधिमूलक संस्थालाई जति सफल बनाइन्छ नि लोकतन्त्र त्यति सफल हुन्छ । जति असफल पारिन्छ लोकतन्त्र त्यति धराशयी हुँदै जान्छ । यो कार्य पहिलेको जमानामा राजा महाराजाले गर्ने हो । राजा महेन्द्रले कमजोर बनाए त्यो बेलाको संसद्लाई पछि गएर अरु राजाहरूले पनि कमजोर बनाए । संसद् त विघटन पटकपटक भयो र कमजोर पारियो । अन्तत्वगत्वा के भयो भने त्यो कमजोर बनाउने शक्ति नै धराशयी भयो र संघीय लोकतान्त्रिक गणतन्त्रमा नेपाल गयो । यो जुन दुस्साहस गरिराख्नुभएको छ र जुन दम्भ उहाँको छ यसले देश र जनताको हित गर्दैन ।

फेरि जसपाकै कुरा गरौं, यो पार्टीका यति सांसद ओली सरकारलाई समर्थन दिन तयार छन् भनिरहेका छन् नि ?

मलाई त लाग्छ कि उनीहरूले एउटा पनि सांसद नभेट्टाएर यो प्रचारबाजी गरेका हुन् । कोही सांसद देख्दिन कि उहाँहरूको सति जानलाई । कोही सति जान तयार देख्दैन, खोइ त ?

सरकारले तपाईंहरूका माग पूरा गर्न सकारात्मक छौं भनिरहेको सरकारका प्रधानमन्त्रीले सरकार टिकाउन अनुचित सम्झौता गर्दैन भन्नुभएको छ नि ?

हामीले अनुचित सम्झौता गर्न भनेका होइनौं । २०४२ र ०४६ सालको आन्दोलनमा हामी जेलमा थियौं । २०४६ सालका कुरा गर्ने हो भने त्यतिबेला राजाले दलहरूलाई बोलाएर तपाईहरूका माग पूरा गरिदिन्छौं भनेका हुन् । त्यतिखेरको माग थियो दलमाथिको प्रतिबन्ध हटाउने र बहुदलीय व्यवस्था घोषणा गर्ने । राजाले भयो भनिदिए । त्यसको बदलामा मलाई स्वीकार गर, आफ्ना पार्टीका विचार त्याग त भनेन नि ! कांग्रेसले आफ्नो विचार त्याग्ने, वाममोर्चाले कम्युनिस्ट पार्टीको विचार त्याग्ने अनि राजाले बहुदल पुनःस्थापना गरिदिने भनेर सौदाबाजी त गरेका थिएनन् । अहिलेको प्रधानमन्त्रीले त्यसरी सौदाबाजी गर्न मिल्छ ? राज्यले गर्नुपर्ने काम गर्दाखेरि अरुसँग सौदाबाजी गर्ने ? यो सुहाउँदैन । यो ‘ब्ल्याकमेलिङ’ हुँदैन ।

अन्त्यमा, अबको केही समयमा कांग्रेस, माओवादी र जसपाको गठबन्धनको सरकार बन्छ कि ओलीलाई नै थप शक्तिशाली बनाउनुहुन्छ ?

ओली सरकारको बहिर्गमन देश र जनताको हितमा छ । संघीय गणतन्त्र बचाउने र परिवर्तन जोगाउने हो भने अहिलेको सरकारको बहिर्गमन आवश्यक छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP