मंगलबार , बैसाख २९, २०८३

अहिलेकै अवस्थामा केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्न नसकिने निचोडमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पुगेका छन्।

नेकपा एमालेका अध्यक्ष ओलीलाई पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको माओवादी केन्द्रले समर्थन जारी नै राखेकाले अहिले सरकार ढाल्न नसकिनेमा देउवाको विश्लेषण छ।

‘सर्वोच्चको फैसलाले नेकपालाई एमाले र माओवादी केन्द्र बनाइदिएको छ। दुइटै पार्टी सरकारमा छन्, त्यसैले यो संयुक्त सरकार हो,’ मंगलबार धरानमा देउवाले भने, ‘प्रचण्डजीले मन्त्री फिर्ता बोलाएका छैनन्, ओलीजीले माओवादीका मन्त्रीहरू हटाएका छैनन्।’

पार्टी दुई भएको यति दिन बित्दा पनि माओवादी केन्द्रले ओली सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन। मन्त्रीहरूलाई फिर्ता आउन भनेको लामो समय भइसक्यो तर कुनै मन्त्री फिर्ता भएका छैनन्।

प्रचण्डले समर्थन फिर्ता नलिँदासम्म ओली सरकार बहुमतमा रहने देउवाको बुझाइ छ।

यसबारे देउवाले कार्यकर्तालाई बुझाउने प्रयास पनि गरिरहेका छन्। मंगलबार धरानमा उनले भने, ‘अब फेरि नयाँ कुरा आएको छ- शेरबहादुर केही बोलेन भन्नुहोला। प्रधानमन्त्री पाउँदा पनि खाँदैन भन्या छन् यहाँ, त्यस्तो हल्ला छ नि।’

देउवाले राजनीतिक परिस्थिति बुझ्न नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन्।

‘माओवादी मन्त्रीहरू फिर्ता आएका छैनन्। मन्त्री नै छन्,’ देउवाले भने, ‘यो संयुक्त सरकार हो। यो जतिबेलासम्म संयुक्त रहन्छ, त्यसबेलासम्म बहुमतकै हुन्छ। हामीले चाहेर पनि प्रधानमन्त्री बन्न सकिन्न।’

यस्तो परिस्थितिमा आफूले फस्ने काम नगर्ने देउवाले बताएका छन्।

‘तपाईंहरूले कुरा बुझ्नुभयो नि- शेरबहादुरले प्रधानमन्त्री खाँदै खाँदैन भन्छ बा, त्यो कुरा होइन। म फस्ने काम त गर्नु भएन नि!’

प्रधानमन्त्री ओलीसँग बहुमत हुँदाहुँदै निहुँ खोज्ने काम गर्न नहुने पनि उनको भनाइ छ।

‘जबसम्म बहुमतको सरकार छ, तबसम्म हामीले निहुँ खोज्ने काम गर्नु भएन। हामी विपक्षी पार्टी हो। यो बेला संगठन बनाउने हो। लड्ने हो, भिड्ने हो। आगामी दिनका लागि खट्ने हो,’ उनले कार्यकर्ताहरूलाई भनेका छन्।

प्रधानमन्त्रीका लागि आफू मरिमेटेर नहिँडेको पनि देउवाको दाबी छ।

‘मैले भनेकै छु- प्रधानमन्त्रीका लागि मरिमेट्ने छैन तर टाउकामा आयो भने भाग्नेवाला पनि छैन,’ देउवाले पछिल्लो समय यही कुरा दोहोर्‍याइरहेका छन्।

प्रधानमन्त्री ओलीविरूद्ध अविश्वास प्रस्ताव ल्याउन अहिले समय परिपक्व भइनसकेको पनि देउवाको विश्लेषण छ।

सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा भएको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा प्रधानमन्त्री ओलीले असंवैधानिक काम गरिरहेकाले यो सरकार गिराएर नयाँ सरकार बनाउन अग्रसरता लिन वरिष्ठ नेता रामचन्द्र पौडेलले आग्रह गरेका थिए।

देउवाले अहिले समय परिपक्व नभइसकेको जवाफ दिएका छन्।

देउवाले किन समय परिपक्व भएको छैन भनिरहेका छन्? उनीनिकट कांग्रेसका एक नेता भन्छन्, ‘जुनसुकै बेला राजनीतिक घटना क्रम कोल्टो फेर्न सक्छ। सग्लो जसपा टुक्रिन सक्छ। राजपा ब्युँतियो भने ओली सरकार टिकाउन भूमिका खेलिदिन सक्छन्। त्यसै भएर सभापतिज्यूले सबै परिस्थितिको गहिरोसँग आकलन गर्नुपर्छ भनिरहनुभएको छ।’

अर्कोतर्फ देउवाले राम्रोसँग प्रचण्डको भर नपरेको पनि ती नेता दाबी गर्छन्।

‘देउवासँग मिलिजुली सरकार भएका बेला २०७४ मा धोका दिएर प्रचण्डजी ओलीसँग मिल्नुभएको थियो। प्रचण्डजीले ओलीलाई दिएको समर्थन फिर्ता नलिएकोले पनि उहाँहरूको भर छैन,’ उनले भने।

आत्मआलोचना गरेर जुनसुकै बेला कम्युनिष्टहरू एक हुन सक्ने भएकाले पनि ओलीविरूद्ध अविश्वास प्रस्ताव लैजाने जाँगर देउवाले नदेखाएको उनी बताउँछन्।

कांग्रेसभित्र वरिष्ठ नेता पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्ष भने माओवादी केन्द्र र जसपासँग मिलेर ओली सरकारको विकल्प दिनु पर्नेमा छन्।

देउवाले भदौमा १४ औं महाधिवेशन तोकिएको र आफू फेरि सभापति उठ्ने भएकोले प्रधानमन्त्रीमा भन्दा पनि सभापतिमा उठ्ने मन गरेको ती नेताको भनाइ छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP