
काठमाडौँ । जारी आईसीसी एकदिवसीय विश्वकपमा भारत र पाकिस्तानबिचको वहुप्रतिक्षीत भिडन्त शनिबार हुँदैछ । खेल अहमादाबादस्थित नरेन्द्र मोदी स्टेडियममा खेलिने छ । भारत र पाकिस्तानबिचको खेल नेपाली समयअनुसार, दिउँसो २ः१५ बजे सुरु हुनेछ ।
विश्व क्रिकेटमा भारत र पाकिस्तानबिचको खेललाई निकै महत्वका साथ हेरिन्छ । यी दुई राष्ट्रको राजनीतिक सम्बन्धको प्रभाव क्रिकेटमा समेत पर्ने गरेको छ । त्यसैले पनि विश्वभरका करोडौँ क्रिकेट प्रेमीलाई यी दुई राष्ट्रबिचको खेलको प्रशिक्षा रहन्छ ।
यी दुवै राष्ट्रले पहिलो संस्करणदेखि नै एकदिवसीय विश्वकपमा सहभागिता जनाउँदै आएका छन् । भारत १९८३ र सन् २०११ र तथा पाकिस्तान सन् १९९२ को विश्वकप विजेता हो ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)द्वारा घोषित पछिल्लो एकदिवसीय वरीयतामा पनि यी दुई टोली नै पहिलो र दोस्रो स्थानमा छन् ।
भारत आईसीसी वरीयताको पहिलो स्थानमा छ । पाकिस्तान वरीयताको दोस्रो स्थानमा छ ।जारी विश्वकपमा हालसम्म यी दुवै राष्ट्रले दुई—दुई खेल खेलिसकेका छन् । दुवै खेलमा यी दुवै टोलीले शतप्रतिशत नतिजा निकालेका छन् । आयोजक राष्ट्र भारतले आफ्नो पहिलो खेलमा पाँच पटकको विश्वकप विजेता अस्ट्रेलियालाई ६ विकेटले पराजित गरेको थियो ।
आफ्नो दोस्रो खेलमा भारतले तुलनात्मक रूपमा कमजोर प्रतिद्वन्द्वी अफगानिस्तानमाथि आठ विकेटको जित निकालेको थियो । पाकिस्तानले भने आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्सलाई ८१ रनले हराएको थियो । दोस्रो खेलमा पाकिस्तानले श्रीलङ्कामाथि ६ विकेटको रोमाञ्चक जित हासिल गरेको थियो ।। हालसम्म भारत र पाकिस्तानबीच कुल एक सय ३४ वटा एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलिएको छ ।
त्यसमध्ये ७३ वटा एकदिवसीय खेलमा पाकिस्तानले भारतलाई हराएको छ । भारतले भने ५६ खेलमा मात्र पाकिस्तानलाई हराउन सकेको छ । यी दुई राष्ट्रबिच पाँचवटा खेल भने अनिर्णीत रूपमा सकिएका छन ।
भारतले एकदिवसीय विश्वकप इतिहासमा पाकिस्तानसँग हालसम्म हारेको छैन । यी दुई देशबीच विश्वकपमा ७ खेल भएका छन् । जसमा ७ खेलमा नै भारत विजयी भएको छ । भारत विश्वकपमा अपराजित यात्रा कायमै राख्न खोज्नेछ । पाकिस्तान विश्वकपमा भारतलाई पहिलो पटक हराउन चाहन्छ ।