
काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिता आज बिहीवारदेखि भारतमा शुरु हुँदैछ ।
एक लाख ३२ हजार दर्शक क्षमताको नरेन्द्र मोदी स्टेडियम अहमदावादमा प्रतियोगिताको भव्य उद्घाटनको तयारी छ । भारतले उद्घाटन समारोहलाई भव्य बनाउन विभिन्न कला, कौशल र प्रविधिको प्रयोग गर्ने तयारी गरेको छ । भारतले पहिलोपटक पूर्ण आयोजकको हैसियतमा प्रतियोगिता आयोजना गर्दै छ।
विश्वकपको उद्घाटन खेलमा आज दिउँसो सवा २ बजे साविक विजेता इङ्ल्यान्ड र उपविजेता न्युजिल्यान्डबीच भीडन्त हुनेछ । यो विश्वकपका खेलहरू भारतका १० वटा सहर– अहमदाबाद, धर्मशाला, नयाँ दिल्ली, मुम्बई, पुने, चेन्नई, हैदराबाद, कोलकाता, लखनउ र बेङ्गलोरमा हुनेछन् । विश्वकपमा भारत, अफगानिस्तान, अस्ट्रेलिया, बङ्गलादेश, इङ्ग्ल्यान्ड, नेदरल्यान्ड्स, न्युजिल्यान्ड, पाकिस्तान, दक्षिण अफ्रिका र श्रीलङ्का गरी १० वटा देश सहभागी छन् । दुई पटकको विश्व विजेता वेस्ट इन्डिज भने यस पटक विश्वकपमा छनोट हुन असफल भयो ।
आज अक्टोबर ५ तारिखदेखि शुरु हुने विश्वकप आउँदो नोभेम्बर १९ तारिखसम्म अर्थात ४६ दिन चल्नेछ । राउन्ड रोबिनका आधारमा प्रतियोगिता हुने भएकाले सबै देशले एक अर्कासँग खेल्नेछन् । प्रतियोगितामा १० वटा टिमबीच ४८ खेल हुनेनछ । शीर्ष चारमा पर्ने टोली सेमिफाइनलमा पुग्नेछन् ।
सन् १९७५ देखि शुरु भएको एकदिवसीय विश्वकपको यो १३ औँ संस्करण हो । हालसम्म २० देशले विश्वकप खेल्दा ६ देशले मात्रै उपाधि जितेका छन्। ।एकदिवसीय विश्वकपमा सबैभन्दा सफल टिम अस्ट्रेलिया हो, अस्ट्रेलियाले पाँच पटक विश्वकप जितेको छ । भारत र वेस्ट इन्डिजले समान दुई तथा श्रीलङ्का, पाकिस्तान र इङ्ल्यान्डले एक–एक पटक उपाधि जितेका छन् ।