
काठमाडौं । श्रीलंकालाई ४१ रनले हराउँदै भारत एसीसी एसिया कप क्रिकेटको फाइनलमा पुगेको छ ।
कोलम्बोको आर प्रेमदासा क्रिकेट स्टेडियममा मंगलबार भएको खेलमा ४१ रनले विजयी हुँदै भारत एक खेल अघि नै फाईनल प्रवेश गरेको हो । भारतले दिएको २ सय १४ रनको लक्ष्य पछ्याएको श्रीलंका १ सय ७२ बलमा अलआउट भयो ।
श्रीलंकाका लागि दुनिथ वेललेजले ४६ बलमा नटआउट ४२ रन बनाए । धनन्जय डि सिल्भाले ४१ तथा चरिथ असलंकाले २२ रन बनाए । भारतका लागि कुलदिप यादवले ४ तथा रविन्द्र जडेजा र जसप्रित बुमराहले समान २–२ विकेट लिए ।हार्दिक पाण्ड्याले एक विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले ४९ दशमलब १ ओभरमा अलआउट हुँदै २ सय १३ रन बनाएको थियो ।
भारतका लागि कप्तान रोहित शर्माले ५३ रनको अर्धशतकीय ईनिङ खेले । पहिलो विकेटका लागि शर्मा र शुभमन गिलले ६७ बलमा ८० रनको महत्वपूर्ण साझेदारी गरेका थिए । गिलले २५ बलमा १९ रन बनाए । तेस्रो विकेटका लागि केएल राहुल र ईशान किशनले ८९ बलमा ६३ रनको सानदारी साझेदारी गरेका थिए ।
राहुलले ४४ बलमा ३९ तथा किशनले ६१ बलमा ३३ रन बनाएका थिए । एक समय १ सय ५३ रनमा ३ विकेट मात्र गुमाएको भारतले ६० रन जोड्दा बाँकी ७ विकेट गुमाएको थियो । श्रीलंकाका लागि दुनिथले १० ओभरमा ४० रन खर्चिएर महत्वपुर्ण ५ विकेट लिए । उनले कप्तान शर्मा, ओपनर गिल, पूर्व कप्तान विराट कोहली, केएल राहुल र उपकप्तान हार्दिक पान्ड्यालाई आउट गरे ।
चरिथ असलंकाले ९ ओभरमा १८ रन खर्चिएर ४ विकेट लिए । महेश थिक्सनाले १ विकेट आफ्नो नाम गरे । अलराउण्ड प्रदर्शन गरेका श्रीलंकाका दुनिथ वेललेज प्लेयर अफ द म्याच भए । बिहीबार हुने पाकिस्तान र श्रीलंकाको खेलले फाइनल पुग्ने अर्को टोलीको टुंगो लगाउने छ । फाइनल खेल आईतबार हुनेछ ।