
काठमाडौँ । मनोविद्हरूले आत्महत्या रोकथाममा मानसिक स्वास्थ्य साक्षरता आवश्यक रहेको बताएका छन् ।
अन्तरध्वनी नेपालको आयोजनामा आत्महत्या रोकथाम दिवसको अवसरमा आइतबार काठमाडौँमा आत्महत्या रोकथाममा पत्रकारको भुमिका विषयक एक दिने कार्यशालामा बोल्दै मनोविद्हरूले यस्तो बताएका हुन् ।
मनोविद् पदमराज जोशीले आत्महत्या रोकथाममा समाज, शिक्षक, प्रहरी र समुदायको भूमिका रहने बताए । उनले आत्महत्या रोकथाममा कनेक्ट, केयर र कनेक्टीभिटीलाई जोड्न सक्नुपर्ने बताए ।
जोशीले प्रत्येक स्थानीय तहले सचेतना जगाउने कार्यक्रमहरु सञ्चालन गर्न जरुरी रहेको बताए । उनले सरकारले मानसिक स्वास्थ्य रणनीति बनाएपनि त्यो कार्यान्वयनमा आउन नसकेको बताए । सहरीकरणले इच्छा आकांक्षा बढ्दै जाने र इच्छा आकांक्षा समयमै समाधान हुन नसके व्यक्तिमा तनाव सृजना हुने बताए । उनले व्यक्तिले जहिलेपनि सकारात्मक सोच राख्नुपर्ने बताए ।
सहभागीहरुले आत्महत्या रोकथामका लागि समाजमा सचेतनामूलक कार्यक्रम गर्नुपर्ने बताएका छन् । विश्व स्वास्थ्य संगठनकाअनुसार हरेक वर्ष आत्महत्याका कारण आठ लाख भन्दा बढी मानिसहरुको मृत्यु हुने अनुमान छ । मनोविद्हरु आत्महत्याका समाचारको रिपोर्टिङ तथा सम्प्रेषणमा संवेदनशील र उत्तरदायी हुन आवश्यक रहेको बताउँछन् ।