मंगलबार , बैसाख २९, २०८३

काठमाडौँ । काठमाडौँको शंखमुल बस्ने मोहन दाहाललाई साता दिनसम्म आँखा पाक्ने समस्याले सतायो । सूचना समाचारका आधारमा उनले समस्या देखिएको २ दिनपछि लगातार आइसले आँखा सेके । आइसले लगातार सेक्दा राहत महसुस त भयो । तर, आइसले सेक्न छोड्नु साथ पोल्ने, दुख्ने, हेर्न झन् अप्ठ्यारो भई पाटन विज्ञान स्वास्थ्य प्रतिष्ठानमा पुगे ।

यस्तै, आँखा पाकेर पोल्दा चिसो आइस राखुन्जेल राहत महसुस भएकाले इमाडोलकी नमुना बरालले पनि लगातार सेकिन् । आइसले लगातार सेकिसकेपछि पहिलाभन्दा धेरै पोल्ने, आँखाको डिल सुनिने समस्या बढ्यो भनेर अस्पताल पुगेकी थिइन् ।

यसरी आइसले सही तरिकाले आँखा सेक्न नजानेर उल्टै थप समस्या लिएर पाटन अस्पतालको आँखा विभागमा आउने बिरामीमध्ये ५० प्रतिशत रहेको विभागका प्रमुख आँखा रोग विशेषज्ञ डा.रञ्जना शर्माले बताइन् ।

उनले भनिन्, ‘आइसले लगातार लामो समयसम्म आँखा सेकेर उल्टै थप समस्या दिएर आउने बिरामी धेरै भए ।’

यता स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले करिब दुई साताअघि आँखा पाक्ने रोग अर्थात् भाइरल कन्जंक्टिभाइटिस लागेमा के गर्ने ? भनेर जानकारीमूलक सूचना जारी गरेको थियो । सो सूचनामा भाइरल कन्जंक्टिभाइटिस रोग घरमै स्याहार गरे १ देखि २ हप्तामा आफै निको । र,  बरफले आँखा सेक्दा आँखा बन्द गरेर वा सफा रुमालमा राखेर सेक्ने भन्ने उल्लेख गरिएको थियो ।

सोही सूचनालाई आधार मान्दै घरमा बसेर आँखा बन्द गरेर बरफले आँखा सेक्दा वा सफा रुमालमा राखेर सेक्ने भनिए पनि कसरी कति पटक, कस्तो पानीको आइसले सेक्ने भन्ने पूर्ण जानकारी नराख्दा आँखामा थप समस्या बढेको आँखा रोग विशेषज्ञहरूको भनाइ छ ।

जसले आइसले लामो समयसम्म आँखा सेकेका छन्, उनीहरूमा अत्यधिक पोल्ने, दुख्ने, आँखाको डिल अत्यधिक मात्रामा सुनिने, आँखा भित्रका झिल्ली पनि सुनिने, रातोपन िझन् बढ्ने, झिल्ली फुलिएपछि दुखाई धेरै भई आउने गरेको डा.शर्माले बताइन् ।

कसरी उपचार गर्ने ? 

राप्ती अस्पतालका नेत्र विशेषज्ञ डा सुरेश रसाइलीका अनुसार  चिकित्सक र सम्बन्धित निकायबाट आँखा पाक्दा आइसले आँखा सेक्नु भनेर पठाइन्छ । त्यसपछि बिरामीले चिकित्सकहरूको भनाइअनुसार सिधै आँखामा पानी चुहाउँदै आइसले सेक्दा झन् समस्या उत्पन्न हुन्छ ।

‘बिरामीलाई सल्लाह दिँदा आइसलाई सफा पोलिथिन राखेर सफा कपडाले चारैतिर बेरेर कपडाले आफूले सहन सक्ने गरी सेक्न सल्लाह दिनुपर्थ्यो,’ उनले भने,‘आँखा पोलेर दुखेर आत्तिएका हुन्छन् । आइसले आँखा सेक्दा आनन्द पनि हुन्छ । तर, लगातार लामो समयसम्म सेक्दा थप असर गर्छ ।’

पानी चुहाउँदै लामो समयसम्म एकोहोरो आइसले मात्रै सेक्दा सङ्क्रमण भएको आँखामा थप समस्या उत्पन्न हुने उनले बताए । उनले भने,‘लगातार आइसले सेक्दा आँखामा रगत सञ्चालन नहुँदा झन् समस्या उत्पन्न हुन सक्छ ।’

आइसले कति समय सेक्ने ?

आइस सफा पानीको बनाउनुपर्छ । आइसलाई सफा प्लास्टिकमा बाँधेर कपडामा बेरेर सहन सक्ने गरी ५ देखि १० सेकेण्डसम्म सेक्ने, छाड्ने गर्नुपर्छ । त्यस क्रमलाई बिहान बेलुका बढीमा १० मिनेट मात्रै सेक्न डा. रसाइलीको सुझाव छ ।

उता आँखा रोग विशेषज्ञ डा शर्माले आइसले भन्दा सफा उमालेको पानीलाई चिसो बनाएर चिप्रा, आँसु पखाल्न उपयुक्त हुने मत राख्छिन् ।

उमालेको पानीलाई चिसो बनाएर आँखाभित्र भएको आँसु र कचेरालाई पहिला मज्जाले सफा गरेर मात्रै औषधि राख्न उनको सुझाव छ । स्वास्थ्यकर्मीको सल्लाहमा आँखामा बिहान बेलुका एक–एक थोपा औषधि हाल्न उनको सुझाव छ ।

के आँखा सेक्न जरुरी छ ?

त्रिवि शिक्षण अस्पतालका नेत्ररोग विशेषज्ञ डा.सञ्जिव भट्टराईले पाकेको आँखा आइसले किन सेक्ने भन्ने कुरा बुझ्न जरुरी भएको सुनाउँछन् । सफा पानीबाट बनेको आइस वा पानीले सेक्दा आँखा रातो हुने र चिलाउने अवस्थालाई कम गर्ने उनले बताए ।

उनी भन्छन्, ‘पाकेको आँखाको रक्तनली ठुलो हुन्छ । आइसले ठुलो भएको रक्तनली सेक्दा चिसोका कारण सानो हुँदै जान्छ । चिसोले सेकेपछि रातो कम हुँदै जान्छ । आँखामा चिलाउने तत्व निस्कन कम हुन्छ । त्यसैले, आँखाको बाहिरको भाग रातो हुँदा आइसले सेक्न भनिएको हो ।

जहाँ आइसको उपलब्धता हुँदैन, सफा चिसो पानीले पटक पटक आँखा सफा गर्नुपर्छ । दुइटै आँखा रातो छ भने छुट्टाछुट्टै आइसले सेक्नुपर्छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आँखा पाकेका बिरामीले यसरी ध्यान दिनुपर्छः

– आँखा नमिच्ने र आँखामा धेरै पानी नछ्याप्ने ।

– आँखा छोइसकेपछि साबुन पानीले मिची मिची राम्रोसँग हात धुने  ।

– प्रशस्त मात्रामा पानी पिउने र पोसिलो खाना खाने ।

– बाहिर घाममा जाँदा कालो चस्मा प्रयोग गर्ने ।

– सङ्क्रमित व्यक्तिले प्रयोग गरेका रुमाल, टावेल, सिरानी, तन्ना आदि हरेक दिन धुने वा सफा गर्ने ।

– सङ्क्रमित व्यक्तिले प्रयोग गरेको सामान अन्य व्यक्तिलाई प्रयोग गर्न नदिने ।

स्वास्थ्यकर्मीको सल्लाह बिना जथाभाबी औषधी प्रयोग गर्ने । दृष्टि कम हुने लगायतका आँखासम्बन्धी समस्या बढेमा उपचारको लागि तुरुन्त स्वास्थ्य संस्थामा जाने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP