
हवाईको जंगलमा लागेको डढेलोले मृत्यु हुनेको सङ्ख्या ६७ पुगेको छ । यससँगै राज्यको इतिहासमा सबैभन्दा घातक प्राकृतिक प्रकोप बनाएको छ।
अझै सयौँ बेपत्ता भएको रिपोर्ट गरिएको छ भने मृतकको सङ्ख्या अझै बढ्न सक्ने बताइएको छ । आगलागीबाट क्षतिग्रस्त सहर लाहाइनाका केही बासिन्दाहरूलाई उनीहरूको क्षतिको विवरण लिन शुक्रबार छोटो समयका लागि घर फर्कन अनुमति दिइएको छ । चेतावनीहरू बीच घर फर्किँदा उनीहरूलाई आफ्नो जीवनमा कहिल्यै नदेखेको विनाशले स्वागत गरेको थियो ।
यस हप्ताको सुरुमा डढेलो तीव्र गतिमा फैलिएपछि ऐतिहासिक सहरको धेरैजसो भाग ध्वस्त बनेको छ । राज्यका अधिकारीहरूले पहिलो पटक शुक्रबार बसोबासको प्रमाणसहित लाहाइनालाई पुनः खोलेका थिए।
स्थानीय समय अनुसार राति १० बजे देखि बिहान ६ बजेसम्म दैनिक कर्फ्यु लागू हुनेछ । सहरका केही सबैभन्दा बढी प्रभावित भागहरूमा अझै प्रवेश निषेध गरिएको छ । खोजी र उद्धार कर्मचारीहरूलाई त्यहाँ जान अनुमति छ ।
पश्चिम माउई, जहाँ लाहाइना अवस्थित छ, अझै पनि बिजुली र पानी विहीन छ । उद्धार टोलीहरू अझै पनि जंगलमा आगलागी पीडितहरूको खोजीमा छन्।
गभर्नर जोस ग्रीनले हवाईवासीहरूलाई लाहाइनामा जे फेला पारेको छ, त्यो हेर्न गाह्रो हुने चेतावनी दिएका छन् । ‘लाहाइना एक विनाश प्रभावित क्षेत्र हो । उनीहरूले आफ्नो जीवनमा कहिल्यै नदेखेको विनाश देख्नेछन्,’ बिहीबार सहरको भ्रमण गरेका गभर्नरले भने, ‘सुरक्षित रहनुहोस्, सावधान रहनुहोस्।”
माउई टापुमा लागेको डढेलोबाट भएको क्षतिलाई मर्मत गर्न धेरै वर्ष लाग्ने उनले बताए । एक वर्षमा करिब २० लाख पर्यटकलाई आकर्षित गर्ने समृद्ध इतिहास भएको तटीय सहर लाहाइनामा १,००० भन्दा बढी भवनहरू ध्वस्त भएका छन् ।