बुधबार , बैसाख ३, २०८२

सहमतिको दुई महिना पुग्दै दुई चिरामा रहेका गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) बीचको एकता सङ्कटमा परेको छ । संस्थापन पक्ष त्यसमा पनि कार्यकारी अध्यक्ष बद्री केसीको कार्यशैलीका कारण एकता सङ्कटमा परेको विनोद कुँवर अध्यक्ष रहेको एनआरएनएले आरोप लगाएको छ । अध्यक्ष कुँवरले पूर्व सहमति कार्यान्वयन नभएपछि एकता सङ्कटमा परेको बताए ।

गत असार ३ गते दुई एनआरएनएबीच एकतासम्बन्धी ४ बुँदे सहमतिपत्रमा  हस्ताक्षर भएको थियो । समझदारीपत्रमा एनआरएनएका अध्यक्ष बद्री केसी, विनोद कुँवरसहित  जानकी गुरुङ र डीबी क्षेत्रीले हस्ताक्षर गरेका थिए ।

विभाजनमा रहेको एनआरएनए अभियानलाई एक ठाउँमा ल्याउनको लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उपस्थितिमा उक्त सहमति भएको थियो ।

प्रधानमन्त्री प्रचण्डको उपस्थितमा भएको एकतासम्बन्धी सहमति कार्यान्वयन नभएको भन्दै सङ्घकी महासचिव जानुका गुरुङले विज्ञप्ति जारी गरेर विशेष अधिवेशन स्थगित भएको बताएकी छन् ।

राष्ट्रिय समन्वय परिषद्को महाधिवेशनमा बद्री केसी समूहले सहमति कार्यान्वयन नगरेको कुँवर पक्षको भनाइ छ । केसी पक्षले सम्मानजनक सहभागिता नगरेर पेलेर जान खोजेको कुँवर पक्षको भनाइ छ ।

“सम्माननीय प्रधानमन्त्रीज्यूको उपस्थितिमा गरिएको सहमति राष्ट्रिय समन्वय परिषद्हरूको महाधिवेशनमा कार्यान्वयन भएन । धेरै राष्ट्रिय समन्वय परिषद्हरूमा हाम्रा सदस्यहरूलाई एमआईएस प्रणालीमा आबद्ध हुन दिइएन । समय एवं नियमावलीको बहानामा उक्त प्रणालीमा आबद्ध हुन नपाउँदा उम्मेदवारी दिने र मतदान गर्ने प्रक्रियाबाट पूर्णरुपमा योजनावद्ध रुपमा अलग्याउन खोजिएको साथीहरूले महसुस गर्नुभएको छ” महासचिव गुरुङले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

केसी समूहको यस्ता व्यवहारले सङ्घको एकताको ढोका बन्द हुन पुगेको समेत गुरुङले बताएकी छन् । यस्तो अवस्थामा शनिबार भनिएको विशेष साधारणसभामा एनसीसीका प्रतिनिधि विना आफूहरु सहभागी हुन नसक्ने विज्ञप्तिमा भनिएको छ ।

केसी समूहले योजनाबद्ध रूपमा अर्को पक्षका सदस्यहरूलाई सहभागी हुन रोकेपछि एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्को १६ औँ बैठकले विशेष साधारणसभा स्थगित गर्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ ।

महासचिव गुरुङले एनसीसीहरुको एकीकरण, अन्तर्राष्ट्रिय महाधिवेशनको स्वरुपलगायतका विषयमा केसी समूहले स्पष्ट धारणा नआएकोले एकीकरणको ढोका बन्द भएको बताएकी छन् । “यतिमात्र होइन हामीसँग रहेका, बनेका, राष्ट्रिय महाधिवेशन भएका र हुने तयारीमा रहेका देशका एनसीसीहरुको एकीकरण, अन्तर्राष्ट्रिय महाधिवेशनको स्वरुपलगायतका विषयमा स्पष्ट धारणा नआएको कारण एकीकरणको ढोका बन्द भएको छ । समय गुज्रिसक्यो तर यस विषयमा स्पष्ट धारणा आउने कुनै सम्भावना पनि देखिएन र केवल हामीलाई समय लम्ब्याएर राष्ट्रिय समन्वय परिषद्हरूमा जस्तै अन्तर्राष्ट्रिय समन्वय परिषद्मा पनि अक्टोबरसम्म लगेर भुलाउने योजना देखिएकोले त्यसतर्फ हाम्रो गम्भीर ध्यानाकर्षण भएको जानकारी गराउँदछौ” विज्ञप्तिमा भनिएको छ ।

यसअघिको सहमतिमा के थियो ?

यसअघि भएको सहमति पत्रमा गैरआवासीय नेपाली सङ्घको १० औँ महाधिवेशन एकताको महाधिवेशन हुन नसकेको यथार्थलाई दुवै पक्षले स्वीकार गरेका थिए । अब भने सङ्घलाई सबैको अपनत्व रहने गरी एक साझा संस्थाका रूपमा अगाडि बढाउने र सङ्घको ११ औँ महाधिवेशन आगामी अक्टोबर महिनामा सम्पन्न गर्ने सङ्कल्प दुवै पक्षले गरेका थिए ।

जसअनुसार दुवै पक्षका प्रतिनिधिहरू रहने गरी एक उच्चस्तरीय अनुगमन समिति गठन गर्ने र उक्त समितिले सदस्यता वितरण, महाधिवेशन प्रतिनिधि छनौट, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समन्वय परिषद्को निर्वाचनको अनुगमन गर्ने उल्लेख थियो ।

यसैगरी एघारौं महाधिवेशन र निर्वाचनमा दुवै पक्षका प्रतिनिधिहरूको सहभागितालाई सुनिश्चित गरिने उल्लेख थियो । त्यसका लागि विधानमा व्यवस्था भए बमोजिम स्वतः महाधिवेशन प्रतिनिधि हुने दुवै पक्षका आइसिसीका वर्तमान पदाधिकारी, सदस्यहरू, संरक्षक, सल्लाहकार, मानार्थ परिषद् सदस्य र एनसिसिका वर्तमान तथा निवर्तमान अध्यक्ष लगायतका व्यक्तिहरू तथा विधानको प्राथमिकताको आधारमा छनौट हुने आइसिसी र एनसिसिका पदाधिकारी, सदस्य तथा अन्यलाई विधानमा व्यवस्था गरिए अनुसारको प्राथमिकताका आधारमा महाअधिवेशन प्रतिनिधि छनोट गर्ने सहमति भएको थियो ।

यस्तै दुवै पक्षका एनसिसि र आइसिसीका पदाधिकारी, सदस्य, संरक्षक, सल्लाहकार, मानार्थ परिषद् सदस्यको संयुक्तरुपमा अभिलेखीकरण गरी परराष्ट्र मन्त्रालयको रोहबरमा प्रमाणीकरण गर्ने सहमति पनि भएको थियो । यस्तै ११औँ महाधिवेशन पछि दुवै पक्षका आइसिसी र एनसिसिका विभिन्न पदमा रहेका पदाधिकारीहरू हैसियत पूर्व पदाधिकारी सरह हुने सहमति पत्रमा उल्लेख थियो ।

यसैगरी दुवै पक्षका सदस्यहरूलाई वर्तमान एमआइएस प्रणाली अनुसार सदस्यता बन्ने व्यवस्था गर्ने पनि सहमति भएको थियो ।

यस्तै दुई पक्षबीच एक उच्च स्तरीय विधान संशोधन समिति गठन गर्ने र  उक्त समितिलाई ११ औँ महाअधिवेशनको बन्द सत्रले अनुमोदन गर्ने गरी सहमति पनि जुटेको भनिएको थियो ।

यस्तै परराष्ट्र मन्त्रालय र सङ्घको विरुद्धमा अदालतमा हालेका मुद्दा फिर्ता लिने र गैर आवासीय नेपाली सङ्घसँग मेल खाने सोही प्रकृतिका अन्य गतिविधिहरू, संयन्त्र र संरचना खारेज गर्ने पनि सहमति भएको थियो । तर सहमतिअनुसार कुँवर पक्षले पनि हालसम्म मुद्दा फिर्ता लिएको छैन ।  कुँवर पक्षले संस्थापनको कार्यसमिति वैधानिक नभएको जिकिर गर्दै आएको छ ।

सङ्घको एघारौँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशन आगामी असोज ३० गतदेखि कार्तिक ३ गतेसम्म (१७ अक्टोबर –२० अक्टोबर, २०२३) काठमाडौँमा आयोजना गरिने तय भइसकेको अवस्थामा विवाद फेरि बल्झिन पुगेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा

आजको राशिफल ~ वि.सं. २०८१ चैत्र १३ गते बुधवार : श्री देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP