मंगलबार , बैसाख २९, २०८३

काठमाडौं। फागुन २३ गते सर्वोच्च अदालतको फैसलापछि ब्यूँतिएको नेकपा (एमाले) गुटैगुटको महासंघ बनेको छ। अदालतले पूर्वएमाले र पूर्वमाओवादीबिच भएको पार्टी एकीकरणलाई बदर गरिदिएपछि एमालेभित्र फेरि महाभारत सुरु भएको छ। बुधबारसम्म आइपुग्दा पार्टी विवाद राष्ट्रिय भेलाको उत्कर्षमा पुगेको छ।

२०७५ जेठ ३ गते पार्टी एकता भई बनेको नेकपालाई सर्वोच्चले खारेज गरिदिएपछि दुवै पार्टी पूर्ववत् रुपमा फर्किएका छन्। पूर्ववत् अवस्थामा फर्किएपछि नेकपा (माओवादी केन्द्र) शान्त देखिएको छ। नयाँ परिस्थितिको सामना गर्दै अगाडि बढ्न माओवादी केन्द्रका नेताहरु एकमत देखिएका छन्। तर, सरकारको नेतृत्व गरिरहेको नेकपा (एमाले) भित्र भने निरन्तर झमेला देखिएको छ।

हाल माओवादीभित्र कुनै वैचारिक, राजनीतिक र संगठनात्मक मतभेद छैन। माओवादीभित्र ‘अवसरवादी’ ट्याग लागेका रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणिचन्द्र थापा, प्रभु साह, गौरीशंकर चौधरी र दावा तामाङहरु एमालेमै रहने भएपछि माओवादी शान्त देखिएको हो। तर, फागुन २३ पछि ब्यूँतिएको एमालेभित्रको विवाद दन्दनी दन्किरहेको छ।

एमालेमा तीन समूह

नेकपा (एमाले) मा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता माधव कुमार नेपाल र उपाध्यक्ष वामदेव गौतमले अलग अलग समूहको नेतृत्व गरिरहेका छन्। पार्टी कानूनी दृष्टिले एक भए पनि यी तीनै समूहले अलग अलग सम्पर्क सुत्र र अड्डा बनाएर आ–आफ्ना गतिविधि सञ्चालन गरिरहेका छन्।

प्रधानमन्त्री ओलीले सरकारी निवास बालुवाटारलाई आफ्नो समूहको मुख्यालय बनाएका छन्। पछिल्लो एक वर्षमा फागुन ३ गते मात्र बालुवाटार पुगेका उनले आफ्ना सबै गतिविधि बालुवाटारबाटै गरेका छन्। पार्टी मुख्यालय धुम्बाराही ओली समूहकै नियन्त्रणमा भए पनि केन्द्रीय कार्यालय प्रायः सुनसान देखिन्छ। यता माधव नेपाल समूहले नेपाल निवास कोटेश्वर र बानेश्वरको अर्याल होटलमा आफ्ना गतिविधि केन्द्रित गरेको छ। तेस्रो धारको रुपमा रहेको गौतम समूहले पनि भैंसेपाटीबाट नियमित गतिविधि गरिरहेको छ।

ओली समूहमा खास प्रभावशाली नेता नभए पनि एमालेको बहुमत पंक्ति उनीसँगै छ। अध्यक्ष ओली, महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, सचिव पृथ्वीसुब्बा गुरुङ, प्रदीप ज्ञवाली लगायतका नेताहरु उनीतिर उभिएका छन्। माओवादीका रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणिचन्द्र थापा, प्रभु साह लगायतका नेताहरु पनि ओली समूहमै उभिएका छन्।

ओली समूह एमालेभित्र बहुमतमा भए पनि राजनीतिक छविका दृष्टिले विवादित मानिन्छ। महासचिव ईश्वर पोखरेल यती ओम्नी काण्डमा, उपमहासचिव विष्णु पौडेल बालुवाटार जग्गा काण्डमा विवादित भएदेखि सार्वजनिक छवि कमजोर हुँदै गएको छ। त्यसैगरि यसबिचमा भानुभक्त ढकाल, गोकुल बाँस्कोटा, महेश बस्नेत लगायतका धेरै नेताहरु विवादमा तानिएका छन्। यसले ओली समूह अंकगणितीय दृष्टिले बहुमतमा भए पनि राजनीतिक र नैतिक दृष्टिले कमजोर धरातलमा उभिएको छ।

एमालेको दोस्रो समूहका रुपमा वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव कुमार नेपालले नेतृत्व गरेको समूह देखिएको छ। पार्टीभित्र बहुमतमा नभए पनि यो समूह वैचारिक र नैतिक दृष्टिले बलियो देखिन्छ। खनाल, नेपालदेखि उपाध्यक्षत्रय भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, नेता सुरेन्द्र पाण्डे, उपमहासचिव घनश्याम भुसाल, सचिवत्रय योगेश भट्टराई, भीम आचार्य, गोकर्ण विष्ट लगायतका पूराना र स्थापित नेताहरु रहेको यो समूह पार्टीभन्दा संसदीय दलमा भने कमजोर स्थितिमा छ।

एमालेको तेस्रो समूहका रुपमा उपाध्यक्ष वामदेव गौतमको समूह देखिएको छ। गौतमसँग पूर्व कृषिमन्त्री हरि पराजुली र सांसद तुलसी थापा लगायतका केही नेताहरु मात्र छन्। पराजुली विवादास्पद छविका नेता मानिन्छन् भने थापा पार्टी केन्द्रीय समितिमा छैनन्। यो समूह एकता अभियानका नाममा अलग्गै पार्टीको अभ्यासमा जुटिसकेको छ।

ओली समूहमा गुटैगुट

एमालेको संस्थापन समूह मानिएको ओली समूह पनि गुटैगुटको महासंघ बन्न गएको छ। माओवादी पृष्ठभूमिका केही नेताहरुसमेत ओलीको पक्षमा उभिएपछि यो समूहमा गुटको संख्या थपिएको हो।

नवौं महाधिवेशनमा उपाध्यक्षमा निर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीको अहिले पनि एमालेभित्र आफ्नै गुट छ। उनले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीका हरेक कदमलाई निशर्त समर्थन गर्दै आएकी छिन्। तर, लाभका पदहरुमा भने आफ्नो कोटा खोज्ने गरेको एमाले स्रोतको दावी छ। मन्त्री, मुख्यमन्त्रीदेखि स–साना नियुक्तिसम्म भण्डारीले आफ्नो कोटा खोज्ने गरेकी छिन्। प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि उपाध्याय लगायतका नेताहरु भण्डारीनिकट मानिन्छन्। भण्डारीले एमालेको आन्तरिक द्वन्द्व व्यवस्थापन गरेवापत आफूनिकटका नेताहरुका लागि कोटा खोज्ने गरेको ओली समूहकै नेताहरुले गुनासो गर्दै आएका छन्।

ओली समूहको दोस्रो बरियतामा रहेका महासचिव ईश्वर पोखरेलको आफ्नै गुट छ। उनको गुटलाई स्थायी समिति सदस्य विष्णु रिमाल, प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा, पूर्वमन्त्री गोकुल बाँस्कोटा लगायतले साथ दिँदै आएका छन्। ओली समूहमा पोखरेल गुट सबैभन्दा विवादित मानिन्छ।

संविधानसभाका अध्यक्ष एवं एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङको आफ्नै गुट छ। भूमि व्यवस्थामन्त्री डा. शिवमाया तुम्बाहाम्फे, भौतिक योजनामन्त्री वसन्त नेम्वाङ लगायतका नेताहरु नेम्वाङनिकट मानिन्छन्। उनको समूहमा एमालेका दर्जनजति केन्द्रीय सदस्य भएको बताइन्छ।

साबिक नेकपामा महासचिव रहेका उपमहासचिव विष्णु पौडेलको पनि आफ्नै समूह छ। संगठित शक्तिका दृष्टिले खासै ठूलो समूह नभए पनि नेताहरुबिचको समन्वयमा उनले आफ्नो अलग्गै समूह कायम गरिरहेका छन्। त्यसैगरि एमालेमा ओलीका विश्वासपात्र शंकर पोखरेलको पनि आफ्नै टीम छ। उनीसँग भएको टीम अरुभन्दा राजनीतिक चरित्रको मानिन्छ। राजनीतिक दृष्टिले ओलीका कट्टर समर्थन रहे पनि चारित्रिक दृष्टिले पोखरेल अरु नेताभन्दा अगाडि देखिएका छन्।

माओवादीबाट ओली समूहमा रहेका नेताहरुको पनि आफ्नै अलग अलग गुट छ। नेकपा (माओवादी केन्द्र) मा गृहमन्त्री रामबहादुर थापा पक्षका सबै नेताहरु माओवादीमै रहे पनि खेलकूदमन्त्री दावा तामाङ, प्रदेश सांसद एमएस थापा लगायत उनको पक्षमा देखिएका छन्। तर, माओवादीबाट ओली समूहमा गएका अरु नेताहरुले थापालाई नेता स्वीकार्न तयार देखिँदैनन्। फागुन २८ गते ओलीले केन्द्रीय समितिमा मनोनित गरेका २३ जना माओवादी नेताहरु नै विभिन्न समूहमा बाँडिएका छन्।

उर्जामन्त्री टोपबहादुर रायमाझीले समेत अलग्गै गुट निर्माणको तयारी गरे पनि उनको बलियो समूह छैन। डा. बाबुराम भट्टराईले पार्टी परित्याग गरेपछि माओवादीसँग रहेका केही नेता रायमाझीसँग थिए। तर, नेता देवेन्द्र पौडेलको प्रभावका कारण सबै नेता माओवादीमै रहेपछि रायमाझी एक्लै एमालेमा गएका छन्। रायमाझीसँग राष्ट्रिय परिचय बनाएका कुनै नेता नभए पनि उनले अलग्गै गुटको अभ्यास भने गर्न खोजेको देखिन्छ।

उद्योगमन्त्री लेखराज भट्टको सुदूरपश्चिममा केही प्रभाव देखिन्छ। उनले राष्ट्रिय रुपमा अलग्गै समूह बनाउन नसके पनि क्षेत्रीय रुपमा आफ्नो प्रभाव कायम राख्न खोजेका छन्। भट्टलाई माओवादी पृष्ठभूमिका नेतामध्ये श्रममन्त्री गौरीशंकर चौधरीले साथ दिएका छन्।

त्यसैगरि शहरी विकासमन्त्री प्रभु साहले पनि ओली समूहभित्र आफ्नो अलग्गै गुट बनाउने प्रयास गरेका छन्। तर, माओवादीबाट ओली समूहमा लागेका नेतामध्ये खानेपानीमन्त्री मणिचन्द्र थापाले भने आफू ओलीमा बिलय भएको घोषणा गरिसकेका छन्।

@lokpati

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP