काठमाडौं। नेकपा एमालेको खनाल-नेपाल पक्षले संविधान, लोकतन्त्र र राष्ट्रको आफ्नै खुट्टामा उभिने सामर्थ्यमा खतरा औंल्याएको छ। बुधबार सानेपामा सुरु भएको दुई दिने राष्ट्रिय कार्यकर्ता भेलामा प्रस्तुत राजनीतिक दस्तावेजमा यस्तो खतरा औंल्याइएको हो।
नेपाल समूहले पार्टी अध्यक्ष केपी शर्मा ओलीका विचार र व्यवहारले समस्या थपिँदै गएको आरोप पनि लगाएको छ। ‘पार्टी अध्यक्ष कमरेड के पी ओलीका विचार र व्यवहारले एकपछि अर्को समस्या थपिँदै गए। उहाँलाई नाजायज सुविधा दिएर भएपनि पार्टी एकतालार्ई जोगाउन अनेकौँ प्रयत्न गरिए। तर उहाँका क्रियाकलाप कम्युनिस्ट पार्टीलाई विभाजन गर्ने दिशामा नै अगाडि बढे,’ दस्तावेजमा उल्लेख छ।
प्रधानमन्त्री ओलीकै पराकाष्ठाका कारण वामपन्थीहरूको ‘अद्वितीय बहुमत’ भएको प्रतिनिधिसभा विघटन भएको समेतआरोप लगाइएको छ। प्रतिनिधि सभा पुनर्स्थापनापछि संविधानको गलत व्याख्या गर्दै अदालतले दुई पार्टीको राजनीतिक एकतालाई एकीकरणअघिको अवस्थामा पुर्याएको समेत कार्यपत्रमा उल्लेख गरिएको छ।
एमालेको खनाल-माधव पक्षले २०७५ जेठ २ गतेलाई प्रस्थान बिन्दु बनाएर पार्टी जीवनको पुनर्स्थापना, विधि विधानको पुनर्स्थापना र विकास, नवौं महाधिवेशनको कार्यदिशाको स्थापनालाई आफ्नो आगामी काम तथा नेकपा एमाले र कम्युनिस्ट आन्दोलनको रक्षासँग जोडेको छ।
सो पक्षले केपी शर्मा ओलीले गम्भीर गल्तीहरु गरेका कारण उनको राजीनामा र कार्यवाहक नेतृत्वको तयारी गर्नुपर्ने, गुटका निर्णयहरु खारेज गर्नुपर्ने प्रस्ट पारेको छ। नेकपामा हुँदा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का विरुद्ध गुटबन्दी गरेको र अहिले एमालेमा त्यही प्रवृत्तिलाई निरन्तरता दिँदा पार्टीमा समस्या आएको आरोप प्रतिवेदनमा लगाइएको छ।
‘पार्टीको कार्यकारी अध्यक्ष र प्रधानमन्त्रीसमेत नेकपाका दुईजना अध्यक्षका रुपमा कमरेड केपी ओली र प्रचण्डले आलोपालो गर्ने गोप्य सम्झौतासमेत गर्नुभयो। यसरी एकातिर कम्युनिस्ट आन्दोलनको ऐतिहासिक उपलब्धिहरु प्राप्त गर्ने सम्भावनाका ढोकाहरु खुल्दै गएका थिए भने त्यसको नेताका रुपमा कमरेड ओलीको व्यक्तिकेन्द्रित चरम गुटबन्दी पूर्ण कार्यशैलीले क्रमश पार्टीलाई समस्याग्रस्त बनाउँदै गयो’, प्रतिवेदनमा भनिएको छ।
ओलीले वामपन्थी गठबन्धनको नेताको रुपमा ओलीले शक्ति हातमा लिँदै हरेक ठाउँमा गुटबन्दी गरेको आरोपसमेत प्रस्तावमा लगाइएको छ। सँगै ओलीले पार्टीभित्र जनताको समर्थनको दुरुपयोग गर्दै बलमिच्याइँ गरेको उल्लेख छ।
‘नेकपा एमालेको तर्फबाट वामपन्थी गठबन्धनको एउटा नेताका रुपमा अध्यक्ष ओलीले पार्टीको सबै शक्ति आफ्नो हातमा लिँदै हुनुहुन्थ्यो, प्रतिनिधिसभा र प्रदेशसभाका प्रत्यक्ष र समानुपातिक उम्मेदवारीमा उहाँले चरम गुटबन्दीको प्रदर्शन गर्नु भएको थियो र पार्टी स्थायी कमिटीमा त्यसको आलोचना पनि भैरहेको थियो। तर, वामपन्थी सहकार्यको पक्षमा उर्लेको जनताको समर्थनको दुरुपयोग गर्दै उहाँले पार्टीमा बलमिच्याइँ गरिरहनुभयो’, प्रतिवेदनमा थप भनिएको छ।
यस्तो छ दस्तावेजः