मंगलबार , बैसाख २९, २०८३

पछिल्लो समय बुक बिल्डिङ प्रक्रियाबाट सेयर जारी गरे सेयर मूल्य अहिलेको भन्दा महँगो पर्न जाने बहस भइरहेको छ । एकातर्फ १० कित्तामा आवेदन दिन नपाइने र अर्कोतर्फ मूल्य पनि बढी हुने भनिएपछि साना लगानीकर्ता बिच्काउने नीति भनेर आलोचनासमेत हुँदै आएको छ । सामान्यतया अहिले आईपीओ सय रुपैयाँ प्रतिकित्तामा पाउँदै आएको छ ।

बुक बिल्डिङ प्रक्रियाबाट आईपीओ निष्कासन हुन थाले न्यूनतम ५० कित्तामा आवेदन दिनुपर्ने व्यवस्था स्वत्तः लागू हुनेछ र विस्तारै १० कित्ते प्रावधान हट्दै जानेछ । नेपाल धितोपत्र बोर्डले पनि १० कित्ते प्रावधान हटाउनुपर्ने आवश्यकता महसुस गर्न थालेको छ र सोहीअनुसार गृहकार्य गरिरहेको छ । बुक बिल्डिङ प्रक्रियाबाट आईपीओ जारी गरे अहिले संस्थाहरुले जारी गर्ने आईपीओ मूल्यभन्दा केही महँगो हुनेछ । तर सबै कम्पनीहरु बुक बिल्डङ प्रक्रियामा जान भने पाउने छैनन् । बुक बिल्डिङबाट सेयर निष्कासन गर्ने केही सीमा बुक बिल्डिङ निर्देशिका २०७७ मा उल्लेख छ । बोर्डका प्रवक्ता निरज गिरीका अनुसार ५ वर्षमा विगत तीन वर्षदेखि नाफामा गएको र नेटवर्थको सीमा समेत भेट्टाएकाले बुक बिल्डङ प्रक्रियाबाट आईपीओ जारी गर्न पाउनेछन् ।

पछिल्लो समय सर्वोत्तम सिमेन्टले संस्थागत लगानीकर्ताका लागि ७ सय ५० प्रतिकित्ताका दरले आईपीओ जारी गर्ने चर्चा चलिरहेको छ । यद्यपि ऊ धितोपत्र बोर्डसम्म पुगेको छैन । बुक बिल्डिङ प्रक्रियाबाट आईपीओ जारी गर्न धितोपत्र बोर्डबाट अनुमति माग्नुपर्ने हुन्छ । यता रिलायन्स सुगर मिल्सले पनि बुक बिल्डङबाट आईपीओ निष्कासन गर्ने चर्चा चलिरहेको छ । तर बोर्डका प्रवक्ता गिरीका अनुसार अहिलेसम्म बोर्डमा बुक बिल्डिङ प्रक्रियाबाट सेयर निष्कासन गर्ने जानकारी कसैले गराएका छैनन् ।

‘बुक बिल्डिङ विधि’ भन्नाले सङ्गठित संस्थाले धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन गर्दा धितोपत्रको निष्कासन मूल्य निर्धारण गरिने विधि वा प्रक्रिया भन्ने बुझिन्छ । यस विधिबाट आईपीओ जारी भएका कम्पनीहरुमा न्यूनतम ५० कित्ताका लागि आवेदन दिनुपर्ने व्यवस्था बुक बिल्डिङ निर्देशिका, २०७७ मा छ ।

यस विधिमार्फत सुरुमा संस्थागत लगानीकर्तालाई सेयर बिक्री गरिसकेपछि मात्र सर्वसाधारणलाई आईपीओ जारी गरिन्छ । बुक बिल्डिङमा योग्य संस्थागत लगानीकर्ताबाट प्राप्त आशय मूल्यको अध्ययन गरी धितोपत्रको आधार मूल्य तय गर्नुपर्ने व्यवस्था निर्देशिकामा छ ।

कसरी हुन्छ मूल्य निर्धारण ?

कुनै एउटा कम्पनीले बुक बिल्डिङमार्फत आईपीओ जारी गर्नुपर्ने भएमा सबैभन्दा पहिले कम्पनीले आफ्नो वित्तीय अवस्था लगयतको सूचकहरुको मूल्याङ्कनका आधारमा एउटा मूल्य निर्धारण गर्नुपर्ने हुन्छ । उक्त निर्धारण भएको मूल्य माथि धितोपत्र बोर्डबाट योग्य ठहरिएका संस्थागत लगानीकर्ता समावेश गरी आधारसहित उक्त भाउमाथि छलफल गर्नुपर्नेछ ।

संस्थागत लगानीकर्ताले त्यस भाउमा सहमति जनाउन पनि सक्छन्, नजनाउन पनि सक्छन् । असहमत भएमा संस्थागत लगानीकर्ताले आशय मूल्य पेस गर्न पाउनेछन् । उक्त मूल्यको अध्ययन गरेर कम्पनीले फेरि आधार मूल्य निर्धारण गर्नेछ । यो सबै प्रक्रिया पूरा भएपछि एउटा आधार मूल्य निर्धारण हुन्छ ।

धितोपत्रको बिक्री मूल्य सीमा निर्धारण गर्दा माथिल्लो सीमा आधार मूल्यमा २० प्रतिशत थप गर्दा कायम हुने मूल्य र तल्लो सीमा आधार मूल्यमा २० प्रतिशत घटाउँदा हुने मूल्य कायम गर्नुपर्नेछ । जस्तै ‘ए’ भन्ने एउटा कम्पनीको आधार मूल्य ६ सय रुपैयाँ छ । सो आधार मूल्यको माथिल्लो सीमा सात सय र तल्लो सीमा पाँच सय हुन्छ । सोही मूल्यमा बिडिङका लागि धितोपत्र बोर्डमा आवेदन दिनुपर्नेछ ।

बोर्डबाट स्वीकृति पाएपछि उक्त सीमामा रहेर योग्य संस्थागत लगानीकर्ता बोलकबोलमा सहभागी हुन पाउँछन् । बोलकबोलका आधारमा कट अफ मूल्य निर्धारण हुन्छ । अन्त्यमा, उक्त कट अफ मूल्यमा १० प्रतिशत छुट दिई सर्वसाधारणका लागि आईपीओ जारी हुनेछ ।

उदाहरणको लागि सर्वोत्तम सिमेन्टलाई नै हेरौँ

संस्थागत लगानी कर्ताले ७ सय ५० रुपैयाँमा सर्वोत्तम सिमेन्टको सेयर पाउने भनिएको छ । यदि संस्थागत लगानीकर्ताले सो मूल्यमा सेयर पाए भने सर्वसाधारणले ७ सय ५० मा १०% घटाउँदा हुने मूल्यमा सेयर पाउँछन् । ७ सय ५० मा १० प्रतिशत घटाउँदा ६ सय ७५ हुन जान्छ र सर्वसाधारणले यही मूल्यमा सेयर पाउँछन् । ‘कट अफ मूल्य’ भन्नाले योग्य संस्थागत लगानीकर्तालाई बोलकबोलमार्फत निष्काशित सम्पूर्ण धितोपत्र बिक्री हँुदा कायम हुन आउने बोलकबोल मूल्य सम्झनुपर्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP