मंगलबार , बैसाख २९, २०८३

एक महिलाले विदेशी नागरिक बनेर आठ लाख रूपैयाँभन्दा बढी रकम ठगी गरेकी छिन्।

प्रेम गर्छु भन्दै फसाएर रकम ठगी गर्ने व्यक्ति ललितपुरको गोदावरी नगरपालिका–८ बस्ने ४० वर्षीया चण्डिका पोखरेल भएको खुल्न आएको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उनले सामाजिक सञ्जालबाट चिनजान गरी मन पराउँछु, माया गर्छु र नेपाल आएर बिहे गरी विदेश लैजान्छु भन्दै रकम ठगी गरेको पाइएको छ।

त्यसरी विश्वासमा पारी पहिलो चरणमा सामान ‘पार्सल’ पठाएको छु भनी त्यसका लागि विभिन्न शुल्क लाग्ने र यसका लागि रकम बुझाउनुपर्ने भन्दै विभिन्न व्यक्तिको नाममा पैसा पठाउन लगाएर ठगी गरेको पाइएको कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताए।

‘सुरूमा त्यसरी जाहेरी आएपछि यस्तो विदेशी नागरिक को रहेछ भनेर अनुसन्धान गर्दै जाँदा विदेशीको नाम राखेर ठगी गर्ने ललितपुरकी महिला भएको पहिचान भयो,’ उनले भने।

सुरूमा उनले सामाजिक सञ्जाल फेसबुक, म्यासेन्जर, ह्वाट्सएप चलाउने व्यक्तिहरूलाई सम्पर्क गर्ने र आफू बेलायतको एल्भिस मार्टिन भएको बताउने गरेको अनुसन्धानबाट थाहा भएको छ।

प्रहरीका अनुसार ती महिलाले पीडितलाई फोटो पठाउन लगाई ‘तिमीलाई मन पराउँछु, माया गर्छु’ भनी सम्पर्क गर्थिन्।

त्यस्तै उनले ‘नेपालमा आएर तिमीलाई विवाह गरी लैजान्छु, उपचार पठाइदिन्छु, सुनका गरगहना, घडी, आइफोन डलरसहितको लगेज पठाइदिएको छु’ भनेर पीडितलाई विश्वासमा पार्ने गरेको प्रहरीले जनाएको छ।

उनले पीडितलाई प्रलोभनमा पारी विदेशी जस्तो देखिने नम्बरमार्फत कुराकानी गरी विश्वास जितेपछि सामान पठाइदिएको र सामान पाउन भन्सार, डलर चार्जबापतको रकम लाग्ने भन्दै विभिन्न व्यक्तिको खातामा पैसा पठाउन लगाउने गरेको खुलेको छ।

उनले पटकपटक गरी जम्मा आठ लाख ४० हजार रूपैयाँ पठाउन लगाएपछि ठगिएको थाहा पाई पीडित प्रहरीमा आइपुगेका हुन्।

उनलाई पक्राउ गरी ठगीसम्बन्धी कसुरमा जिल्ला प्रहरी परिसर ललितपुरबाट अहिले आवश्यक अनुसन्धान एवं कारबाही थालिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP