शुक्रबार , भाद्र १२, २०८३

मंगलबार प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयक २०८० अन्तर्गत मंगलबार सहरी विकास, खानेपानी, अर्थ र श्रम तथा रोजगार मन्त्रालयका लागि छुट्याइएको बजेटमाथि छलफल भइरहेको थियो । सहरी विकास मन्त्रालय अन्तर्गतको छलफलका क्रममा बजेट पुस्तकमा त्रुटि भेटिएपछि एमाले सांसद सूर्यबहादुर थापाले नियमापत्ति गरे ।

सांसद थापाले बजेट पुस्तकमा प्रदेशको नाम नलेखेर संविधानको उल्लङ्घन गरेको बताए । उनले प्रदेश सभाले बहुमतले पारित गरेको लुम्बिनी प्रदेशको नाम बजेट पुस्तकमा नहुनु संविधान विरोधी काम रहेको बताउँदै सो मन्त्रालय अन्तर्गतको बजेट शीर्षकको छलफल कार्यसूचीबाट हटाउन माग गरे ।

बैठकमा विवाद उत्पन्न भएपछि सभामुख देवराज घिमिरेले सहरी विकास मन्त्री सीता गुरुङलाई जवाफ दिन समय दिए  । मन्त्री गुरुङले सहरी विकास मन्त्रालय अन्तर्गतको बजेट पुस्तकमा कहीँ त्रुटि छ भने सच्याउन तयार रहेको र बैठक सुचारु गर्नका लागि उनले प्रतिबद्धता जनाइन ।

त्यसपछि सभामुख घिमिरेले मन्त्रीले सच्याउने प्रतिबद्धता जनाएकोले सहरी विकास मन्त्रालय अन्तर्गत छुट्याइएको बजेटमाथि छलफल अघि बढाउन आग्रह गरे ।

तर फेरी सांसद थापाले ‘रहेछ भने सच्याइनेछ’ भन्ने कुरा नमिलेको बताउँदै मन्त्रीसँग चस्मा नभएको भए चस्मा लगाउन आग्रह गरे । सांसद थापाले भने–‘चस्मा नभए मन्त्रीज्यूलाई म चस्मा लगाउन आग्रह गर्न चाहन्छु । पेज नम्बर २७, २८ र २९ को ५० ठाउँमा प्रदेश नम्बर ५ लेखिएको छ । संविधानले प्रदेशको नामकरण प्रदेश सभाको दुई तिहाइले गर्ने व्यवस्था अनुसार प्रदेश सभाले नामकरण गरेको लुम्बिनी भारतको संसद्मा नक्सामा पनि लुम्बिनी प्रदेशलाई ओभरल्याप पारिने र यो सहरी विकास मन्त्रालयको बजेट पुस्तकमा पनि प्रदेश नम्बर ५ भनिने यो के भएको हो सभामुख महोदय, यस्तो पुस्तकमा कार्यसूचीमा राखेर छलफल गर्न मिल्दैन ।’

उनले संविधान अनुसार नाम राखिएको प्रदेशको नाम हटाएकोले संविधान विपरीत हुने उल्लेख गर्दै त्यसमाथि छलफल गर्न नसकिने बताए ।

सभामुखले मन्त्रीले त्रुटि सच्चाउने प्रतिबद्धता जनाएकोले बैठक अघि बढाउन आग्रह गरे तर एमाले सांसद पछि हटेनन् ।

त्यसपछि बोलेका एमाले सांसद छविलाल विश्वकर्माले पनि संविधान विपरीत संघीय सरकारले प्रदेशको नाम बजेट पुस्तकमा हटाएकोले संसद्मा छलफल अघि बढ्न नसक्ने बताए ।

बैठकलाई सहज रूपमा अघि बढाउन मध्यस्थताको भूमिकामा कांग्रेस प्रमुख सचेतक रमेश लेखकले यस्ता त्रुटि बनाएर सरकारले संसद्मा प्रस्तुत गर्न नहुने बताउँदै सभामुखले गरेको रुलिङ सबैले मानेर जानुपर्ने बताए । उनले संसद् अघि बढाउन सभामुखले गरेको रुलिङ पालना गर्न प्रतिपक्ष दललाई आग्रह गरे ।

अघिल्लो पटकको बैठकमा संस्कृति पर्यटन मन्त्रालय अन्तर्गतको बजेट पुस्तकमा ‘कोसी’ प्रदेशको नाम नलेखेका कारण विवाद उत्पन्न भएको थियो । सभामुखले त्यसलाई सच्याएर ल्याउन रुलिङ गरेका थिए ।

त्यसपछि बोलेका एमाले सांसद रघुजी पन्तले सभामुखले गरेको रुलिङमा एकरुपता नभएको बताए । उनले पर्यटन मन्त्रालय अन्तर्गत रहेको बजेट पुस्तकमा कोसी प्रदेश नलेखेको पाइएपछि सभामुखले सच्याएर ल्याउन लगाएर मात्र बैठक राखेको बताउँदै लुम्बिनी प्रदेशको नाम नभएको बजेटमाथि छलफल गर्न नसकिने बताए । त्यसलाई पनि सच्याएर ल्याएपछि मात्रै छलफल अघि बढाउन माग गरे । त्यसपछि सभामुखले १५ मिनेटका लागि स्थगित गरेको बैठक १ घण्टा बित्दा समेत पुन सुरु हुन सकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP