
हाल नेतृत्व गरिरहेको डेमोक्रेटिक टिमको तर्फबाट आधिकारिक उम्मेद्वार बन्ने होडमा पाँच जना देखिएको भएपनि अन्ततः डीला खरेलले बाजी मारेका छन् । उनलाई जनसम्पर्क समिति अष्ट्रेलियाको पाँच सदस्यीय छनोट समितिले आधिकारिक अध्यक्ष पदको उम्मेद्वार घोषित गरेको जनसम्पर्क समिति अष्ट्रेलियाका अध्यक्ष सुरेश गुरुंगले जानकारी दिए । उनले भने, “हाम्रो आधिकारिक उम्मेद्वार डीलाजी नै हो । पाँच जनाले आवेदन दिनुभएको थियो । त्यसमध्ये हामीले निर्वाचनका विविध आयामको विश्लेषण गरी खरेललाई उम्मेद्वार बनाउने सर्वसम्मत निर्णय गरेका हौं ।”
अध्यक्षको आकांक्षीहरु डीला खरेल, डा. ज्ञानेन्द्र रेग्मी, सन्ध्या शाह, अनिल पोखरेल र उमेश खड्काले आफ्नो दावेदारीका साथै जनही २ हजार डलर जम्मा गरेर आफुलाई आधिकारिक उम्मेदवार बनाइदिन जनसम्पर्क समितिलाई निवेदन दिएका थिए ।
एनआरएन आईसीसी उपाध्यक्ष दुर्गा आचार्यको संयोजकत्वमा, जनसम्पर्क समिति अष्ट्रेलियाका अध्यक्ष सुरेश गुरुंग, आईसीसी उपमहासचिव गणेश केसी, अभिमन्यु केसी र सुरेन्द्र सापकोटाको छनोट टिमले डिला खरेललाई आधिकारिक उम्मेद्वार बनाएपछि वर्तमान कोषाध्यक्ष अनिल पोखरेलले आफ्नो स्वतन्त्र उम्मेद्वारी घोषणा गरिसकेका छन् । सामाजिक सञ्जालमार्फत उनले आफ्नो उम्मेद्वारीको आवश्यकता पुष्टि गर्ने प्रयास गरेका थिए ।
पोखरेलले आफुलाई आधिकारिक उम्मेद्वार बनाउन आवेदन दिएको पुष्टि गरे । उनले आफुसँग समाजसेवाका लागि दिन उपयुक्त समय यतिबेला रहेको भन्दै मूल नेतृत्वका लागि दावी स्वाभाविक भएको बताए । यसअघि पनि उनलाई कोषाध्यक्षमा पुनः दोहोराउन आग्रह गर्दै अर्को पटक उचित स्थान दिने भन्दै रोकिएको थियो ।
जनसम्पर्क समितिले गरेको निर्णय अनुसार हालसम्म अध्यक्षमा डिला खरेल, न्यूसाउथवेल्स संयोजकमा सन्ध्या शाह, कोषाध्यक्षमा ईर्साद अहमद र सचिवमा थीर गुरुंगलाई आधिकारिक उम्मेद्वार तोकेको छ । यसबाहेकका असन्तुष्टिलाई समेत सम्बोधन गर्दै टिम निर्माण गर्ने तयारी गरिरहेको अध्यक्ष गुरुंगले जानकारी दिए । उनले सम्भवतः बुधबारभित्र सबै राज्यका संयोजक उम्मेद्वारहरुको टुंगो लागिसक्ने दावी गरे ।
उता अध्यक्षको दौडमा नै रहेका देव गुरुंगले आफु सदस्यको संख्या बढाउने अभियानमा खटिएको भन्दै उचित समय आएपछि आफ्नो उम्मेद्वारी सामाजिक संजाल बाट पनि घोषणा गर्ने बताएका छन् । हाल न्यूसाउथवेल्सको संयोजक रहेका गुरुंगले भने, “सबै विषयमा म अपडेटेड नै छु । मूल नेतृत्वमै मेरो दावी हो ।” उनी जनसम्पर्क ईतर समूहबाट निर्वाचन लड्दै आएका छन् ।
आधिकारिक उम्मेद्वार घोषित डीला खरेलले सामाजिक सञ्जालमार्फत यसअघि कुनै परिस्थितिमा कसैको चित्त दुखाएको भए त्यसका लागि क्षमायाचना गर्दै सबैलाई समेटेर आफु अघि बढ्ने प्रतिबद्धता जनाएका छन् । खरेल गएको आईसीसी अधिवेशनको क्रममा शेष घलेले बनाएको एनआरएनको ग्लोबल कोषाध्यक्ष चयन भएको बताइएको थियो । पछि बद्री केसी लगायतको उपस्थितिमा नेपाल फेष्टिभल सिड्नीको अवसरमा उनले सबै छोडेर आफु मूलधारमा र मूलघरमा नै फर्किएको घोषणा गरेका थिए ।
पुराखबर सँग कुरा गर्दै खरेलले सबैको साथ र सहयोगले आफु अघि बढ्ने बताए । उनले भने, “साथीहरुले मेरो उम्मेद्वारीलाई समर्थन गर्दै टिमलाई बलियो बनाउने प्रयासमा हातेमालो गर्नुहुन्छ भन्ने मैले अपेक्षा गरेको छु ।”
एनआरएन अष्ट्रेलियाको हालै संशोधन गरिएको नियमावलीले अष्ट्रेलिया बाहेक अन्य कुनैपनि देशको राजनीतिक दलको सदस्य वा तिनका भ्रातृ संस्थाका सदस्य भएका व्यक्तिहरुलाई एनआरएन अष्ट्रेलियाको उम्मेद्वार बन्न रोक लगाएको छ । यो प्रावधानले यस पटकको निर्वाचनलाई कस्तो असर गर्ने हो यो भने हेर्न बाँकी नै छ । एनआरएन अष्ट्रेलियाको सुधार गर्ने भन्दै ल्याइएको यो प्रावधान कार्यसमितिले बहुमतले पारित गरेको थियो । निर्वाचनलाई असर गर्ने यस किसिमको नियमलाई अधिवेशनबाट मात्रै ल्याउन सकिने केहीले बताइरहेका छन् भने केहीले आईसीसी चुनावमै दलगत निकटताका आधारमा प्यानल बनाउने चलन रहेकोले विभिन्न एनसीसीहरुमा पनि यस्तो असर पर्ने भनिरहेका छन् ।
@पुराखबर र केबिसी खबरको सहकार्यमा