
पर्साबाट सशस्त्र प्रहरी बलले २५ लाख रूपैयाँ बराबरका भन्सार छलेर ल्याएका सामान बरामद गरेको छ।
बुधबार वीरगन्ज महानगरपालिका- १० आदर्शनगर इलाकाबाट २५ लाख २५ हजार ६ सय रूपैयाँ बराबरको सामान बरामद गरेको सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।
दुइटा ठेलामा लोड गरी भारतबाट नेपालतर्फ ल्याउँदै गरेको उल्लिखित मूल्य बराबरको बिल-बिजक नभएको लत्ताकपडा, स्मार्ट घडी र इयरबड्स लगायत सामान प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगन्जले बरामद गरेको हो।
सामान ल्याउने व्यक्तिहरू भने सशस्त्र प्रहरीलाई देख्नासाथ सामान छाडेर फरार भएका थिए।
बरामद गरिएमध्ये बिलबिजक बिनाको सुटिङको कपडा ५ लाख ७० हजारको तथा अन्य लत्ताकपडा, स्मार्ट घडी र इयरबड्स गरी १९ लाख ५५ हजार ६ सय रूपैयाँको छ।
बरामद सामान आवश्यक कारबाहीका लागि बुधबार नै वीरगन्ज भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरीले जनाएको छ।