मंगलबार , बैसाख २९, २०८३

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार ढलाउनुपर्ने बताएका छन्।

उनले यो कुरा आज म्याग्दी पुगेर भनेका हुन्।

सभापति शेरबहादुर देउवालाई बुढानिलकण्ठमा पुगेर आफूले ओली सरकार ढलाउने अवसर आएकोले नछोड्न सुझाव दिएको पनि उनले बताए।

‘कम्युनिष्टहरूको बीचमा अहिले भाँडभैलो भइरहेको छ। उनीहरू अवसरवादी हुन्, कुनै विचारमा अडेका होइनन्,’ उनले भने, ‘उनीहरू कुनै सिद्धान्तमा पनि मिलेका थिएनन्। जब सत्तामा पुगे अनि भाग मिलेन लडाइँ सुरू गरे।’

प्रधानमन्त्री ओलीले पार्टीमा बहुमत गुमाएपछि एकपछि अर्को असंवैधानिक, अधिनायकवाद र निरंकुशता तर्फको यात्रा थालेको आरोप पौडेलको छ।

‘पार्टीमा बहुमत गुमाएपछि ओलीले प्रतिनिधि सभा भंग गरे। अधिनायकवादी चरित्र देखाए। तर हामीले विरोध गरेपछि प्रतिनिधि सभा पुनर्स्थापना भयो,’ पौडेलले भने।

उनले कम्युनिष्ट दुई टुक्रा भएका बेला ओली सरकार ढलाउने अवसर भएको पनि बताएका छन्।

‘अहिले कम्युनिष्ट दुई फ्याक्ट छन्। यही बेला ओली सरकार गुमाइदिऔं मैले भनेको थिएँ,’ देउवालाई गत शुक्रबार दिएको सुझावबारे उनले भने, ‘प्रचण्ड-माधव नेपाल, झलनाथ खनाल एकातिर, केपी ओली अर्कोतिर भएका बेला सरकार ढलाइदिऊँ भनेको त्यो अवसर फुस्कियो।’

त्यसबेला सभापति देउवाले हिम्मत नगरेको पौडेलको भनाइ छ। केही समयमै सर्वोच्चले नेकपा एमाले र माओवादी केन्द्र ब्युँताइदिएको पौडेल बताउँछन्।

‘अदालतले एमाले र माओवादी केन्द्र ब्युँताइदियो। माधव नेपाल र झलनाथ खनालहरू ओलीतिरै टाँसिए,’ उनले भने।

आफूले सुझाव दिएका बेला सभापति देउवाले प्रचण्ड-नेपाललाई ओलीविरूद्ध अविश्वास प्रस्ताव ल्याउन भन्नुपर्नेमा त्यो अवसरसमेत गुमेको पौडेलको भनाइ छ।

‘प्रचण्ड-नेपाललाई ओलीविरूद्ध अविश्वास प्रस्ताव ल्याऊ हामी भोट हाल्छौं भन्नुपर्थ्यो,’ उनले भने, ‘त्यसो गरेको भए त्यहीबेला ओली सरकार जान्थ्यो। त्यो बेला कांग्रेस निर्णायक थियो तर अवसर गुमायो।’

उनले सभापति देउवालाई ढुलमुले नीति नलिन पनि भनेका छन्।

‘ढुलमुले नीति लिएर कांग्रेसले अवसर गुमाउन हुन्न। मेरो भनाइ यही हो, केपी ओलीसँग के लिनु छ र?,’ पौडेलले भने, ‘के लिनु भए सभापतिजीले भन्नुपर्‍यो।’

लोकतन्त्र र संविधानमाथि प्रधानमन्त्री ओलीले लगातार प्रहार गरेकोले यो सरकार ढलाउनुपर्ने उनले बताएका छन्।

‘यो सरकार सर्वसत्तावादी र निरंकुशतातिर गइरहेको छ। अधिनायकवादी ऐन ल्याएको छ,’ उनले भने, ‘लोकतन्त्रमाथि लगातार प्रहार भइरहेको छ। यस्तो बेला हामीले कसैसँग चोसोमोसो गर्न हुन्न। सबै कम्युनिष्ट एकै हुन् भन्न हुन्न। प्रजातन्त्र मास्ने अभियुक्त केपी ओली हो। उनलाई हटाउन किन कांग्रेसले ढुलमुले नीति लिने? प्रष्ट भएर अगाडि बढौं।’

केही दिनअगाडि पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा आफूले ओली सरकार ढलाउनेबारे प्रष्ट भएर पार्टी अगाडि जानुपर्ने कुरा राखेको पौडेलले बताए। उनले यो कुरा आज कांग्रेस म्याग्दीका पूर्वसभापति भूपेन्द्र खड्काको श्रद्धाञ्जली सभामा पुगेर खोलेका हुन्।

उनले लोकतन्त्रमा पारदर्शी हुनुपर्ने पनि बताए। ‘मलाई लप्पनछप्पनको कुरा आउँदैन। लुकीचोरीको व्यवस्था लोकतन्त्र होइन। यो त पारदर्शी हुन्छ,’ पौडेलले भने।

प्रधानमन्त्री ओलीले पुस ५ मा प्रतिनिधि सभा विघटन गर्दा पौडेल चुनाव र कांग्रेस नेतृत्वमा सरकारमा जाने पक्षमा थिएनन्। बदलिएको परिस्थितिमा देशलाई संकटबाट बाहिर ल्याउन कांग्रेसले सरकारको नेतृत्व गर्नुपर्नेमा अहिले पौडेल पुगेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP