शनिबार , भाद्र १३, २०८३

२६ फागुन, काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल पक्षका केन्द्रीय सदस्यहरुले पार्टी अध्यक्ष केपी शर्मा ओली पक्ष पेलेर जाने मनस्थितिमा देखिएको विश्लेषण गरेका छन् । आफूहरु पार्टीभित्र एकता कायम होस् भन्ने पक्षमा रहेको बताएका नेताहरुले अर्को पक्षसामू आत्मसमपर्ण भने नगर्ने बताएका छन् ।

सर्वोच्च अदालतले एमाले र माओवादी ब्यूँताएपछि साबिक नेकपाको प्रचण्ड समूहसँग अलग भएको माधवकुमार नेपाल पक्ष अन्तरिक छलफलमा जुटेको छ । मंगलबार सांसदहरुसँग छलफल गरेका नेताहरुले बुधबार केन्द्रीय सदस्यहरुको भेला गरेका हुन् ।

बानेश्वरस्थित अर्याल होटलमा भएको भेलामा केन्द्रीय सदस्यहरुले पछिल्लो २/३ दिनको घटनाक्रमको विश्लेषण गरेका छन् । नेताहरुका अनुसार एमाले ब्युँतिएपछि नेतृत्वले सम्वाद थालेको छैन । बरु कैलाली लगायतका जिल्लामा भएको घटनाले अध्यक्ष ओलीले नेतृत्व गरेको समूह पेलेर जाने मनस्थिति देखिएको छ ।

‘अध्यक्ष ओली पार्टीभित्र एकता कायम गर्ने पक्षमा देखिएका छैनन् । त्यसैले हामी मात्र झुक्नुको अर्थ छैन’ एक नेता भन्छन्, ‘नाजायज तर्कहरु मान्नु हुन्न र आत्मसमर्पण गरिन्न भन्ने साथीहरुको मत रहृयो ।’ भेलाले पार्टीमा तिक्तता बढाउने खलका गतिविधि तत्काल बन्द गर्न अध्यक्ष ओलीलाई आग्रह समेत गरेको छ ।

पाँच नीति : वाम गठबन्धनमा जोड

माधव पक्षका अधिकांश केन्द्रीय सदस्यहरु उपस्थित भेलाले पाँच नीति लिएर अगाडि बढ्नुपर्ने निष्कर्ष निकालेको छ ।

पहिलो, एमाले विधि, पद्धति र प्रणालीका आधार चलाइनुपर्छ । पार्टी केन्द्रदेखि स्थानीय तहसम्मै पार्टी विधानअनुसार चलाइनुपर्ने नेताहरुले साझा धारणा बनाएका छन् । ‘एमाले विगतमा झैं विधि, पद्धति र प्रणालीमा चल्नुपर्छ । यो विषयमा थोरै पनि सम्झौता गरिने छैन’, केन्द्रीय सदस्य जगनाथ खतिवडा भन्छन् ।

दोस्रो, पुनर्स्थापित एमाले र अदालतको फैसलाबारे साझा धारणा बनाइने । त्यो भनेको ‘फैसला गलत र राजनीतिक हो’ भन्ने बुझ्ने र मातहतका नेताहरुलाई बुझाइनेछ । तर, अदालतको फैसला अस्वीकार गर्न नसकिने भएकाले एमालेलाई थप सशक्त बनाउन लागिपर्ने निर्णय भएको खतिवडाले बताए ।

तेस्रो, २ जेठ २०७५ अगाडिकैसंरचना र विधानअनुसार पार्टी सञ्चालन हुनुपर्ने । अदालतले एमाले ब्यूँताएकाले माओवादी केन्द्रसँग ३ जेठ २०७५ मा भएको पार्टी एकता अगाडिकै पार्टी संरचना रहने र त्यसैअनुसार सञ्चालन हुनुपर्ने नेताहरुको जोड छ ।

एमालेको पार्टी संरचनाभन्दा अरुलाई नमान्ने निष्कर्ष बैठकबाट निकालिएको केन्द्रीय सदस्य सावित्रा भुसालले बताइन् । ‘एमालेले नचिन्ने पार्टी संरचना र विधान मान्न सकिँदैन । सवै नेताहरु यसमा सहमत हुनुहुन्छ’, उनले भनिन् ।

तल्लो कमिटीहरुलाई पनि त्यसअनुसार नै पार्टी सञ्चालन गर्न र भेला बैठक राख्न भनिएको एक नेताले बताए ।

चौथो, एकताबद्ध एमाले ओलीकै भूमिकामा निर्भर । अध्यक्ष एव्म प्रधानमन्त्री ओली कसरी प्रस्तुत हुन्छन्, त्यसैआधारमा एमालेभित्र प्रस्तुत हुने निष्कर्ष बैठकले निकालेको छ र ‘पार्टी एकताबद्ध रहन्छन् वा अन्तरविरोध चर्कन्छ भन्ने कुरा अध्यक्ष ओलीकै भूमिकामा भर पर्छ’, भुसालले भनिन् ।

केही नेताले त पार्टीमा सम्मानजनक व्यवहार नभए फरक ढंगले अगाडि बढ्नुपर्ने अवस्था आउन सक्ने समते बताएका छन् । ‘हामी माओवादी त बन्न सक्दैनौं, तर पार्टीमा अपमानजनक व्यवहार भए अलग राजनीतिक समूह बनाएर जानुपर्ने अवस्था पनि सक्छ भन्ने मत पनि केही साथीहरुले राखेका छन्’ एक नेताले भने ।

पाँचौं, वाम एकता र वामपन्थी सरकारमा जोड । माधव पक्षका केन्द्रीय सदस्यहरुले अहिलेको जनमत वाम सरकारलाई भएकाले सकेसम्म वाम एकता कायमै राख्नुपर्ने, नभए वाम गठबन्धनको सरकार बनाउनुपर्नेमा जोड दिएका छन् । ‘वामपन्थीहरुको सरकार बनाउन जोड दिनुपर्छ । अध्यक्ष केपी शर्मा ओलीलाई त्यही सुझाव दिनुपर्छ’, बरिष्ठ नेता माधव नेपालले भनेका छन् ।

त्यो सम्भव नभए एमाले नेतृत्वको वर्तमान सरकार जोगाउनु कर्तव्य भएकोमा नेताहरुले जोड दिए । तर, अहिलेसम्म सरकार र पार्टीबारे ओलीले कुनै प्रस्ताव नल्याएको नेता नेपालले जानकारी दिए ।

ओलीप्रति चार टिप्पणी

सहभागीमध्ये अधिकांश नेताहरुले धारणा राखेका थिए । र, अध्यक्ष ओलीबारे मुलतः चार टिप्पणी गरेका थिए ।

पहिलो, अध्यक्ष एवं प्रधानमन्त्री ओली जसरी पनि सरकार टिकाउन लाग्छन् भन्नेमा नेताहरुको समान बुझाइ थियो । अहिलेसम्मका गतिविधिले पनि ओलीले सरकारलाई निरन्तरता दिन चाहेकाले त्यसमा साथ दिनुपर्ने नेताहरुले बताएका छन् ।

दोस्रो, ओलीले पार्टी कब्जाको नीति नछोड्नेमा नेताहरुको समान बुझाइ थियो । एक नेता भन्छन् ‘ओलीको पार्टी कब्जा तरिकालाई हामीले सामाजिक फाँसिवादी भन्ने गरेका छौं । आज पनि त्यही कुरा भयो ।’

तेस्रो, ओली कम्युनिष्ट आन्दोलन सिध्याउने यात्रामा रहेको भन्दै नेताहरुले पार्टीभित्रबाट त्यसलाई रोक्नुपर्नेमा जोड दिएका छन् ।

चौथो, ओली समाजवादी आन्दोलनबाट बिमुख हुने यात्रामा रहेकाले त्यो प्रवृत्ति रोक्नुपर्ने नेताहरुले बताएका थिए ।

नेताहरुलाई माधव नेपालको आश्वासन

ओली प्रवृत्ति र आगामी योजना बताएका नेता नेपालले बैठकमा सहभागी नेताहरुलाई आश्वस्त पार्ने प्रयास पनि गरेका थिए ।

उनले खराब कुराविरुद्ध कदापि सम्झौता नगर्ने बताएका छन् । ‘पार्टी नेता-कार्यकर्ताको न्याय र विवेकपूर्ण संरक्षणमा कमी गरिँदैन’ उनले भनेका छन्, ‘एमाले हामीले निर्माण गरेको हो । पार्टी निर्माणकर्तामध्ये दुई जना यही छौं ।’ उनले अहिले भइरहेका टिप्पणीहरुको आयु दुई दिन पनि नभएकाले कुनै चिन्ता नलिन पनि आग्रह गरेका छन् ।

‘पार्टी निर्माण गर्ने र हुर्काउनेहरु यही छौं, धेरै नेताहरु यही हुनुहुन्छ । यो पार्टी जसले निर्माण गरेको छ । रगत र पसिना बगाउनेहरुलाई आयो वा गयो भन्नु भनेको मूर्खता हो । त्यस्तो बोलीको आयु दुई दिन पनि रहँदैन’ नेपालले भनेका थिए ।

@onlinekhabar

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP