शुक्रबार , भाद्र १२, २०८३

पवित्र तीर्थस्थल देवघाटमा स्नान गर्न भक्तजनको घुइँचो लागेको छ । शनिबार बिहानबाट देवघाट प्रवेश गर्ने क्रम बढ्दै गएर आज बिहान भक्तजन देवघाट प्रवेश गरिरहेका छन् । दिउँसोसम्म यो क्रम जारी रहने जनाइएको छ ।

विगत तीन वर्षदेखि कोभिडका कारण हुन नसकेको मकरसङ्क्रान्ति मेला यस वर्ष हुँदा देशभर र भारतबाट भक्तजन आएका हुन् । देवघाट क्षेत्र विकास समितिका अध्यक्ष बद्री अधिकारीका अनुसार रातभर जाग्राम बस्नेहरु चितवन र तनहुँतर्फ गरी २० हजारभन्दा बढी रहेका थिए ।

तनहुँतर्फका गलेश्वर, महेश सन्यास, हरिहर आश्रमका सभाकक्षसमेत भरिएका थिए । यस्तै दुवैतर्फका विद्यालय, मन्दिर, सत्तललगायत रुखमुनिसमेत भक्तजनले भरिएको उनले जानकारी दिए । भगवान्को नाम जपेर साँझदेखि भजनकीर्तन गर्दै दीप प्रज्ज्वलन गरेर खाली ठाउँमा समेत भक्तजन बसेको उनको भनाइ छ । मेलालाई व्यवस्थित गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासमेत खटिएका छन् । अध्यक्ष अधिकारीको भनाइमा झण्डै एक हजार सुरक्षाकर्मी देवघाट क्षेत्रमा परिचालित छन् । नदीमा नुहाउने र ¥याफ्टिङका क्रममा दुर्घटना भई हालेमा उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी र क्षेत्र विकास समितिका स्वयंसेवक तयारी अवस्थामा राखिएको छ ।

सवारी व्यवस्थापनका लागि आँपटारी र जुगेडीबाट जाने र रामनगरबाट फर्किने गरी व्यवस्थापन गरिएको छ । देवघाटका वारि र पारि दाताहरूले साँझदेखि नै चिया, जेरीपुरी, खानासमेत निःशुल्क खुवाइरहेको उनले जानकारी दिए । उहाँले भन्नुभयो, “गलेश्वर आश्रममा मात्रै शनिबार साँझबाट दुई हजारभन्दा बढीलाई खाना खुवाइसकिएको छ । अन्य आश्रमहरूले पनि निःशुल्क भोजन गराइरहेका छन् ।” चिसो निकै रहेकाले ठाउँ–ठाउँमा धुनी बालेर रातभर भजनकीर्तन भएको उनको भनाइ छ ।

शनिबार बिहान नौ बजे त्रिशूली र कालीगण्डकीको वेणीमा बाँसको लिङ्गो ठड्याएर औपचारिकरूपमा माघे सङ्क्रान्ति मेलाको शुभारम्भ गरिएको थियो । शनिबारदेखि सूर्य दक्षिणी गोलाद्र्धबाट उत्तरी गोलाद्र्धतर्फ प्रवेश गर्ने भएकाले दिन लामो र रात छोटो हुँदै जाने विश्वास गरिन्छ । ‘भविष्य पुराण’, ‘विष्णुवचन’ तथा ‘धर्मसिन्धु’ नामक ग्रन्थमा यस दिन पवित्र तीर्थस्थलमा स्नान गरी घिउ, चाकु, तिलको लङ्डु, सागपात, तरुल, बस्त्र, पानीको भाँडो र मकलसहितको सिदा दान गरेमा विशेष फल प्राप्त हुने र उक्त पदार्थ आफूले खाएमा शरीर पोषिलो हुनाका साथै निरोग भइने जनविश्वास रहेको छ ।

आजको दिन देवतासमेत देवघाटमा स्नान गर्न आउने किंवदन्ती रहेको छ । यहाँ स्नान गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहेकाले टाढा–टाढाबाट समेत भक्तजन स्नानका लागि आउने गर्दछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP