सोमबार , अषोज २६, २०८३

लामो समयदेखि सफाइ अभियान सञ्चालन गरे पनि बागमती नदीमा फोहर फाल्न रोकिएको छैन।

अभियानकर्मी किशोरसिंह शाहीले अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले निर्माण गरेको भकारी एवं चौरमा बसी गुह्रेश्वोरी मन्दिर अगाडि गौरीघाट नजिकैको नदी किनारमा फोहोर फाल्ने काम नियमित भएको बताए।

उनका अनुसार अझै पनि बागमती नदीमा मोटरका पार्टपूर्जा, बियरका क्यान, मोटर साइकलका टायर, घरबाट निस्किने फोहर फाल्ने गरिएको पाइएको छ। सफाइको मुख्य जिम्मेवारी स्थानीय सरकारको भए पनि काठमाडौं महानगरपालिकालगायत काठमाडौं उपत्यकाका अन्य नगरपालिकाले काम गर्न सकेका छैनन्।

स्थानीय सरकारले फोहर फाल्नेलाई दण्ड जरिवाना नगरेसम्म नदी सफाइ अभियान सफल नहुने उनको अनुभव छ। बागमती सफाइ महाअभियानले विसं २०७० जेठ ५ मा सफाइ सुरू गरे पनि तीन वटै तहका सरकारले प्रभावकारी रुपमा काम नगर्दा अभियानकर्मीले दुःख व्यक्त गरेका छन्।

बागमती सफाइ अभियानको ५०५औं हप्तामा आज गौरीघाट नजिकै अधिकार सम्पन्न बागमती समितिका अध्यक्ष उद्धवप्रसाद तिमिल्सिना, अधिकार सम्पन्न बागमती समितिका कर्मचारी, तिलगंगा महिला समूह एवं बागमती अभियानकर्मीले सफाइ गरी एक दशमलव पाँच मेट्रिक टन नकुहिने फोहर व्यवस्थापन गरेका छन्।

सफाइ अभियानबाट उठाइएको फोहर काठमाडौं महानगरपालिका वातावरण विभाग टेकुको ट्रकमा हालेर व्यवस्थापन गरिएको छ। अर्को शनिबार आगामी माघ ७ गते पनि गौरीघाट क्षेत्रमै सफाइ गरिने जनाइएको छ।

‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ प्रत्येक हप्ताको शनिबार बिहान ७ः३० बजेदेखि ९: ३० बजेसम्म दुई घण्टा नदी सफाइ हुँदै आएको छ।

विसं २०७० जेठ ५ गतेदेखि सुरु भएको बागमती सफाइ महाअभियानले यसका सहायक नदी सफाइ गर्नसमेत जागरुक बनाएको छ। काठमाडौं उपत्यकामा बागमतीका सहायक नदीसँगै चक्रपथका विभिन्न क्षेत्रमा गरी २० स्थानमा सफाइ भइरहेको छ।

यसैगरी उपत्यका बाहिर मुख्य सहर, नदी र सांस्कृतिक सम्पदास्थलमा सफाइ भइरहेको छ। उपत्यका र बाहिर गरी हाल १०७ स्थानमा सफाइ भइरहेको जनाइएको छ। बागमती सफाइ महाअभियान सुरु भएदेखि प्रत्येक हप्ता शनिबार निरन्तर जारी छ। जाडो, गर्मी, वर्षा, चाडपर्व, भूकम्प, नाकाबन्दी कोरोना महामारीजस्ता प्रतिकूल अवस्थामा पनि सफाइ निरन्तर छ।

हप्तामा दुई घण्टा देशसेवाका लागि स्वयंसेवा भन्ने नाराका साथ अभियानकर्मी न नदी किनारमा उत्रने गरेका छन्। काठमाडौं उपत्यकामा बागमती नदीका सबै सहायक नदीमा सफाइ अभियान सुरू भइसकेको छ। अभियानलाई स्थानीय सरकारले साथ नदिँदा भने प्रभावकारिता बढ्न सकेको छैन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP