मंगलबार , बैसाख २९, २०८३

नेपाली कलाकारको साझा संस्था चलचित्र कलाकार संघमा यतिबेला चुनावी सरगर्मी सुरु भएको छ । रविन्द्र खड्का अध्यक्ष रहेको वर्तमान कार्यसमितिले आगामी ४ चैत्रमा संघको १९औं महाधिवेशनको मिति तय गरेपछि संघको नेतृत्व हत्याउन कलाकर्मीले कसरत सुरु गरेका हुन् ।

कतिपय उम्मेदवार सामाजिक सञ्जालमार्फत् उम्मेदवारी घोषणा गर्दैछन् भने केही आफ्ना नजिकका साथीभाइसँग आफू केमा उठ्दा उपयुक्त हुन्छ भनेर सल्लाहसहित साथ र समर्थन माग्नमा ब्यस्त देखिन्छन् । म फलानो पदमा उठ्ने भन्दै नजिकका साथीभाइ डाकेर चियापान गराउँदै सल्लाह र समर्थन जुटाउन लागिरहेका छन् ।

केही दिनयता बागबजार, अनामनगरलगायत आसपासका चिया पसलमा कलाकारका स–साना झुण्ड भेट्न सकिन्छ, जसले चियाको चुस्कीसँगै संघको चुनावको चर्चा गरेको सुन्न पाइन्छ । चुनावी चहलपहल हेर्दा नेतृत्वको कसरतमा रहेका युवापुस्ता संघमा अव युवाको पालो भनिरहेका छन् भने पुराना पुस्ताहरुले भने अनुभवीलाई ग्राह्यता दिनुपर्ने आवाज उठाइरहेका छन् । यी गतिविधि नियाल्दा संघको महाधिवेशन विगतको भन्दा घम्साघम्सी हुने अनुमान गर्न सकिन्छ ।

को–को छन् अध्यक्ष आकांक्षी ?

आजको मितिसम्म हेर्दा कलाकार संघको अध्यक्षमा रविन्द्र खड्का, सविन श्रेष्ठ, रेजिना उप्रेती, सुशान्तकुमार श्रेष्ठ र मोहन निरौला गरी ५ जना आकांक्षी देखिएका छन् । रविन्द्र खड्का पुनः अध्यक्षको लाइनमा छन् भने अध्यक्षको आकांक्षीहरु अरु पनि बढ्ने देखिन्छ ।

कोरोनाले आफूले सोचेअनुसार काम गर्न नपाएकाले अधुरो काम पुरा गर्ने भन्दै रविन्द्र खड्काले पुनः अध्यक्षमा लबिङ गरिरहेका छन् । त्यस्तै, अहिले उपाध्यक्ष तथा संघका प्रवक्तासमेत रहेका मोहन निरौला संघमा आफ्नो नेतृत्वको खाँचो रहेको बताउँछन् । संघको विभिन्न पदमा बसेर आफूले हासिल गरेको अनुभवले संघलाई नयाँ दिशा दिने उनको जिकिर छ ।

त्यस्तै हाल संघको उपाध्यक्ष रहेकी अभिनेत्री रेजिना उप्रेतीले पनि उम्मेदवारी दिने घोषणा गरेकी छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले संघको महाधिवेशनमा नेतृत्वका लागि प्रतिस्पर्धा गर्ने जनाएकी हुन् । संघलाई क्रियाशील र रचनात्मक बनाउने एजेन्डासहित उनी आफू  आएको बताएकी छन् । २४ वर्ष निरन्तर संघको सदस्य रहेको, आजीवन सदस्य हुँदै केन्द्रीय उपाध्यक्ष र वरिष्ठ उपाध्यक्ष भइसकेकाले अध्यक्ष पदका लागि आफू योग्य रहेको उनको धारणा छ ।

यस्तै, अभिनेता सविन श्रेष्ठले पनि अध्यक्ष पदका लागि उम्मेदवारी दिने घोषणा गरेका छन् । उनले देशभरका कलाकारलाई एकजुट बनाउने, कलाकार संघलाई समृद्ध बनाउने र हरेक दुःखमा कलाकारलाई सघाउने मुख्य एजेण्डा अगाडि सारेका छन् ।

कलाकार निर्माता सुशान्त कुमार श्रेष्ठले समेत संघको अध्यक्ष उठ्ने घोषणा गरिसकेका छन् । विकास बोर्डलगायत चलचित्रसम्बन्धि विभिन्न संघ संस्थामा रहेर अनुभव हासिल गरेका उनले संघमा कलाकारको हकहित र सामाजिक सुरक्षा लगायतको एजेन्डा लिएर अघि बढ्ने बताएका छन् ।

अध्यक्षको अलावा उपाध्यक्षलगायत विभिन्न पदका लागि समेत कलाकारले सामाजिक सञ्जालबाट उम्मेदवारी घोषणा गर्ने क्रम जारी छ । रविन्द्र खड्का र मोहन निरौलामध्ये बहुमत केन्द्रीय सदस्यको चाहना जो प्रति हुन्छ, त्यही अध्यक्षमा आउने र अर्काेले सघाउने भद्र सहमतिसमेत भएको बताइन्छ ।

कस्तो छ महाधिवेशनको तयारी ?

४ चैत्रको महाधिवेशन भब्य बनाउन कलाकार संघले तयारी थालिसकेको छ । जसका लागि संघले वर्तमान कार्यसमितीका सदस्यहरुलाई जिम्मेवारी समेत बाँडफाँट गरेको छ । महाधिवेशनका लागि साधारण सदस्यको सदस्यता नविकरण सुरु भएको छ । सदस्यता नविकरणमा पैसाको चलखेल नहोस् भनेर पहिले जस्तो एक ब्यक्तिले धेरैको सदस्यता नविकरण गर्न नमिल्ने र सदस्य आफै आएर नविकरण गर्ने ब्यवस्था गरिएको छ । सदस्यता नविकरणको म्याद ४ फागुनसम्म रहेको छ ।

महाधिवेशनका लागि स्काई दरबार पार्टी प्यालेस बुकिङ भएको छ । मञ्च ब्यवस्थापनमा लागि संघका सानु ताम्राकारलाई जिम्मेवारी दिइएको छ । निर्वाचन कमिटी बनाउन भने बाँकी रहेको संघका अध्यक्ष खड्काले बताए ।

के गर्दैछ नेफ्टा र निर्देशक समाज ?

नेपाली कला क्षेत्रका दुई संस्था चलचित्र निर्माता संघ र चलचित्र संघले केही अगाडि नयाँ नेतृत्व चयन गरिसकेका छन् । चलचित्र कलाकार संघ ४ चैत्रमा महाधिवेशन गर्दै गर्दा चलचित्र प्राविधिक संघ (नेफ्टा) र निर्देशक समाजले के गर्दैछन् ? भन्ने प्रश्न उठ्न सक्छ ।

हालै चलचित्र प्राविधिक संघ (नेफ्टा) ले चलचित्र कलाकार संघ भन्दा अगावै ११ फागुनमा महाधिवेशन मिति तोकेको छ । महाधिवेशन मिति तोकिएसँगै नेफ्टाको नेतृत्वका लागि ४ ब्यक्ति भिड्ने चर्चा छ । जसमा पुष्कर लामासहित अनन्त घिमिरे, शंकर पाण्डे र प्रकाश महरा रहेका छन् ।

वर्तमान अध्यक्ष पुष्कर लामा पुनः नेफ्टामा दोहोरिने कसरतमा छन् । त्यस्तै अनन्त घिमिरे, प्रकाश महरा वर्तमान अध्यक्ष लामाले संघमा राम्रो नेतृत्व गर्न नसकेको भन्दै आफूले संघलाई अव राम्रो तवरबाट अगाडि लैजाने भन्दै अगाडि बढिरहेका छन् । शंकर पाण्डे भने लामा पुनः अध्यक्ष उठे आफू पनि अध्यक्षमै उठ्ने तर उनीबाहेक अरु अध्यक्ष उठे महासचिवमा चित्त बुझाउने बताउँदै आएका छन् ।

त्यस्तै निर्देशक समाजले पनि फागुनको अन्त्यमा महाधिवेशन गर्ने तयारी गरिरहेको छ । महाधिवेशन मिति भने अर्काे साता तोकिने निर्देशक समाजका महासचिव जनकदीप पराजुलीले रातोपाटीलाई बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP