मंगलबार , बैसाख २९, २०८३

आधुनिकताको नाममा आफ्नो मौलिक संस्कार,संस्कृति, खानपान र परम्परालाई बिर्संदै गइरहेको परिप्रेक्ष्यमा बुटवलको मिलनचोक तीनकुने नजिकै रेग्मीपथको पश्चिमतर्फ बिल्कुलै फरक परिवेश छ । ढुंगाले छाएको, काठै काठको बार्दलीसहितको चिटिक्कको दुईतले घर । घरको आँगन अगाडि बाँसको तगारो । तगारो छेउमा ढुंगेधारा र मकैको सुली । घरको भुईं तलामा एउटा कुनामा ढिंकी, अर्कोतिर जाँतो । कौसीमा मौरीको घार, मकैका झुत्ता र पाकेको फर्सी लहरै मिलाएर झुण्डाइएको । घरभित्र छिर्ने बित्तिकै मदुस, भुइँमा गुन्द्रीमाथि काम्लो राडी । भित्तामा मादल, डम्फु, भरुवा बन्दुक, धनुकाण, डोको, फुर्लुङ र चाल्नो आदि ।

तर यो घर मात्र होइन, यो त पहाडी जिल्लाका गाउँबस्तीका परम्परागत खाजा र खानाका परिकार शहरका उपभोक्तालाई पस्कने रेस्टुरेन्ट अर्थात् मगर्स किचन हो । ४ वर्ष कोरियामा रोजगारी गरेर फर्केका मगर फिल्मका निर्देशक, कलाकार र लेखक समेत रहेका ४७ वर्षीय सञ्जय काउछा मगरले मगर्स किचनको सुरुवात गरेका हुन् ।

करिब ६० लाख रुपैयाँ लगानी भएको सांस्कृतिक घर र मिनि संग्रहालय जस्तो देखिने मगर्स किचेनमा भुटेका मकै, भटमास, कोदो र फापरको रोटी, ढिँडो, कोदो र फापरकै मःमः, सेल रोटी, बटुक, पिडाँलु, तरुल, चुकाउनी, स्थानीय जातका कुखुराको मासु आदि अर्गानिक खाजा र खानाका परिकार उपलब्ध हुने सञ्चालक काउछा मगरले बताए । ‘पहाडी जिल्लाका गाउँघरमा आम नेपालीले खाने गरेका परम्परागत नेपाली र मगरका परिकार, त्यहाँकै संस्कार, संस्कृति र जीवनशैली पस्कने प्रयास गरेका छौं’ सञ्चालक काउछाले भने – ‘आयातित संस्कार र परिकारको साटो परम्परागत अर्गानिक खाजा र खानाका परिकार प्रवद्र्धन गर्दै नेपाली संस्कृतिलाई जोगाइराख्ने मुख्य उद्देश्य हो ।’

कोदो, फापर, सिस्नो, मकै भटमास लगायतका वस्तु गुल्मी, बागलुङ र पाल्पाका ग्रामीण भेगबाटै किनेर ल्याउने गरेको काउछाले बताए । मगर्स किचनमा तयारी मसलाको सट्टा सिलौटामा पिसेको मसला मात्रै प्रयोग हुन्छ । कोरोना महामारीका कारण भएको लकडाउनले औपचारिक उद्घाटन हुन नपाए पनि मगर्स किचन छोटो समयमै खासगरी शहरीया उपभोक्ताको रोजाइको थलो बनेको सञ्चालक काउछा बताउँछन् । ‘पाको पुस्ताभन्दा युवा पुस्ताको आकर्षण धेरै छ, शहरमै जन्मे हुर्केको पुस्ता आफ्नो पुर्ख्यौली थातथलोको झल्को मेट्न यहाँ आउँछन्’–काउछाले भने ‘लोपोन्मुख सामग्रीहरु संग्रह गरेर यसलाई मिनी संग्रहालयको रूपमा विकास गर्ने लक्ष्य छ ।’

उपभोक्तालाई आफ्नै बारीमा उत्पादन भएका खाद्य पदार्थ खुवाउने लक्ष्यसहित मगर्स किचनले सैनामैना नगरपालिकाको सालझण्डीमा २ बिघा खेत लिजमा लिएर तरकारी उत्पादनदेखि लोकल कुखुरा पाल्ने, होमस्टे सञ्चालन गर्ने र हरेक शुक्रबार रोधी सञ्चालन गर्ने योजना बनाएको काउछाले बताए ।

आन्तरिकसँगै विदेशी पर्यटकलाई पनि नेपाली मौलिक र परम्परागत परिकारतिर आकर्षित गर्ने लक्ष्यसहित स्थापना भएपनि लगत्तै शुरु भएको कोरोना महामारी,चर्को बैंक ब्याज दर,महंगो जग्गा भाडा र आर्थिक मन्दीका कारण व्यवसाय प्रवद्र्धनमा निकै कठिनाई आएको काउछाले बताए ।

स्थानीय र प्रदेश सरकारले नेपाली मौलिक संस्कृति संरक्षणका लागि स्थापना भएका यस्ता व्यवसायलाई विषेश नीति बनाएर राहत र सहुलियत दिएमा सहज हुने काउछाको अपेक्षा छ । ‘धेरै पटक स्थानीय र प्रदेश सरकारका सम्बन्धित निकायमा धाएं तर आश्वासन मात्रै पाएं, सहयोग पाइन’– काउछाले भने । मगर्स किचनलाई निरन्तरता दिन समस्त मगर समुदाय र नेपाली संस्कृतिप्रेमी सबैसंग काउछाले सहयोगको याचना गरेका छन् । ‘आफ्नो मौलिक संस्कृति र परम्परालाई जोगाउंदै अहिलेका नयां पुस्ता र भावी पुस्तासम्मलाई देखाउन सकियोस् भन्ने उद्देश्यले ऋण खोजेर व्यवसाय शुरु गरियो तर कोरोना,चर्को ब्याज दर र जग्गा भाडा अनि आर्थिक मन्दी लगायतका समस्याले व्यवसायलाई टिकाउन कठीन भएको छ’–काउछाले भने–‘सबैको सहयोग भएमा यसलाई थप व्यवस्थित र विस्तार गर्ने हौसला मिल्ने थियो ।’

लुम्बिनी प्रादेशिक अस्पतालका फिजिसियन डा नन्दु पाठकले आफू पनि नौलो लागेर त्यहाँ पुगेर परम्परागत परिकारको स्वाद लिएको बताए । ‘स्वास्थ्यका दृष्टिले पनि पश्चिमा संस्कृतिका परिकारभन्दा नेपाली मौलिक परिकार धेरै फाइदाजनक छन्’ उनले भने –सकभर हामीले हाम्रै परम्परगत खाना र खाजाका परिकार खानु राम्रो हुन्छ ।’

लुम्बिनी प्रदेश सरकार पर्यटन मन्त्रालय, पर्यटन विकास परिषदका प्रमुख रामु जोशीले मगर्स किचन उउटा मौलिक र नेपाली संस्कृति संरक्षणमा योगदान दिएको व्यवसाय भएकाले कार्यविधि बनाएर सरकारले सहयोग र सहुलियत दिनुपर्ने धारणा राख्छन् ।

माघे संक्रान्तिमा तीनदिने विशेष कार्यक्रम

यसैबीच मगर्स किचनले माघे संक्रान्ति पर्वको अवसरमा नेपाली र मगर समुदायका खानाका परिकारहरु सहित तीनदिने विशेष कार्यक्रम मगर खाना महोत्सव आयोजना गरेको छ । पुस २९,३० र माघ १ गते महोत्सवमा खिचडी,तरुल,सेलरोटी,वाक्स्या,भाङको अचार लगायतका परिकारहरु सहुलियत दरमा उपलब्ध हुने सञ्चालक काउछाले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP