
प्रहरी महानिरीक्षक सिंहले तालिम सञ्चालन पद्धतिलाई व्यवस्थित र संस्थागत बनाउन आवश्यक भौतिक पूर्वाधार, प्रशिक्षण सामग्री, प्रशिक्षकको गुणस्तर, पाठ्यक्रमको विकास लगायतका प्रहरीको तालिमसँग सम्बन्धित महत्त्वपूर्ण विषयलाई सम्बोधन गरी लागू भएको ‘नेपाल प्रहरीको तालिम सञ्चालन कार्यादेश, २०७९’ मा आधारित रही प्रशिक्षण गतिविधिहरूलाई व्यवस्थित र व्यावसायिक तवरले सञ्चालन गर्न निर्देशन दिए । नेपाल प्रहरीमा विगत केही समयदेखि रोकिएको एफपियु मिसनलाई पुनः निरन्तरता दिन संगठनले आवश्यक तयारी गरिरहेको उनले जानकारी गराए ।
सो अवसरमा नेपाल प्रहरी शिक्षालयका निर्देशक प्रहरी नायव महानिरीक्षक सन्दीप भण्डारीले धन्यवाद ज्ञापन गर्दै सीमित स्रोत साधनका बीच पनि उत्कृष्ट प्रशिक्षण गतिविधि सञ्चालन गरी दक्ष जनशक्ति उत्पादन गर्दै आइरहेको, छोटो समयमा ४ वटा आधारभूत तालिम उत्कृष्ट ढंगले दीक्षान्त गराएको, भौतिक पूर्वाधारको विकास, आन्तरिक सुद्धिकरण र सुदृढिकरणमा जोड दिई कार्य सञ्चालन गरिरहेको उल्लेख गरे । साथै उनले शिक्षालयले अवलम्बन गरेका असल अभ्यासहरूको बारेमा अवगत गराउनुभएको थियो भने शिक्षालयका उप-निर्देशक प्रहरी उपरीक्षक प्रकाश मल्लले शिक्षालयको विविध पक्ष समेटिएको प्रस्तुतीकरण प्रस्तुत गरेका थिए ।
कार्यक्रममा बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक किरण बज्राचार्य, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर चितवनका प्रमुख, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुखलगायत अन्य सिनियर प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।