मंगलबार , बैसाख २९, २०८३

२० फागुन, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले २०७२ सालमा काठमाडौंमा सम्पन्न १३ औं महाधिवेशनदेखि नै पार्टी सभापतिमा उम्मेदवारी दिने तयारी गरेको बताउँदै आएका छन् । २०७४ को आम निर्वाचनमा पराजित भएपछि उनले महाधिवेशन लक्षित कार्यक्रमलाई तीव्रता दिए ।

१४ औं महाधिवेशनमा कुनै पनि हालतमा सभापतिको उम्मेदवार बन्ने बताउँदै आएका उनले जिल्ला दौडाहाका क्रममा पार्टी संस्थापनको खुलेरै आलोचना गर्ने गरेका छन् । पछिल्लो केही महिनादेखि भने उनले सरकारको आलोचना गर्न थालेका छन् । संसद विघटन र सरकारको ‘पर्फमेन्स’प्रति उनले चर्को टिप्पणी गर्ने गरेका छन् ।

विभिन्न जिल्लामा पुगेर काठमाडौं फर्केका नेता कोइरालासँग वर्तमान राजनीति, कांग्रेसको भूमिका र उनको उम्मेदवारीमा केन्द्रित रहेर कुराकानी गरेका छौं ।

प्रस्तुत छ, डा. कोइरालासँगको कुराकानीको सम्पादित अंश :

जिल्ला दौडाहामा हुनुहुन्छ, संसद् विघटन यताका राजनीतिक घट्नाक्रमलाई जनताले कसरी बुझेका रहेछन् ?

मैले नेपाली कांग्रेसका कार्यकर्ता र प्राध्यापक–बुद्धिजीवि गरी दुईथरि मान्छेहरूसँग भेटघाट गरें । पार्टी कार्यकर्तामा निर्वाचन भयो भने कांग्रेस बलियो बन्छ भन्ने धारणा पाएँ । तीनवटै तहमा कांग्रेस कमजोर भएकाले त्यस्तो विचार आएको हुनसक्छ ।

मैले उहाँहरुलाई संसद पुनर्स्थापना नभए संविधान ‘डिरेल’ हुन्छ भनेर सम्झाएँ । उहाँहरुले पनि चुनाव नहुने रहेछ भन्ने बुझ्नुभयो । बुद्धिजीविहरू त संसद विघटन गलतै हो भन्नेमा सुरुदेखि नै स्पष्ट थिए । ९५ प्रतिशत बुद्धिजीविले ५ पुसको कदम गलतै हो भनिरहेका थिए ।

चुनाव भए धेरै सिट जितिन्छ भन्नेमा कार्यकर्ता मात्र हो कि कांग्रेस नेृतत्व पनि ?

केही साथीहरूले केपी ओलीजीले वैशाखमै चुनाव गराउँछन् भनेर तर्क गरे । जबकी, निर्वाचन आयोगले आजसम्म पनि नेकपा विवादमा एउटा पक्षलाई आधिकारिकता दिन सकेको छैन । आयोगले आधिकारिकता नदिएसम्म चुनावमा भाग लिन सम्भव हुँदैन । त्यसैले म चाहिँ कुनै पनि हालतमा वैशाखमा निर्वाचन हुँदैन र यो संविधान जान्छ भन्नेमा म प्रष्ट थिएँ ।

कांग्रेस नेतृत्वले यो नबुझेको हो कि प्रधानमन्त्रीसँग साँठगाँठ गरेर मौन बसेको ?

उहाँहरूबीच केही न केही समझदारी भएको पटक–पटकको भेटघाटले देखाएको छ । भित्री कुरा के हो, भन्नुभएको छैन, तर हामीले केन्द्रीय समितिमा अल्पमतमा भएपनि विघटनलाई स्वीकार गरेनौं । विघटनको विरोधमा कार्यक्रम पनि गर्‍यौं ।

तर सर्वोच्च अदालतको फैसलासँगै संसद पुनर्स्थापना हुँदा पनि कांग्रेसलाई प्रश्नले छाडेन । प्रधानमन्त्रीको राजीनामा माग्न समेत सकेन भनेर मानिसहरुले प्रश्न गरे, जबकी यो प्रकरणपछि धेरै प्रश्न त प्रधानमन्त्रीमाथि उठ्नुपर्ने थियो होइन ?

मैले त ओलीजीले नैतिकताको आधारमा राजीनामा दिनुपर्छ भनेर सुरुदेखि नै भन्दै आएको छु । हाम्रो पार्टी सभापतिजीले पनि भर्खरै सार्वजनिक मञ्चबाट नरम भाषामा नैतिकताको आधारमा राजीनामा दिँदा राम्रो भन्नुभएको छ ।

तर, कांग्रेस पार्टीले आधिकारिक वक्तव्य जारी गरेको छैन । यसले पनि राजनीतिमा अर्थ राख्छ । आगामी चुनावमा कांग्रेसले जित्छ, जित्दैन भन्ने कुरा धेरै हदसम्म पार्टी संगठनमा भर पर्छ । तर लोकतन्त्रका लागि लडेको पार्टीले त्यति पनि नबोल्दा त कमजोरी देखिन्छ नै ।

संसद अधिवेशन आह्वान भएको छ । नेकपाको दुबै समूहले कांग्रेसको साथ खोजेको छ । अब कसलाई सघाउनुहुन्छ ?

अब कसरी अगाडि जाने भन्ने सम्बन्धमा पार्टी केन्द्रीय समिति बैठकमा छलफल गर्छौं । नेकपा कानूनी रुपमा विभाजन नभएकाले ‘पर्ख र हेर’ को अवस्था पनि छ ।

निर्वाचन आयोग संसदतिर हेर्ने, संसदमा निर्णायक भूमिकामा रहेको कांग्रेस निर्वाचन आयोगतिर हेर्ने । ‘पर्ख र हेर’ नीतिले राजनीतिको गाँठो नफुकाउने भयो नि ?

‘पर्ख र हेर’सँगै सभापति र वरिष्ठ नेताहरूले छलफल गरिरहनु भएको होला । हामीले पनि आफ्नो तहबाट गरिरहेका छौं । सर्वोच्च अदालतको आदेशअनुसार २३ गते बोलाइएको संसद अधिवेशन २४ गते नै रोकिदिन्छन् कि भन्ने डर पनि छ । खाली रहेको उपसभामुख निर्वाचनको तालिका सार्वजनिक गरियो भने चाहिँ संसद केही दिन नरोकिने अवस्था बन्छ ।

उपसभामुखको चुनावले कांग्रेसलाई एउटा निर्णयमा पुग्न पनि मद्दत गर्छ ?

गर्छ नि । हामीले खेल्ने भूमिका छ, तर नेताहरूले संसदमा कसरी खेल्नुहुन्छ थाहा छैन ।

एउटा दृश्यको कल्पना गरौं । निर्वाचन आयोगले नेकपाको आधिकारिता विवाद टुंग्याएन, तर प्रचण्ड–माधव समूहले प्रधानमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव ल्यायो भने कांग्रेसले के गर्छ ?

हामी प्रतिपक्षमा छौं । अविश्वासको प्रस्तावको पक्षमा भोट हाल्नु प्रतिपक्षको धर्म हो ।

अविश्वासको प्रस्ताव आएन भने ?

प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिनुपर्छ भनेर भन्नुपर्छ । प्रधानमन्त्री ओलीजीले त संसद विघटन बदर भएसँगै राजीनामा दिनुपर्ने हो । उहाँले दिन्न भन्नुभयो, ठीकै छ । संसदमा विश्वासको मत त लिनुपर्‍यो नि ।

कांग्रेस आफैंले अविश्वासको प्रस्ताव ल्याउने सम्भावना चाहिं कति छ ?

अविश्वासको प्रस्ताव ल्याउन चाहिने २५ प्रतिशत सांसद हामीसँग छैन । त्यसका लागि जसपाको समर्थन आवश्यक पर्छ । फेरि, नेकपा विभाजन नहुँदासम्म हामीले अविश्वासको प्रस्ताव ल्याएर पनि काम छैन । एक पटक अविश्वासको प्रस्ताव ल्याएपछि अर्को एक वर्ष ल्याउन पनि पाइँदैन ।

प्रधानमन्त्री ओली विश्वासको मत लिन आए भने कांग्रेसले के गर्छ ?

हामी त प्रतिपक्षी हौं । त्यो अवस्थामा पनि विपक्षमा मत हाल्नु हाम्रो धर्म हो । यसमा पनि दुविधा भयो भने त सकियो नि ।

कांग्रेस यही दुविधामा छ होइन र ? प्रदेश १ र ३ मा अविश्वासको प्रस्ताव दर्ता भएको तेस्रो महिना भइसक्यो, खै त कांग्रेसले निर्णय गर्न सकेको ?

प्रदेश ३ को त मलाई थाहा छैन, १ मा भने कांग्रेस प्रष्टसँग उभिएको छ ।

व्यक्तिगत रुपमा तपाईं प्रष्ट हुनुहोला, पार्टीले त निर्णय गर्न सकेको छैन नि ?

नेकपा फुटेकै छैन । उनीहरूले नै विवाद गरेर सदन रोकेका छन् । कांग्रेस प्रष्ट छ– अविश्वासको प्रस्तावमा मत हाल्नु प्रतिपक्षको धर्म हो । यो धर्म निर्वाह गर्न नसके राजनीति नगरे हुन्छ ।

यो पछिल्लो दुई महिनाको कुरा भयो । नेकपाको सरकार बनेपछि कांग्रेसले खेलेको प्रतिपक्षीय भूमिकाबाट कति सन्तुष्ट हुनुहुन्छ ?

५ प्रतिशत सन्तुष्ट, ९५ प्रतिशत असन्तुष्ट छु ।

आफू संसदमा नभएर त्यस्तो लागेको हो कि ?

केही मानिस त्यस्तो भन्छन् । त्यही भएर म नबोली बसेको थिए । अब विस्तारै बोल्न थालेको छु ।

सर्वोच्च अदालतको आदेशअनुसार २३ गते बोलाइएको संसद अधिवेशन २४ गते नै रोकिदिन्छन् कि भन्ने डर पनि छ ।
नेपाली कांग्रेस नेतृत्वको सरकारले राष्ट्रिय सभामा मनोनित गरेको तीन सांसदको नाम यो सरकारले खारेज गर्‍यो । यो विषयलाई लिएर संसद अवरुद्ध गर्न सकेनौं ।

सरकारले नीति तथा कार्यक्रम ल्याउँदा समर्थन गर्‍यौं, जबकी बिरोध गर्नुपर्थ्यो । यस्ता धेरै घट्ना छन् । आफू सांसद नभएकोले आलोचना गर्‍यो भनेकाले मात्र नबोलेको हुँ ।

हाम्रो पार्टीका दुई–चारजना बाहेक अरु सांसदको ‘पर्फमेन्स’ हेर्नुस् त… । संसद उपसभामुखविहीन भएको कति भयो ? यो विषयमा बोलेको खोइ ? उपसभामुख कांग्रेसले नै पाउनुपर्छ भन्ने पनि होइन, तर संसदले त पाउनुपर्‍यो नि ।

कांग्रेसले यो सरकारलाई धेरै छुट दियो । यती छुट त संसारमा कुनै विपक्षी दलले दिँदैन ।

यो अवस्था आएको पार्टी कि नेतृत्वका कारण ?

दलको नेताको कारणले पनि यस्तो हुन्छ । संघ र प्रदेशमा हाम्रो सरकार नभएकाले पनि यस्तो भएको हुनसक्छ, तर नेतृत्वले त मार्गदर्शन गर्नुपर्ने हो नि ।

यसमा पार्टीभित्रको प्रतिपक्ष (संस्थापन इतर समूह) पनि त दोषी होला नि ?

हामीले सभापतिका गलत कुराको जहिल्यै विरोध गरेका छौं । कतिपय मुद्दामा चुप पनि बस्यौं होला, तर धेरै मुद्दामा बोलेका छौं । त्यसको सुनुवाइ नहुँदा परिणाम पनि भोग्यौं । चुनावमा पराजित भयौं । अब भदौमा महाधिवेशन गर्दैछौं । त्यहाँबाट नयाँ नेतृत्व चयन हुन्छ ।

१४ औं महाधिवेशनबाट नेतृत्व परिवर्तन हुनेमा निकै आशावादी हुनुहुन्छ ?

अहिले सञ्चार माध्यम र सामाजिक सञ्जालले गर्दा कार्यकर्ताले सबै कुरा बुझेका छन् । कांग्रेस किन यस्तो भइराखेको छ भन्ने सबैलाई थाहा छ ।

सभापतिका आंकाक्षी यति धेरै छन् कि उनीहरूकै कारणले वर्तमान नेतृत्वलाई निरन्तरताको लागि सहज हुन्छ पनि भनिदैछ नि ?

मलाई त्यस्तो लाग्दैन । हामी सबैसंग गम्भीर सम्वादमा छौं । व्यक्ति–व्यक्ति र समूहमा पनि छलफल गरिरहेका छौं ।

संस्थापन इतरबाट सभापतिमा एउटै उम्मेदवार हुन्छ त ?

हामीले सभापतिका गलत कुराको जहिल्यै विरोध गरेका छौं । कतिपय मुद्दामा चुप पनि बस्यौं होला, तर धेरै मुद्दामा बोलेका छौं । त्यसको सुनुवाइ नहुँदा परिणाम पनि भोग्यौं । चुनावमा पराजित भयौं ।
म त त्यही देखिराखेको छु ।

सबै त्यही भन्छन्, तर आफूलाई अरुले सभापतिको उम्मेदवार मानिदिँदा त होला नि ?

छलफल गरेर उम्मेदवार टुंगो लगाउने जिम्मेवारी हाम्रो पनि हो ।

सहमतिका लागि सभापतिको उम्मेदवारी छाड्न तयार हुनुहुन्छ ?

म सभापतिबाहेक अन्य पदमा उम्मेदवारी दिन्न । मैले भनेको छु– म जित्ने गरी उठ्छु, त्यो पनि एक पटकका लागि । सभापति भएपछि म चार वर्षका लागि संगठनमा केन्द्रित हुन्छु, प्रधानमन्त्रीको दाबेदार हुन्न ।

महामन्त्री, उपसभापति वा अरु पदमा बसेर पार्टीलाई अगाडि बढाउन के समस्या छ ?

अहिले महामन्त्री भएर अर्को पटक सभापति बन्दा मेरो उमेर धेरै भइसकेको हुन्छ । अहिले सक्रिय छु, जिल्ला–जिल्ला हिँडिरहेको छु, भोलि त्यस्तो हुन्न । पार्टीलाई लिकमा ल्याउँ र सक्रिय भूमिकाबाट विस्तारै अलग बनुँ भन्ने मेरो चाहना हो ।

सबै गिरिजाप्रसाद पनि हुँदैनन् । ८४–८५ वर्षको उमेरमा तातो सडकमा बस्न सक्ने विरलै भेटिन्छन् । अहिले नेताहरूले सकिराख्नु भएको छैन, कुर्सी मोहले तान्न पनि छाडेको छैन । मलाई त्यसो गर्न आफ्नै स्वाभावले दिँदैन ।

@onlinekhabar

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP