मंगलबार , बैसाख २९, २०८३

अर्जेन्टिना चार वर्ष अघिको नमिठो हारको बदला लिने अभियानमा छ भने फ्रान्स लगातार दोस्रो पटक उपाधि जित्ने दाउमा छ।
दोहा : कतार विश्वकप फुटबलको फाइनलमा अर्जेन्टिना र साविक विजेता फ्रान्स आमने सामने हुँदा सबैको ध्यान लियोनल मेसीमा मात्रै केन्द्रित हुने छैन, उनले अर्जेन्टिनालाई तेस्रो पटक उपाधि दिलाउन सक्लान् भन्ने उत्सुकता पनि सबैमा हुनेछ।

आइतबार राति लुसेल रंगशालामा ३५ वर्षीय मेसीले विश्वकपमा कीर्तिमानी २६औं खेल खेल्दै दोस्रो पटक अर्जेन्टिनालाई उपाधि दिलाउने कोसिस गर्नेछन्। सन् २०१४ को विश्वकपमा पनि अर्जेन्टिनाले मेसीकै कप्तानीमा फाइनल खेलेको थियो। तर, उक्त विश्वकपमा अर्जेन्टिना जर्मनीसँग अतिरिक्त समयमा १–० गोलले स्तब्ध बनेको थियो। सन् २०१८ को विश्वकपमा अर्जेन्टिना अन्तिम १६ बाटै बाहिरिएको थियो। फ्रान्ससँग ४–३ गोलले पराजित भएपछि अर्जेन्टिना चाँडै घर फर्किएको थियो।

सन् २०१८ को विश्वकप जितेको फ्रान्स तेस्रोपटक विश्वकपको उपाधि जित्ने लक्ष्यमा छ।

पहिलो खेलमै एसियाली प्रतिद्वन्द्वी साउदी अरेबियासँग स्तब्ध बनेको अर्जेन्टिनाले त्यसपछि उत्कृष्ट प्रदर्शन गर्दै आएको छ। विश्वकपका सबै खेलमा मेसीले प्रेरणादायी प्रदर्शन गर्दै आएका छन्। साविक विजेता फ्रान्सविरुद्ध उनले कस्तो प्रदर्शन गर्ने छन्, अर्जेन्टिनाको उपाधि पनि त्यसमै केन्द्रित रहने छ। अर्जेन्टिना चार वर्ष अघिको नमिठो हारको बदला लिने अभियानमा छ भने फ्रान्स लगातार दोस्रो पटक उपाधि जित्ने दाउमा छ।

विगतको प्रदर्शन हेर्ने हो भने फ्रान्सविरुद्ध अर्जेन्टिना हावी हुँदै आएको छ। अहिलेसम्म भएका १२ भिडन्तमा अर्जेन्टिनाले ६ खेलमा जित निकाल्न सफल भएको छ। फ्रान्सले भने जम्मा तीन खेलमा जित निकाल्न सकेको छ। विश्वकपमा तीन पटक आमनेसामने हुँदा फ्रान्सले दुई पटक नमिठो हार बेहोरिसकेको छ। तर, चार वर्ष अघि प्रतिस्पर्धात्मक खेलमा अर्जेन्टिनालाई माथ खुवाएकै कारण पनि डिडियर डेसच्याम्प्स फ्रान्सले उपाधि जित्नेमा ढुक्क देखिएका छन्।

कप्तान मेसी अर्जेन्टिनालाई कतार विश्वकपको उपाधि दिलाउँदै आफ्नो खेल जीवनको पनि सुखद् अन्त्य गर्न चाहन्छन्।

अर्जेन्टिनाले विश्वकपका सात नकआउट खेल जितेको छ। सन् १९६२ मा ब्राजिल र सन् १९३८ मा इटालीपछि धेरै नकआउट खेल जित्ने तेस्रो टोली बन्ने अभियानमा अर्जेन्टिना छ। यस्तै ह्युगो लोरिस लगातार विश्वकप ट्रफी उचाल्ने पहिलो कप्तान बन्ने योजना बुनिरहेका छन् भने डेसच्याम्प्स पनि उपाधि जितेर सन् १९३० को दशकका भिटोरियो पोजोपछि पहिलो प्रशिक्षक बन्ने धुनमा छन्।

अर्जेन्टिना र फ्रान्स तेस्रोपल्ट उपाधि जित्ने लक्ष्यसहित आमनेसामने हुँदैछन्। फ्रान्स लगातार दोस्रोपल्ट विश्वकपको फाइनलमा प्रवेश गरेको टिम हो। सन् २०१८ को विश्वकप जितेको फ्रान्स तेस्रोपटक विश्वकपको उपाधि जित्ने लक्ष्यमा छ। फ्रान्सले पहिलो पटक सन् १९९८ मा विश्वकप फुटबलको उपाधि जितेको थियो।

अर्जेन्टिना पनि तेस्रो पटक नै विश्वकप फुटबलको उपाधि जित्न चाहन्छ। सन् १९७८ मा पहिलो पटक उपाधि जितेको अर्जेन्टिनाले सन् १९८६ मा दोस्रो पटक ट्रफी घर लगेको थियो। त्यसयता विगत ३६ वर्षदेखि अर्जेन्टिनाले उपाधि जित्न सकेको छैन। त्यसैले कप्तान मेसी अर्जेन्टिनालाई कतार विश्वकपको उपाधि दिलाउँदै आफ्नो खेल जीवनको पनि सुखद् अन्त्य गर्न चाहन्छन्। पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड मेसीले क्लब फुटबलमा सबैतिर सफलता चुमेका छन्। तर, देशका लागि भने उनले उल्लेख्य उपलब्धि दिलाउन सकेका छैनन्।

फ्रान्सका उस्मान डेम्बेले उपाधि जित्नका लागि कुनै कसर बाँकी नराख्ने बताउँछन्। ‘हामी कतार विश्वकपको फाइनलमा पुगिसकेका छौं। फ्रान्सलाई उपाधि दिलाउन कुनै कसर छाड्ने छैनौं’, डेम्बेले भन्छन्, ‘हामी विश्वकप जित्न चाहन्छौं र जर्सीमा तेस्रो ‘स्टार’ थप्न आतुर पनि छौं। मेसीले विश्वकप ट्रफी उचाल्न पाए भने राम्रो हुन्थ्यो। उनको सुखद् बिदाइ पनि हुन्थ्यो। तर, हामी उपाधि जित्न सबै प्रयत्न लगाउने छौं। मेसीलाई सफल हुन दिने छैनौं।’

उनले सबै खेलाडीको इच्छा विश्वकप जित्नु रहेको बताउँदै मेसीको पनि त्यति इच्छा भएको बताए। ‘विश्वकप उपाधि जित्नु हरेक खेलाडीको सपना हुन्छ। मेसीको पनि आफ्नो कप्तानीमा विश्वकप जित्ने सपना हुन सक्छ। तर, सबैको सपना साकार हुन्छ भन्ने हुँदैन’, डेम्बेले भन्छन्, ‘हामी पनि फ्रान्सलाई उपाधि दिलाउन चाहन्छौं। मलाई विश्वास छ यस पटकको विश्वकप हामीले नै जित्ने छौं।’ उनले बार्सिलोनामा रहँदा मेसीका बारेमा धेरै कुरा थाहा पाएको बताउँदै उनलाई बलबाट टाढा राख्न हरदम प्रयास गर्ने बताए।

मेसी गोल्डेन बुटका मुख्य दाबेदार पनि हुन्। उनले जारी विश्वकपमा पाँच गोल गरिसकेका छन्। सन् २००६ देखि २०२२ सम्म उनले लगातार पाँच विश्वकप खेल्दै ११ गोल पनि गरिसकेका छन्। फ्रान्सविरुद्धको फाइनल खेलमा मेसीले अर्को कीर्तिमान पनि बनाउँदैछन्।

विश्वकपमा सर्वाधिक धेरै खेल खेल्ने खेलाडीको कीर्तिमान उनले आफ्नो नाममा गर्नेछन्। यसअघि जर्मनीका लोथर मथाउसले विश्वकपमा २५ खेल खेल्दै कीर्तिमान बनाएका थिए। क्रोएसियाविरुद्धको सेमिफाइनल खेलमा मेसीले लोथरको कीर्तिमान बराबरी गरेका थिए। अब फ्रान्सविरुद्धको खेलसँगै उनले विश्वकपमा कुल २६ खेल पुर्‍याउने छन्।

विगतमा दुई टोली
कुल खेल ः १२
अर्जेन्टिना जित ः ६
फ्रान्स जित ः ३
बराबरी : ३

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP