मंगलबार , बैसाख २९, २०८३

काठमाडौं । आफ्नो सुरक्षामा खतरा रहेको भन्दै सार्वजनिक रुपमा अभिव्यक्ति दिएका प्रधानमन्त्री केपी शर्मा ओली पछिल्लो समय देश दौडाहामा अझ बढी सक्रिय हुन थालेका छन् । ‘सुरक्षा थ्रेट’ का बाबजुद प्रधानमन्त्री ओली काठमाडौं बाहिरका कार्यक्रममा सहभागी हुन किन सक्रियता बढाइरहेका छन् भन्ने प्रश्न स्वाभाविक रुपमा उठेको छ ।

वाक्पटुताका धनी प्रधानमन्त्री ओलीले विकास निर्माणका विभिन्न संरचना उद्घाटन तथा शिलान्यासको अवसर जुराएर विभिन्न क्षेत्रमा पुग्ने र आफ्ना राजनीतिक विरोधीमाथि निर्मम टिप्पणी गरेर राजनीतिक स्वार्थ पूरा गर्ने लक्ष्य बनाएको देखिन्छ । केही दिनअघि पोखरामा पुगेर उनले आफ्नो सुरक्षामा खतरा रहेको र ज्यान नै गए पनि आश्चर्य मानिरहन नपर्ने बताएका थिए । फागुन १६, १७ र १८ गते उनी झापा, मोरङ र कास्कीका कार्यक्रममा व्यस्त रहे । यी तीन दिनमै दुई पटकसम्म उनी गृहजिल्ला झापा पुगे ।

प्रधानमन्त्रीको देश दौडाहा ‘सरकारले विकास निर्माणको कामलाई उच्च प्राथमिकता दिएको’ सन्देश दिन केन्द्रित छ । देशमा दैनिकजसो विभिन्न आयोजना, विकास निर्माणका भौतिक संरचना निर्माण भइरहेको दावी गर्नका लागि प्रधानमन्त्री ओलीले उद्घाटन र शिलान्यासका कार्यक्रममा सक्रियता देखाएका हुन् ।

प्रधानमन्त्रीको व्यस्तता
प्रधानमन्त्री ओली गत आइतबारदेखि मंगलबारसम्म निकै व्यस्त रहे । फागुन १६ गते आइतबार प्रधानमन्त्री ओलीले गृह जिल्ला झापामा आयोजित विभिन्न कार्यक्रममा सहभागिता जनाए । उनले झापाको दमक, कमल र गौरादह क्षेत्रमा स्थापना गर्न लागिएको चीन–नेपाल मैत्री औद्योगिक पार्क शिलान्यास गरे । सोही दिन उनले झापाका विभिन्न खोलामा निर्माण गरिएका पाँचवटा पुलको उद्घाटन तथा ३१ वटा पुल शिलान्यास गरे ।

फागुन १७ गते प्रधानमन्त्री ओलीले गण्डकी प्रदेशको राजधानी पोखरामा तीनवटा छुट्टाछुट्टै कार्यक्रममा सहभागिता जनाए । उनले पार्टीको प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गरे भने नदीपुरस्थित गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको भवन शिलान्यास पनि गरे । उनले पोखरा रङ्गशालाको निरीक्षणसमेत गरेका थिए ।

मंगलबार प्रधानमन्त्री ओलीले बिर्तामोडमा निर्मित ‘प्रदेश गौरव भिलेज’, बिर्तामोडमै निर्मित ३०० शय्याको पूर्वाञ्चल क्यान्सर अस्पताल उद्घाटन गरे । सोही दिन उनले मोरङको उर्लाबारीमा निर्माण हुन लागेको सन्थाल एकीकृत बस्तीको शिलान्याससमेत गरे ।

यसअघि फागुन १२ गते प्रधानमन्त्री ओलीले काठमाडौंमै माटोको डिजिटल नक्सा उद्घाटन गरेका थिए । फागुन १० गते उनी सुदूरपश्चिम प्रदेशको कञ्चनपुर पुगेर औद्योगिक क्षेत्रको शिलान्यास गरेका थिए ।

दुई वर्षअघि शिलान्यास गरेका आयोजनाको प्रगति निराशाजनक
त्यसो त, कुनै पनि विकास निर्माणका काम शिलान्यास गर्दैमा देशको विकास भइहाल्यो भन्ने मानक आफैमा सही हुन सक्दैन । प्रधानमन्त्री ओलीले २०७५ चैत ८ गते लुम्बिनी प्रदेशमा दुई ठूला परियोजना शिलान्यास गरेका थिए ।
ठुलो तामझामका साथ शिलान्यास गरिएको बुटवल–नारायणगढ सडक स्तरोन्नति र रुपन्देहीमा बन्ने प्रदेशस्तरीय बुटवल मेडिकल कलेज पूर्वाधार विकास आयोजनाको काम दुई वर्ष बित्न लाग्दा पनि निराशाजनक छ ।
बुटवल–नारायणगढ सडक स्तरोन्नतीको काम ४२ महिनामा पूरा गर्नेगरी ठेक्का सम्झौता भएको थियो । आयोजना शिलान्यास भएको दुई वर्ष बित्न लाग्दा समेत अहिलेसम्म जम्मा ३ प्रतिशतमात्र काम भएको छ ।

मेडिकल कलेजसमेत फास्ट ट्रयाकमा निर्माण गर्ने घोषणा गरे पनि अझै डिपिआरको कामसमेत पूरा भएको छैन । डिपिआर प्रतिवेदन आगामी साउनमा मात्र आउने कलेजको आयोजना प्रमुख मानबहादुर घिमिरे बताउँछन् ।
यद्यपि यस्ता कार्यक्रममा सहभागी भएर प्रधानमन्त्री ओलीले वर्तमान सरकारले विकास निर्माणलाई उच्च प्राथमिकता दिएको, आफ्नो नेतृत्वको सरकार रहुञ्जेल विकास निर्माणको रफ्तार जारी रहनेजस्ता दावी गर्दै आएका छन् । उनले आफूलाई विकास प्रेमी नेताका रुपमा देखाउन यस्ता कार्यक्रमलाई प्राथमिकता दिएको भए पनि जनताका पीडा, प्रत्यक्ष सरोकारका विषयलाई भने पटक्कै ध्यान दिएको देखिँदैन ।

झापा पुगेका प्रधानमन्त्री दोभान बजार किन गएनन् ?
प्रधानमन्त्री ओली गत आइतबार, सोमबार र मंगलबार लगातार काठमाडौं बाहिरका कार्यक्रममा सहभागी भए । एक हिसाबले उनी वास बस्नका लागिमात्र काठमाडौं आएजस्तो गरी तीन दिन विभिन्न जिल्लाका कार्यक्रममा सहभागी भइरहे ।
तर गत मंगलबार झापा र मोरङका कार्यक्रममा व्यस्त रहेका प्रधानमन्त्री ओली ताप्लेजुङको दोभान बजारमा पुग्न सकेनन् । उनले झापाका दुर्गा प्रसाईँको अस्पताल उद्घाटन गरिरहँदा दोभान बजारमा दर्जनौं घरमा आगो दन्किरहेको थियो । त्यहाँका बासिन्दामा रूवाबासी चलिरहेको थियो । आगलागीमा ४९ घर नस्ट भए, लत्ता–कपडादेखि लिएर खाद्यान्न सबै जलेर नष्ट भएपछि दोभानवासी बिचल्लीमा परे । तर झापामै रहेका ओलीले ताप्लेजुङका आगलागी पीडित ती ४९ घर परिवारलाई सान्त्वना दिन, राहत सहयोगको आश्वासन दिन किन उचित ठानेनन् भन्ने प्रश्न स्वाभाविक रुपमा खडा भएको छ । जबकि उनी ताप्लेजुङ जान चाहेको भए नेपाली सेनाको हेलिकप्टर प्रयोग गर्न सक्थे । तर उनले ती ४९ घर पारिवारका लागि एक÷डेढ घण्टाको समय पनि छुट्याउन उचित ठानेनन् ।

ताप्लेजुङको दोभान बजार जलिरहेको समयमा प्रधानमन्त्री ओली गृहजिल्ला झापा मै रहे पनि आगलागी पीडितलाई भेट्न गएनन् । यतिमात्र होइन, राष्ट्रपति विद्यादेवी भण्डारीले आगलागीको घटनाप्रति दुःख व्यक्त गर्दै विज्ञप्ति जारी गरे पनि प्रधानमन्त्री ओलीले सो औपचारिकता निर्वाहमा पनि चासो देखाएको पाइएन ।

जानकारहरु भन्छन्– प्रधानमन्त्री ओलीको चासो भनेकै वर्तमान सरकार विकास निर्माणको पथमा दैनिक लम्किरहेको देखाउन केन्द्रित छ । प्रधानमन्त्री ओली नेकपाभित्रको विवादका कारण एउटा गुटको नेतृत्वमा सीमित हुनु परेको यो अवस्थालाई आफ्नो अनुकुल राजनीतिक धरातल निर्माण गर्न आफूलाई विकासप्रेमी नेताका रुपमा उभ्याउन यसरी दौडधुप गर्न थालेको धेरैको टिप्पणी छ । हुन पनि ओलीले भौतिक संरचनाका उद्घाटन र शिलान्यासमा यस्तो सक्रियता यसअघि कहिल्यै देखाएका थिएनन् र उनलाई यस्ता अभियानमा सामेल हुन कसैले रोकतोक पनि गरेको थिएन ।

प्रतिनिधिसभा विघटनबारे सर्वोच्च अदालतलाई दिएको लिखित जवाफमा प्रधानमन्त्री ओलीले ‘पार्टीकै केही साथीहरुले आफूलाई काम गर्न नदिएको’ आरोप लगाएका थिए । नेकपा यतिबेला राजनीतिक रुपमा दुई भागमा विभाजित भएको छ । प्रधानमन्त्री ओली आफ्नो सोही आरोपलाई पुष्टि गर्ने र आगामी निर्वाचनमा आफ्ना राजनीतिक प्रतिस्पर्धीलाई ‘विकास विरोधी’ देखाउने रणनीति अन्तर्गत पछिल्लो समय विकास निर्माणका योजनाहरुको शिलान्यास, उद्घाटन जस्ता कार्यक्रममा आफूलाई दैनिक व्यस्त राख्न थालेको जानकारहरुको भनाइ छ ।
@ratopati

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP