शनिबार , असार १३, २०८३

बागलुङ । बङ्गलादेशको राजधानी ढाकामा हुने ‘बङ्गबन्धु एसियन यू–२३ सेन्ट्रल एसियन जोन अन्तर्राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता’ का लागि यू–२३ राष्ट्रिय टिममा गण्डकी प्रदेशबाट दुई खेलाडी छनौटमा परेका छन् ।

नेपाली भलिबल सङ्घले घोषणा गरेको १४ सदस्यीय यू–२३ टिममा गण्डकीबाट बागलुङका रवि केसी र स्याङ्जाका भीमराज गुरुङ छनौट परेका हुन् । २२ वर्षीय केसी ओपन स्पाइकर र गुरुङ लिबेरो हुन् ।

आउँदो पुस ५ देखि ११ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा टिमले नेपालका तर्फबाट भाग लिनेछ । देशभरबाट खुला छनोटमा परेका २० खेलाडीमध्ये एक महिनाको बन्द प्रशिक्षणमा गरेको उत्कृष्ट प्रदर्शनका आधारमा १४ जना खेलाडीको अन्तिम छनौट गरिएको सङ्घले जनाएको छ ।

भलिबल खेलको इतिहासमा पहिलोपटक यू–२३ राष्ट्रिय टिम तयार पारी अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले सहभागिता जनाउन लागेको हो । केसी र गुरुङसँगै धिरोजकुमार बस्नेत, सन्तोष खत्री, अर्जुन नेपाली, रुपबहादुर गराउ, विष्णु बस्नेत, सफल विक, सन्तोष महत्ता, मनिष मानन्धर, हेमन्त मल्ल, बेदप्रकाश जोशी, सम्राट भण्डारी र गौरव पाण्डे टिममा हुन् ।

गलकोट नगरपालिका–७ मल्मका केसी भलिबलमा उदाउँदो प्रतिभा हुन् । यू–२३ राष्ट्रिय टिममा परेसँगै उनको खेल करिअर नयाँ मोडमा आइपुगेको छ । देशका लागि अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने सपना साकार हुन लागेको केसीले जानकारी दिए ।
‘टिममा पक्कै पर्छु भन्ने लागेको थियो, मेहनत पनि त्यसै अनुसार गरेको थिएँ, छनोटमा पर्दा खुशी छु’, उनले भने । केसी छोटो अवधिमै भलिबलमा चम्किएका खेलाडी हुन् ।

दुई वर्षअघि काठमाडौंमा भएको ‘एनभिए कप’ बाट उनले राष्ट्रियस्तरको प्रतियोगितामा डेब्यु गरेका थिए । गलकोट स्पोर्टस् क्लबबाट रविले उक्त प्रतियोगितामा उत्कृष्ट खेल्दै धेरैको मन जितेका थिए । त्यसता उनले ‘टाइगर कप’ हुँदै हालै सम्पन्न नवौँ राष्ट्रिय खेलकुदमा गण्डकी प्रदेशबाट खेलेका थिए ।

जिल्ला भलिबल सङ्घ बागलुङका अध्यक्ष योगश भण्डारीले खेल कौशल र अनुशासनमा केसी अब्बल रहेको बताए । उनले केसीलाई भलिबलमा भविष्य बोकेको खेलाडीका रुपमा लिए । बङ्गलादेश भलिबल फेडेरेशनको आयोजना तथा सेन्ट्रल एसियन भलिबल एशोसिएसनको संयोजनमा उक्त अन्तर्राष्ट्रिय प्रतियोगिता हुन लागेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

डार्विनमा First Aid तथा CPR तालिमका लागि ९० बढी सहभागी दर्ता, १० सिट मात्र बाँकी

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६


TOP