
१८ फागुन, काठमाडौं । सरकारले नेत्रविक्रम चन्द विप्लव समूहसँग वार्ता गर्नका लागि दुई सदस्यीय टोली गठन गरेको छ ।
गृहमन्त्री रामबहादुर थापा बादल र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई सम्मिलित वार्ता टोली गठन गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिए ।
गुरुङले विज्ञप्ति जारी गरी विप्लव समूहसँग वार्ताद्वारा समस्या समाधान गर्न २ सदस्यीय वार्ता टोली गठन गरेको बताएका छन् ।
सरकारले समिति बनाएसँगै विप्लव समूहले पनि वार्ता टोली बनाउने तयारी गरेको छ । समूहमाथि २८ फागुन २०७५ देखि सरकारले प्रतिबन्ध लगाएको छ ।
गुरुङले मन्त्रालयमा पत्रकार सम्मेलन गरी सरकार र विप्लव समूहबीच छिट्टै वार्ताको प्रक्रिया अघि बढ्ने विश्वास व्यक्त गरे । ‘नेपाल सरकारले यो वार्ता टोली बनाइसकेपछि विप्लव समूहबाट पनि वार्ता टोली गठन गरेर छिटोभन्दा छिटो वार्ता हुने छ भन्ने हामी विश्वास व्यक्त गर्दछौं,’ मन्त्री गुरुङले भने ।
उनले सबैलाई शान्ति प्रक्रियामा ल्याउने नेपाल सरकारको स्पष्ट दृष्टिकोण रहेको बताए ।