मंगलबार , बैसाख २९, २०८३

१७ फागुन, काठमाडौं । पोखरा पुगेका प्रधानमन्त्री एवम् नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले बहुमत पुर्‍याएर संसदीय दलको नेताबाट आफूलाई हटाउन प्रचण्ड–माधव समूहलाई चुनौती दिएका छन् । ‘विधिवत भेटौं, बैठक बोलाइदिन्छु आउनुस् न’, ओलीले दलभित्र प्रक्रिया खुला गरिदिने बताए ।

जबकी, संसद् पुनर्स्थापना भएको भोलिपल्टै (१२ फागुनमा) बालुवाटारमा आफ्नो समूहको स्थायी कमिटी बैठक बोलाएर ओलीले पदबाट राजीनामा नदिने, दलको बैठक पनि नबोलाउने र संसदमा अविश्वासको प्रस्ताव सामना गर्ने निर्णय गराएका थिए । हप्ता दिन नबित्दै ओलीले संसदीय दलमा बहुमत पुर्‍याउन चुनौती दिएका छन् ।

उनी निकट नेताहरुका अनुसार, ओलीले तयारीका साथ यस्तो अभिव्यक्ति दिएका हुन् । देव गुरुङको ठाउँमा प्रमुख सचेतक नियुक्त विशाल भट्टराईले पनि शुक्रबार ओलीको पक्षमा सय भन्दा बढी सांसद रहेको दावी गरेका थिए ।

‘दुई तिहाइ बहुमतको सरकार छ । हामीलाई सबै सांसदको विश्वास छ भन्ने हो । कसैले अविश्वास हाले त्यतिखेर भनौंला’, संसदीय दलका उपनेता सुवास नेम्वाङ भन्छन् ।
ओलीको अभिव्यक्ति र भट्टराईको दावी सार्वजनिक हुनुमा प्रचण्ड–माधव समूहका केही सांसदहरूले साथ दिने आश्वासन दिइएको बुझिएको छ । पहिले प्रचण्ड–माधव समूहमा हस्ताक्षर गरेका आठ सांसदले साथ दिने ओली पक्षको दावी छ ।

दावीअनुसार, भैरव बहादुरसिंह, माया ज्ञवाली, शेरबहादुर तामाङ, यज्ञ बोगटी, लालबाबु पण्डित, गंगा चौधरी सत्गौवा, प्रभु साह र गौरीशंकर चौधरीले समूह फेरेका छन् । साह र चौधरी मन्त्री नै बनिसकेका छन् भने तामाङले केही दिन अगाडि मात्रै वक्तव्य जारी गरेर ओली समूहलाई समर्थन जनाएका थिए ।

यी आठ जनाले साथ दिँदा ओली फेरि पनि दलको नेता कायमै रहने बुझाइका साथ प्रचण्ड–माधव समूहलाई चुनौती दिइएको ओली निकट एक नेताले बताए । प्रतिनिधिसभामा १७४ सांसद रहेको नेकपाको संसदीय दलको नेता बन्न ८८ सांसद आवश्यक पर्छ ।

‘संसदीय दलमा प्रधानमन्त्रीको विरुद्धमा कसैले प्रश्न खडा गर्‍यो भने त्यहीँ सामना हुन्छ, संसदमा भए त्यहाँ पनि सामना गर्छाैं’, प्रमुख सचेतक भट्टराईले भने । भट्टराई ओलीले बहुमत गुमाउने अवस्था नरहेको दावी गर्छन् ।

प्रचण्ड–माधव समूहले भने संसदीय दलको बहुमत ओलीको विपक्षमा रहेको दावी गर्दै आएको छ । संसद् विघटन भएको दिन (५ पुसमा) यो समूहले ९० सांसदको हस्ताक्षरसहित ओलीविरुद्ध संसद् सचिवालयमा अविश्वासको प्रस्ताव बुझाएको थियो ।

लगत्तै, ८ पुसमा दलको बैठक राखेर यो समूहले पुष्पकमल दाहाल प्रचण्डलाई नेता पनि चुन्यो । तर, ओली समूहले त्यसयता बहुमत सांसद आफ्नो पक्षमा खुलिसकेको दावी गरेको छ ।

विकल्पसहितको तयारी

व्यवहारिक रुपमा विभाजित भइसके पनि निर्वाचन आयोगको अनिर्णयका कारण वैधानिक रुपमा नेकपा एउटै छ । यसको पनि उपयोग गर्ने तयारीमा ओली समूह देखिएको छ – नेकपा संसदीय दलमा बहुमत नपुग्ने अवस्था आए प्रतिनिधिसभाबाट अविश्वासको प्रस्ताव असफल पार्ने ।

त्यसका लागि विपक्षी दलहरु नेपाली काँग्रेस र जनता समाजवादी पार्टी (जसपा) ले साथ दिनेमा विश्वस्त रहेको यो समूहका नेताहरु दाबी गर्छन् । ‘दुई तिहाइ बहुमतको सरकार छ । हामीलाई सबै सांसदको विश्वास छ भन्ने हो । कसैले अविश्वास हाले त्यतिखेर भनौंला’, संसदीय दलका उपनेता सुवास नेम्वाङ भन्छन् । नेम्वाङको भनाइले पनि दलभित्र बहुमत नपुग्ने अवस्था आएमा संसदबाट साथ पाउनेमा यो समूह विश्वस्त देखिन्छ ।

‘प्रधानमन्त्रीलाई अदालतले संसद फेस गर भनेकाले अब हामी संसदमा जे–जस्ता चुनौती आइपर्छन्, त्यहीँ फेस गर्छौं । सकेसम्म नेकपाको संसदीय दल एकढिक्का बनाउने प्रयास हुन्छ’, भट्टराई भन्छन् । ओली निकट अर्का नेतृ एवम् महिला तथा सामाजिक समितिकी सभापति निरुदेवी पाल त, प्रधानमन्त्री विरुद्धको अविश्वासको प्रस्ताव दुई सय प्रतिशतले असफल गराउने बताउँछिन् ।

संसदीय दल र संसद दुवैमा अविश्वासको प्रस्ताव पारित हुने परिस्थिति निर्माण भएमा के गर्ने भन्ने विकल्पमा पनि यो समूह तयार छ । त्यो भनेको संसद् नेकपा वैधानिक रुपमा विभाजित भएको छैन, त्यसैले अर्को सरकार निर्माण हुने अवस्था नै बन्न नदिने ।

अर्थात्, कांग्रेस र जसपा अविश्वासको प्रस्तावमा नउभिएमा अर्को सरकार बन्न सक्दैन र मुलुक मध्यावधि चुनावको बाटोमा जान्छ । ओलीले सरकारको नेतृत्व छोड्नु परेमा त्यो विकल्पमा समेत जानेगरी तयारी गरिएको नेताहरु बताउँछन् ।

पार्टी विभाजित नै नभएकाले सांसदहरुलाई ह्वीप लगाउने र नमाने कारवाहीको चेतावनी दिइसकेका प्रमुख सचेतक भट्टराई भन्छन्, ‘प्रधानमन्त्रीकै शब्दमा संसद् विघटन भारी मनले चालेको अप्रिय कदम थियो । असंवैधनिक भनेर अदालतले ठहर गरिसक्यो । अब राजनीतिक निकास दिने कुरा साथीहरुले बुझिदिनुपर्छ ।’

संसद अधिवशेन छोट्याउने रणनीति

प्रधानमन्त्री ओली संसद अधिवेशन पनि छिट्टै अन्त्य गर्ने रणनीतिमा छन् । ‘अविश्वास प्रस्ताव आएपछि प्रक्रियामा जान्छ । त्यसलाई जसरी पनि फेल गराइन्छ र अधिवशेन अन्त्य हुन्छ’ एक बहालवाला मन्त्री भन्छन्, ‘अधिवेशन लम्ब्याउन एजेण्डा नै छैन । अहिले त सर्वोच्चले तिथि मिति नै तोकेर बोलाऊ भनेका कारण बोलाइएको हो ।’

प्रधानमन्त्री ओलीको सिफारिसमा पुस ५ गते राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेकी थिइन् । त्यसविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले फागुन ११ गते फैसला गर्दै विघटनलाई बदर गरेको थियो ।

ती मन्त्री भन्छन्, ‘सर्वोच्चको आदेश पालना गर्ने प्रयोजनका लागि मात्रै प्रतिनिधिसभा बैठक बस्न लागेको हो । त्यसकारण केही प्रस्ताव आउने हल्ला छ । आए प्रक्रियामा अगाडि बढ्छ । प्रस्ताव आए पनि नआएपनि अधिवेशन लामो चल्दैन । एजेण्डा हुन परेन अधिवेशन लम्बिरहन ?’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP