मंगलबार , बैसाख २९, २०८३

भैरहवा।राप्रपा–एमाले र जसपा गठबन्धनबाट रुपन्देही–३, का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार दीपक बोहोरा यहाँका पुराना राजनीतिक खेलाडी हुन् । वर्षौंदेखि यस क्षेत्रमा प्रमुख प्रतिष्पर्धीका रुपमा निर्वाचनमा सहभागि भइरहेका छन् । कहिले जीत, कहिले हार भोग्दैं आएका छन् । ०७४ सालको निर्वाचनमा उनी यसै क्षेत्रबाट प्रतिष्पर्धामा थिए । त्यसबेला तत्कालीन एमाले नेता घनश्याम भुषालसित पराजित भएका थिए । यसपटक उनी वर्तमान गृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाणसित प्रतिष्पर्धामा उत्रिएका छन् । सधैं राजनीतिका माहिर खेलाडीका रुपमा मैदानमा उत्रिने बोहोरा यसपटक सुस्त देखिएका छन् । त्यसको कारण उनको स्वास्थ्य बनेको छ ।

चर्को भाषण गरेर मतदाता समक्ष आफ्ना तर्क र योजना राख्दैं आएका बोहोरा यसपटक निर्वाचन मिति नजिकैं आइपुग्दा समेत मौन छन । बोहोरा निकटले घाँटीमा उत्पन्न समस्याका कारण उनी अहिले ‘भ्वाइस रेष्ट’मा रहेको जनाएका छन् । एकसाता अघि राप्रपा गठबन्धनको प्रतिवद्धता गर्ने कार्यक्रममा बोल्दैं राप्रपा नेता निरञ्जन थापाले चिकित्सकको सल्लाह बमोजिम बोहोरा अहिले ‘भ्वाइस रेष्ट’मा रहेको जानकारी दिएका थिए । ‘बोहोरा जी अहिले भ्वाइस रेष्टमा हुनुहुन्छ,’उनले भने, ‘मंसिर १२ गतेपछि उहाँ बोल्नु हुनेछ ।’ यहाँ आयोजित कार्यक्रममा सहभागी भएपछि बोहोरा आफ्नो कुरा राख्दैनन । सुन्छन मात्रै । उनको प्रतिनिधित्व गरेर थापा र राप्रपा नेता स्वाती थापाले दलको बिचार सार्वजनिक गर्दै आएका छन् ।

केही दिन अघि रुपन्देहीमा एक टेलिभिजनले आयोजना गरेको ककसमा समेत बोहोरा सहभागी हुन सकेनन । उक्त कार्यक्रममा गृहमन्त्री खाँण, पूर्व अर्थमन्त्री तथा रुपन्देही–२,का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार बिष्णु पौडेल, रुपन्देही–१, मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार घनश्याम भुषाल लगायत नेता सहभागी थिए । उक्त कार्यक्रममा बोहोराको प्रतिनिधित्व गर्दै पूर्व गृहराज्यमन्त्री समेत रहेका थापाले आफ्नो भनाईं राखेका थिए । उक्त कार्यक्रममा प्रतिष्पर्धीको सामाना गर्न नपाएपछि गृहमन्त्री खाँणले असन्तुष्टी व्यक्त गरेको एक सहभागीले जानकारी दिए ।

पञ्चायतकालदेखि राजनीति गर्दै पटकपटक लाभको पदमा पुगिसकेका बोहोराको स्वास्थ्यलाई लिएर सत्ता गठबन्धन आवद्ध नेताले चिन्ता व्यक्त गरेका छन् । सत्ता गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसका एक नेताका अनुसार ०४६ सालको जन आन्दोलनपछि सर्वोच्च नेता गणेशमान सिंहलाई प्रधानमन्त्री पद लिन दबाब थियो । तर, आफ्नो बिग्रदो स्वास्थ्यलाई ख्याल राख्दै सिंहले प्रधानमन्त्री हुन अस्विकार गरेको उनले सुनाए । ‘गणेशमानसिंहबाट अहिलेका नेताले सिक्नुपर्छ,’उनले भने, ‘आफ्नो स्वास्थ्य राम्रो नभएकाले बेला जनताको सेवा कसरी सम्भव हुन्छ ।’ थला परुन्जेल राजनीति गरिरहने चलन अन्त्य हुनुपर्नेमा उनले जोड दिए ।

सत्ता गठबन्धनबाट रुपन्देही–३ (१) का उम्मेदवार सन्तोषकुमार पाण्डेयले स्वास्थ्य उपचारमा ध्यान दिनु पर्ने बताए । ‘अहिले बोहोरालाई भ्वाइस होइन, बेडरेष्ट नै जरुरी हो,’उनले भने, ‘उहांको स्वास्थ्यलाभको कामना गर्दछु ।’ मतदाताले समेत आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी नगराएको दुख व्यक्त गरेका छन् । ‘हामीलाई केही दिनमा उहाँ बोल्नु हुन्छ भनियो,’ भैरहवाको मिलनचोकका एक स्थानीयले अहिले भने, ‘मतदानको मिति नजिकैं आयो, उहाँ बोल्नु हुन्न ।’ निर्वाचनपछि उहाँ बोल्नु हुन्छ भनेर गरिएको प्रचारप्रति टिप्पणी गर्दैं उनले भने, ‘चुनाव सकिएपछि नेतासित हाम्रो भेट हुँदैन ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP